अभिनेता अनमोल केसी झन्डै डेढ वर्षपछि नयाँ फिल्मका साथ दर्शकमाझ आउँदैछन्। उनको शीर्ष अभिनय रहेको फिल्म 'जेरी अन टप' यही शुक्रबार (असोज ३१) देखि प्रदर्शनमा आउँदैछ।
फिल्म रिलिज हुन दुई दिन बाँकी रहँदा अधिकांश मल्टिप्लेक्स हलहरूले शो तालिका तय गर्दै अग्रिम टिकट बिक्री सुरू गरिसकेका छन्। यो फिल्मलाई अधिकांशजसो मल्टिप्लेक्सले राम्रो शो उपलब्ध गराएका छन्।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई पहिलो दिनका लागि देशभरका आउटलेटमा गरेर ५३ शो दिएको छ। क्युएफएक्सको काठमाडौंका आउटलेटमा मात्रै २६ शो पाएको छ। शोमा केही थपघट भने हुनसक्छ।
त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा फिल्मले कुल २० शो पाएको छ। एफक्युब सिनेमाले ७ शो उपलब्ध गराएको छ। वान सिनेमाजले वानेश्वर र कालीमाटीमा गरी १२ शो दिएको छ। बिग मुभिजसहितका अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाइसकेका छन्।
सुयोग गुरूङको निर्देशनमा बनेको 'जेरी अन टप' मा अनमोलसँगै आँचल शर्मा, जसिता गुरूङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायत कलाकारहरूको अभिनय छ।
‘अनन्या फिल्मस्’ को ब्यानरमा तयार ‘जेरी अन टप’ सरोज न्यौपानेले निर्माण गरेका हुन्।
निर्माणमा उनीसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविष्य खड्काले साझेदारी गरेका छन्। फिल्मको कथा हेमराज बिसीको हो। फिल्मलाई ड्रामा, रोमान्स र एड्भेन्चर जनरामा राखिएको छ।
सार्वजनिक टिजर र ट्रेलर लगायतका सामाग्रीले राम्रो चर्चा पाएका छन्।