यस वर्षको दसैंमा तीन नेपाली फिल्म 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' एकसाथ प्रदर्शनमा आएका थिए। फूलपातीको दिन रिलिज भएका यी फिल्महरू तेस्रो सातामा प्रदर्शनरत छन्।
दसैंपछि अब तिहारमा पनि तीन नयाँ नेपाली फिल्महरू रिलिज हुने तयारीमा छन्। जसले बक्स अफिसमा कस्तो व्यापार गर्छन् भन्ने चासो बढाएको छ।
यस वर्ष भाइटीकाको दिन (कात्तिक ६) गते 'बरिष्ठ बलराम' र 'सोल्टिनी' प्रदर्शनमा आउँदैछन् भने त्यसको भोलिपल्ट, कात्तिक ७ गते 'मैझारो' रिलिज हुनेछ।
बरिष्ठ बलरामः इज्जत र प्रतिष्ठाको लडाइँ
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको 'बरिष्ठ बलराम' एक सामाजिक कथामा आधारित फिल्म हो। यसमा अभिनेता दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। आफ्नो इज्जत र प्रतिष्ठा बचाउन खोज्ने एक स्थापित व्यक्ति र आफूलाई स्थापित गर्न खोज्ने एक उदाउँदो व्यक्तिबीचको द्वन्द्वलाई फिल्मले देखाउने जनाइएको छ। समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरूको पनि यसमा अभिनय छ।
सोल्टिनीः अन्तरजातीय प्रेमको मार्मिक कथा
अर्जुन सुवेदीको निर्देशनमा बनेको 'सोल्टिनी' मा अभिनेता प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन्। फिल्मको ट्रेलरले अन्तरजातीय प्रेम सम्बन्धमा देखिने सामाजिक विभेद, समुदायहरूबीचको असमानता र त्यसले निम्त्याउने संघर्षपूर्ण परिस्थितिलाई उजागर गर्ने संकेत दिएको छ। प्रकाश र परीक्षाका साथमा सुन्दर धिताल, सबु गुरूङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारहरूको पनि अभिनय छ। पूर्वी पहाडका रमणीय स्थानहरूमा सेट गरिएको 'सोल्टिनी' एक हृदयस्पर्शी रोमान्टिक ड्रामा हो, जसले प्रेम, परम्परा र संस्कृतिलाई सुन्दर ढंगले मिश्रण गरेको बताइएको छ।
मैझारोः प्रेम र संघर्षको त्रिपक्षीय द्वन्द्व
भाइटीकाको भोलिपल्ट रिलिज हुने फिल्म 'मैझारो' मा धीरज मगर, मिरूना मगर र दीया पुन मुख्य भूमिकामा छन्। अभिनेता विल्सनविक्रम राई निर्देशित यो फिल्म पनि प्रेमकथामा आधारित छ। यसमा निर्देशक स्वयंसँगै दयाहाङ राई, सुनील थापा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरूङ, कविता आले लगायतका कलाकारहरूको पनि अभिनय छ। एक युवाको संघर्ष, उनको विगतको प्रेम र भविष्यको अनिश्चितताको त्रिपक्षीय द्वन्द्वलाई यस फिल्मले चित्रण गर्ने जनाइएको छ।
तिहारका यी फिल्महरू प्रदर्शनमा आउनुअघि यही शुक्रबारदेखि अनमोल केसी अभिनीत 'जेरी अनटप' रिलिज हुँदैछ। यो फिल्म पनि तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो। प्रदर्शन तयारीमा रहेका यी फिल्मले कस्तो व्यापार गर्लान्? त्यो भने प्रतीक्षाको विषय छ।