यो वर्षको डिसेम्बर बित्दा सन्ध्या भट्टराईको पहिलो स्ट्यान्ड–अप कमेडी भिडिओ सार्वजनिक भएको पनि एक वर्ष पूरा हुन्छ।
'टिचरकी छोरी' शीर्षकको आफ्नो पहिलो भिडिओमा सन्ध्याले आफ्नै यथार्थलाई प्रस्तुतिको विषय बनाएकी थिइन्।
उनी साँच्चै शिक्षककी छोरी हुन्। उनका आमाबुबा दुवै बुटवलको होराइजन स्कुलमा पढाउँछन्। त्यसैले यो प्रस्तुतिलाई उनले आमाबुबाप्रति समर्पित गरेकी थिइन्।
पहिलो प्रस्तुतिको बीचतिर सन्ध्याले आफ्नो अर्को परिचय पनि खुलाएकी थिइन्।
'डाक्टर पनि होइन म, नर्स पनि होइन, फिजियोथेरापिस्ट हो।'
सन्ध्या धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) मा फिजियोथेरापी पढ्छिन्। त्यहीँ बिरामीको उपचारमा पनि खटिन्छिन्। एक वर्षदेखि स्ट्यान्ड–अप कमेडी सो नेपग्याजमसँग जोडिएकी सन्ध्याका हालसम्म आधा दर्जनजति भिडिओ सार्वजनिक छन्।
पढाइका लागि धुलिखेल बस्ने सन्ध्या स्ट्यान्ड–अप कमेडीका लागि पटकपटक काठमाडौं धाउनुपर्छ। यसका लागि उनी सकेसम्म शनिबारको सदुपयोग गरिरहेकी छन्।
'पढाइबाट समय बचाएर कमेडी गरिरहेकी छु। समय व्यवस्थापन गर्ने चुनौती छ,' शनिबारकै समय मिलाएर नेपग्याजम तीनकुनेस्थित कार्यालयमा भेटिएकी सन्ध्याले भनिन्।
सानो छँदा सन्ध्या जे काम गरे पनि 'ठूलो मान्छे' बन्ने सपना देख्थिन्। ठूलो हुँदै जाँदा उनको नजरमा डाक्टर बन्नु ठूलो मान्छे बन्नु भयो। 'ठूलो मान्छे' बन्न 'ठूलै ठाउँ' आउनुपर्ने भएकाले उनी बुटवलबाट प्लस-टु सकेर काठमाडौं आइन्। धुलिखेल विश्वविद्यालयमा आफैंले रोजेको विषय र क्षेत्रमा सक्रिय हुँदा उनी सन्तुष्ट हुनुपर्ने हो, भइनन्।
'कताकता केही कमी महसुस भइरहन्थ्यो। पढाइको व्यस्तताले आफैंलाई बुझ्न पाएकी थिइनँ। लकडाउनमा बल्ल आफूलाई समय दिने मौका पाएँ,' उनले भनिन्, 'साथीहरूसँग मजाक र रमाइलो गर्ने बानी भए पनि स्क्रिप्ट नै लेख्न सक्छु भन्ने लागेको थिएन। लकडाउनको फुर्सदमा घर जाँदा पहिलोपटक लेखेँ। त्यसपछि फेरि अरू स्क्रिप्ट लेखेँ। अनि ए! मैले यो क्षेत्रमा पनि केही गर्न सक्ने रहेछु भन्ने महसुस भयो।'
सन्ध्याले जुन बेला स्क्रिप्ट लेख्न सुरू गरिन्, त्यो मानिसहरूमा स्ट्यान्ड–अप कमेडीप्रति व्यापक रूचि बढिरहेको समय थियो। युट्युबमा भेटिने स्ट्यान्ड–अप कमेडी प्रस्तुति हेर्ने क्रममा उनले नेपग्याजमबारे थाहा पाइन्।
'बुटवलबाटै नेपग्याजममा सम्पर्क गरेँ। उहाँहरूले अडिसनका लागि बोलाउनुभयो,' उनले भनिन्। तर पढाइबाट समय निकालेर अडिसन दिन उनलाई ६ महिना लाग्यो।
सन्ध्याका अनुसार उनले हेरेका स्ट्यान्ड–अप कमेडी प्रस्तुतिहरूमा अक्सर द्विअर्थी शब्द प्रयोग भएका हुन्थे। त्यसैले उनलाई आफूले पनि त्यस्तै शब्द प्रयोग गर्नुपर्छ भन्ने लागेको थियो।
'मैले ममीलाई पनि केही अपशब्द बोलेँ भने पनि गलत नसम्झिनू भनेर मनाइसकेकी थिएँ, उनले हाँस्दै भनिन्।
तर जब उनी नेपग्याजम पुगिन्, आयोजकले अपशब्द बोल्न पाइँदैन भनेर सुरूमै सचेत गराइदिए। त्यो कुराले उनलाई अचम्म बनाएको थियो। सन्ध्या छानिइन्। पहिलो प्रस्तुति सार्वजनिक हुने क्षण पनि आयो। कमेडी क्षेत्रमा पहिलो प्रस्तुतिबाट उत्साहित र नर्भस उनलाई त्यसपछि जे भयो, त्यसले झन् अचम्मित बनायो।
'यति धेरै जनाले भिडिओ मन पराइदिनुभयो कि मैले विश्वास गर्नै सकिनँ। युट्युब ट्रेन्डिङमा समेत आयो,' उनले सम्झिन्।
मेसेज, कमेन्ट त कति हो कति!
