शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म 'पीआर' को प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म आउँदो मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा यो फिल्म निर्माण भएको हो।
सलोन–सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, कृष्ण थापा, नवीन घायल लगायतको प्रमुख भूमिका छ।
फिल्मलाई रञ्जित साह र सन्तोष तिवारीले प्रस्तुत गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता छन्।
निर्माण पक्षका अनुसार फिल्म 'पीआर' ले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मुख्य विषय बनाएको छ।
गणेश बुढाथोकीको लेखन, सौरभ लामाको डिओपी, सौरभ सायमीको सिनेम्याटोग्राफी, रामजी लामिछाने र शोभित बस्नेतको कोरियोग्राफी रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन छ।
निर्देशक बस्नेतका अनुसार, फिल्ममा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देश पाउनेछन्। फिल्मबाट दर्शकले फरक स्वाद प्राप्त गर्ने विश्वास रहेको उनले बताए।