मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका शक्ति एक ठाउँ आएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ।
जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा कांग्रेस र एमालेलाई बाहिर राख्ने गरी गठबन्धन बनेको त्यसमा सहभागी पार्टीका नेताहरूले बताएका छन्।
लोसपाका जितेन्द्र सोनाललाई मुख्यमन्त्री बनाउन लोसपासहित जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादी तयार भएका हुन्।
मधेस प्रदेशसभामा १०७ सदस्य छन्। त्यसमध्ये सरकार बनाउन ५४ सांसद चाहिन्छ। जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्। यो कुल मिलाएर ५७ हुन्छ।
मधेस प्रदेशमा एमालेका २५ सांसद रहेकामा रामचन्द्र मण्डल सभामुख बनेको र एक जना सांसद निलम्बनमा उसको २३ मत छ। त्यस्तै, कांग्रेससँग २२ मत छ भने नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट छ।
जेन–जी आन्दोलन बेला कांग्रेस र एमालेको नेतृत्वमा सरकार रहेकाले आफूहरूले ती दल बाहेकको सरकार बनाउन प्रयास गरेको लोसपाका महासचिव सुरेन्द्र झाले बताए।
'सुरूमा कांग्रेस र एमालेसँग सहमति गरेर जान जनमत पार्टी तयार भएको थियो। तर हामी दोस्रो तहका नेताहरूले निरन्तर छलफल गरेपछि अहिलेको गठबन्धन बनेको हो,' उनले सेतोपाटीसँग भने, 'अहिलेको अवस्थामा परिवर्तनकारी शक्तिहरू एकठाउँ हुनपर्छ भनेर सुरूमा हामी र जसपा तयार भयौं। त्यसपछि यो गठबन्धनको वातावरण बनेको हो।'
यो गठबन्धन बनाउन जसपाका तर्फबाट महासचिव रामकुमार शर्मा, मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव, प्रवक्ता मनिष सुमन, जनमत पार्टीबाट महेश यादव, माओवादी केन्द्रबाट भरत साह, एकीकृत समाजवादीबाट शत्रुधन महतो लगायतका नेता सक्रिय थिए। राष्ट्रिय मुक्ति पार्टीका केशव झा समेत सहमतिका लागि जुटेका थिए।
विगतमा एमालेलाई साथ दिएकै कारण आफूहरूलाई घाटा लागेको र एमाले भने मधेसमा ठूलो पार्टी बनेको भन्दै लोसपा महासचिव झाले यसबाट आफूहरूले पाठ सिकेको बताए।
कहिले महन्थ ठाकुरले, कहिले उपेन्द्र यादवले केपीलाई साथ दिएका कारण आफूहरू बदनाम भएको पनि उनको भनाइ छ।
गठबन्धनका लागि सबै पार्टी तयार भए पनि सुरूमा जनमत पार्टी तयार थिएन। विभाजन हुने स्थिति बनेपछि जनमत पार्टी तयार भएको स्रोत बताउँछ। जनमतका १३ सांसदमध्ये आधाभन्दा धेरैले सनाखत गरिसकेका छन्।
मधेस प्रदेशमा माओवादी संसदीय दलका नेता भरत साहले जेन–जी आन्दोलनले कांग्रेस र एमालेलाई नरूचाएकाले त्यस बाहेकका शक्ति एक ठाउँमा आएको बताए।
संघीयता र परिवर्तन पक्षधर शक्ति एक ठाउँ रहन जरूरी भएकैले लोसपाका नेता जितेन्द्र सोनाललाई मुख्यमन्त्री मान्न तयार भएको उनको भनाइ छ।
जेन–जी आन्दोलनको मर्म, घाइते र सहिदहरूको सम्मानका लागि पनि कांग्रेस र एमालेलाई सकारमा जान दिन नहुनेमा सबै सहमत भएको साहले बताए।
***