सन्ध्याका अनुसार त्यो प्रस्तुतिको उनको कलेजमा पनि उत्तिकै सराहना भयो। ओपिडीमै उनको प्रस्तुति देखाइँदा खुसीको सीमा रहेन।
'परिवार, आफन्तले तारिफ गर्नुभयो। साथीहरू खुसी भए। हुँदाहुँदा कहिलेकाहीँ बोल्नेहरू पनि बेस्ट फ्रेन्ड भन्दै आए,' हँसिलो अनुहारमा खुसी थप्दै भनिन्, 'कलेजमा पढिरहेका बेला झुलेको देखे भने अझै पनि ओइ टिचरकी छोरी उठ् भन्दै जिस्काउँछन्।'
सन्ध्याले सोचेभन्दा बढी चर्चा पाएपछि उनलाई रमाइलो मात्र भएन, पढाइ र स्ट्यान्ड–अप कमेडीलाई सँगसँगै अघि बढाउने चुनौती पनि थपियो।
'मैले समय दिन सक्दिनँ कि भनेर नेपग्याजम टिमले मलाई छनौट नै नगर्ने कि भन्ने पनि भएको रहेछ,' उनले सुनाइन्, 'तर मेरो कन्टेन्ट र आत्मविश्वास देखेर होला, मलाई मौका दिनुभयो।'
त्यही मौका सदुपयोग गर्दै उनी भ्याएसम्म नयाँनयाँ काम बाहिर ल्याउन मेहनत गरिरहेकी छन्। सजिलो भने छैन। पढाइकै कारण उनी दुई-चार महिना हराउनुपर्ने हुन्छ। कलेजमा ८० प्रतिशत उपस्थिति देखाउनै पर्छ। आन्तरिक परीक्षा पनि भइरहन्छन्।
उनी चिन्ता पोख्छिन्, 'जति लामो समय दर्शकसँग टाढा भयो, त्यति दबाब बढ्छ। कि दर्शकले नखोजेर हराइन्छ कि आफू दर्शकसम्म नपुगेर हराइन्छ।'
त्यसैले उनका लागि स्क्रिनमा घरीघरी देखिनु जरूरी छ। हाल त्यही प्रयास गरिरहेकी छन्। स्क्रिनमा देखिने क्रममा सन्ध्या स्ट्यान्ड–अप कमेडीबाहेक नेपग्याजमका रोस्ट एन्ड र्याप ब्याटल, फुड च्यालेन्ज, सरकारी कार्यालय २.० जस्ता प्रस्तुतिमा देखिइसकेकी छन्।
कमेडीमा पन्च लाइन मार्ने उनले यसबारे पनि पन्च लाइन् मारिन्, 'निरन्तरताले लकलाई पनि फ्लप ख्वाइदिन्छ। त्यसैले निरन्तरतालाई प्राथमिकता दिएर काम गरिरहेकी छु।'
पढाइका कारण जहिल्यै समय अभाव भएको महसुस गर्ने उनले थपिन्, 'मलाई मेरो क्षमतामा शंका भएको भए यति समय पनि सायद टिक्ने थिइनँ। तर मैले समय मिलाउन सकिनँ भनेर कहिल्यै आफैंसँग बहाना मागिनँ।'
स्ट्यान्ड-अप कमेडीमा महिला अनुहार कम भएकाले पनि सन्ध्याको यो निरन्तरता महत्वपूर्ण र अर्थपूर्ण छ। सन्ध्याको अनुभवमा स्ट्यान्ड–अप कमेडीमा सक्रिय हुन आफ्नो 'कम्फर्ट जोन' बाट बाहिर निस्कनुपर्ने चुनौती हुन्छ। जति आत्मविश्वास भए पनि यसबाट बाहिर निस्कन भने गाह्रै हुने उनको भनाइ छ।
त्यस्तै यो क्षेत्रमा आउन 'बोल्ड' हुनुपर्ने भन्दै उनले सुनाइन्, 'कमेडीमा लाग्यो भने बिहे हुँदैन भन्ने डरले धेरै केटीलाई हच्काउने रहेछ। मेरो ममीले पनि बेलाबेला यो कुरा भन्नुहुन्छ।'
उनलाई भने कमेडीमा सक्रिय भएपछि आफ्नो मनभित्रको खाली ठाउँ भर्न पाएको महसुस हुन्छ। कोठामा एक्लै बसेर टोलाए पनि स्टेजमा बढी खुलेजस्तो लाग्छ। यो कुराले पनि स्टेजमा उक्लिने ऊर्जा दिन्छ।
