वरिष्ठ अभिनेता हरिवंश आचार्य आफू अभिनीत फिल्म 'हरिबहादुरको जुत्ता' का दर्शकहरू भेट्न नेपालगञ्ज पुगेका छन्।
मंगलबार नेपालगञ्ज पुगेका उनले त्यहाँस्थित सिने रोयल र बागेश्वरी क्युएफएक्सका दर्शकहरूसँग भेटघाट गरे। दर्शकहरूले उनलाई न्यानो स्वागत गर्दै तस्बिरहरू खिचाए। हरिवंशले दर्शकहरूसँग खुसी साट्दै मायाका लागि धन्यवाद दिए।
उनले सामाजिक सञ्जालमा केही तस्बिरहरू र भिडिओ समेत पोस्ट गरेका छन्, जहाँ हलमा दर्शकहरूको बाक्लो उपस्थिति देखिन्छ। फिल्म हेरेर निस्किँदै गर्दा हरिवंशलाई देखेपछि दर्शकहरू उत्साहित देखिन्छन्।
हरिवंशका अनुसार नेपालगञ्जमा मंगलबार फिल्म हाउसफुलका साथ प्रदर्शन भएको छ। उनी यसअघि काठमाडौंका सिनेमा हलहरूमा पुगेर दर्शकहरूसँग साक्षात्कार गरिरहेका थिए।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको 'हरिबहादुरको जुत्ता' ले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्मले बक्स अफिसमा ४ करोड ३२ लाख रूपैयाँभन्दा माथिको व्यापार गरेको छ। तेस्रो सातामा प्रदर्शन भइरहेको यो फिल्म दसैंको फूलपातीका दिन रिलिज भएको थियो।
तस्बिरहरूः सामाजिक सञ्जाल


