आगामी कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'वरिष्ठ बलराम' को 'न्याउली बनैमा' बोलको गीतलाई स्रोता तथा दर्शकले रूचाएका छन्।
दुई साताअघि सार्वजनिक भएको यो गीतले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ।
शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको उक्त गीत विशेषगरी टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल बनेको छ। युट्युबमा पनि यस गीतले लोभलाग्दो भ्यूज प्राप्त गरिरहेको छ।
सार्वजनिक भएको कम समयमै हिट भएको गीतले युट्युबमा मंगलबारसम्म ५३ लाखभन्दा बढी भ्यूज पाइसकेको छ। यस गीतको शब्द रचना र संगीत प्रशान्त शिवाकोटीकै हो।
गीतमा एकअर्कालाई मन पराउने जोडीको भूमिकामा विजय बराल र समृद्धि अर्यालले अभिनय गरेका छन्। गीतमा शंकाका बाबजुद सँगै जीवन बिताउने सहमतिको भाव व्यक्त गरिएको छ।
प्रदीप लामाको कोरियोग्राफी रहेको यस गीतमा कलाकारहरूको नृत्यको पनि निकै प्रशंसा भइरहेको छ। धेरै दर्शकहरूले गीत र नृत्य दुवैको खुलेर प्रशंसा गर्दै फिल्मको सफलताको कामना गरेका छन्।
सुरेन्द्र पौडेल निर्देशित 'वरिष्ठ बलराम' मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरूको अभिनय छ।