कोशिस गरौं न त भनेर कमेडीमा आएकी सन्ध्यालाई सुरूमा राम्रो कन्टेन्ट बनाए पुग्छजस्तो लाग्थ्यो। अचेल टाइमिङ, पन्च लाइन लगायत धेरै कुरामा ध्यान दिन्छिन्। सन्ध्याको प्रस्तुति हेर्नुभएको छ भने याद गर्नुभएको होला, उनी निकै छिटो बोल्छिन्। त्यसैले बोलीको रफ्तार नियन्त्रण गर्ने प्रयास पनि गरिरहेकी छन्।
उनी क्यामराअगाडि उभिने बेला भने कस्तो देखिएला भनेर पनि चनाखो हुन्छिन्। क्यामरामा ध्यान दिँदा वास्तविक देखिन्नँ कि भन्ने कुराले सचेत बनाइराख्छ। त्यसैले सकेसम्म सहज र वास्तविक देखिने प्रयास गरिरहेको उनले बताइन्।
'टिचरकी छोरी' जस्तै 'रूममेटको ब्वाइफ्रेन्ड', 'नयाँ वर्ष' जस्ता प्रस्तुतिमा आएका धेरै सन्दर्भ आफ्नै र आफ्नै सेरोफेरोबाट टिपेकी छन्। आफैंलाई केन्द्रमा राखेर विषय टिप्न सजिलोजस्तो लागे पनि यो शैली जोखिमपूर्ण रहेको उनी बताउँछिन्।
'मेरो प्रस्तुतिका हरेक लाइन वास्तविक हुन् भन्दा फरक पर्दैन,' सन्ध्याले भनिन्, 'तर आफैंलाई केन्द्रमा राखेर कन्टेन्ट बनाउँदा कति खुल्ने कति नखुल्ने भन्ने कुरामा अप्ठ्यारो हुने रहेछ। कसैले मेरो प्रस्तुति मन पराएन भने त्यो त मेरो यथार्थ हो। कतिलाई अफेन्सिभ पनि लाग्न सक्छ।'
अब भने सन्ध्यालाई आफ्नै 'सर्कल' मा सीमित नभएर समाजमा सकारात्मक प्रभाव पार्ने खालको विषयवस्तु पनि उठाउनुपर्ने बोध हुन थालेको छ।
प्रस्तुति रूचाउनेका हाइहाइसँगै मन नपराउनेको टिप्पणी र ट्रोलको सामना गर्नुपर्ने कुरालाई पनि उनी चुनौती मान्छिन्। नकारात्मक प्रतिक्रियाहरू सुरूसुरूमा उनलाई पचाउन गाह्रै परेको रहेछ। अहिले भने यस्ता कुराले धेरै असर नगर्ने उनी बताउँछिन्।
'अचेल अरूका लागि भन्दा म आफ्नै थेरापीका लागि कमेडी गर्छु,' उनले भनिन्।
फिजियोथेरापी र कमेडी 'थेरापी' दुवैमा सक्रिय उनलाई कयौं नचिनेकाहरूले भनेका छन्- तपाईंको भिडिओ हेरेको थिएँ।
त्यस्तो बेला उनलाई फिजियोथेरापी छोडेर पूरै समय स्ट्यान्ड–अप कमेडीमा लागौं भन्ने पनि हुन्छ। कहिलेकाहीँ कमेडीमा डुब्दा पढाइको मतलबै छैन जस्तो पनि लाग्छ। तर पढाइमा मेहनत र लगानी लागेको छ। घरबाट पनि पढाइमा ध्यान देऊ भन्छन्। त्यसैले एकछिन मन डुले पनि दुईमध्ये एक मात्र रोज्न सक्दिनन्।
दुवै क्षेत्रमा सिक्ने चरणमा भएकाले दबाब भए पनि समय व्यवस्थापन गर्दै सन्तुलन मिलाउन सिकिरहेको उनी बताउँछिन्, 'कुनै एउटा क्षेत्र छाडेर पछि पश्चाताप गर्नु छैन।'
सिक्ने प्रक्रियामा उनले सोचेको 'ठूलो मान्छे' को परिभाषा पनि फेरिएको छ।
तर अझै भन्न छाड्दिनन्, 'ठूलो मान्छे बन्ने रहर त बाँकी नै छ। पहिला नामले चिने पुग्छजस्तो लाग्थ्यो, अचेल कामसहितको नामवाला ठूलो मान्छे बन्नुपर्छ भन्ने लाग्न थालेको छ।'