केही दिनयता सामाजिक सञ्जालमा भदौ २४ को आन्दोलनमा कलाकार निश्चल बस्नेत सहभागी भएका भिडिओ क्लिप सार्वजनिक भइरहेका छन्। भिडिओमा बानेश्वरस्थित संसद भवन आगलागीपछि निश्चलले अभिव्यक्ति दिँदै गरेको देखिन्छ।
केही युवाहरूले भिडिओ र फोटो खिच्दै उनको प्रतिक्रिया माग्छन्।
आगलागी भइरहेको संसद भवन अगाडि उभिएर जबाफमा निश्चलले 'यो नयाँ युगको सुरूआत भएको' बताउँछन्।
भिडिओमा उनी भन्छन्, 'यो नयाँ युगको सुरूआत हो। जेनजी पुस्ताले गरेर देखाएको छ। अहिलेसम्म कसैले गर्न नसकेको काम गरेर देखाएको छ। उनीहरूलाई थ्यांक यू (धन्यवाद)...।'
यो भिडिओ क्लिप सार्वजनिक भए लगत्तै निश्चलले देशको महत्त्वपूर्ण संरचना जल्दा खुसियाली मनाएको भन्दै उनको आलोचना भएको छ।
यही सन्दर्भलाई लिएर उनको व्यापक आलोचना र टिप्पणी हुन थालेपछि उनले बुधबार बेलुकी सामाजिक सञ्जालमा लेख्दै आफूले गल्ती नगरेको बताएका छन्।
अभिनेता तथा निर्देशक निश्चलले आफूले कतै ढुंगा हानेको, आगजनी गरेको प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका हुन्।
उनले लेखेका छन्, 'मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ भन्ने स्पष्ट हुन्छ। त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्छु।'
उनले थप लेखेका छन्, 'म आन्दोलनमा गएको हो? हो! भ्रष्टाचारको विरोध गरेको हो? हो! मसँग फोटो, भिडिओ खिच्न दाजुभाइ, दिदिबहिनी आएका हुन्? हो! भिडिओको माथि आफू अनुकूल क्याप्सन राखेर भ्रम छर्दै बस्नेलाई मेरो भन्नु केही छैन।'
जलिरहेको संसद भवन अगाडि उभिएर जेनजी पुस्तालाई धन्यवाद भनेको आफ्नो भिडिओमा बोलेको कुरा भने उनले अस्वीकार गरेका छैनन्।
बुधबारै निश्चल सहित विजय बराल, सुजित बिडारी, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, कर्म लगायत कलाकार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका थिए।
प्रधानमन्त्री कार्कीले उनीहरूलाई समाजमा कलाकारहरूको प्रभाव भएकाले सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न भूमिका खेलिदिन भनेकी थिइन्।
कलाकारहरूले पनि प्रधानमन्त्री कार्कीलाई गलत सूचना र प्रोपागान्डाबाट नडराई संकल्प अनुसार अघि बढ्न सुझाव दिए। उनीहरूले भ्रष्टाचारविरूद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिए।