अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा स्टारर फिल्म 'जेरी अन टप' ले सुखद् व्यापार गरिरहेको छ। प्रदर्शनको पाँचौं दिन मध्यान्हसम्म फिल्मले तीन करोड रूपैयाँमाथिको ग्रस व्यापार गरेको निर्माणपक्षले जनाएको छ।
निर्माता सरोज न्यौपानेका अनुसार फिल्मले मंगलबार मध्यान्ह १२ बजेसम्म ३ करोड २ लाख ३२ हजार ग्रस कलेक्सन गरेको हो।
फिल्मले शुक्रबार ७२ लाख ५९ हजार र शनिबार ८६ लाख ३८ हजार रूपैयाँ ग्रस कमाएको थियो।
त्यस्तै, फिल्मले आइतबार ६३ लाख ८४ हजार र सोमबार ३९ लाख ५६ हजार रूपैयाँ ग्रस कमायो। मंगलबार मध्यान्हसम्म ४० लाख रूपैयाँमाथिको कलेक्सन गरिसकेको निर्माता न्यौपानले बताए।
मोफसल यात्रामा अनमोल, आँचल र जसिता
सुयोग गुरूङ निर्देशित फिल्मले ‘वर्ड अफ माइथ’ राम्रो पाइरहेको छ। जसका कारण प्रदर्शनको पाँचौ दिनसम्म पनि फिल्मले देशभरका हलमा दर्शकको साथ पाइरहेको छ।
यसैबीच, दर्शक प्रतिक्रियाको लागि फिल्म यूनिट मंगलबार मोफसल यात्रामा निस्केको छ। अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरूङसहितको टिम पश्चिम नेपाल भ्रमणमा निस्किएको हो।
मंगलबार दाङ र बुधबार नेपालगन्जमा कलाकारसहितको टिमले दर्शकसँग फिल्म हेर्ने र प्रतिक्रिया लिने कार्यक्रम रहेको निर्माता न्यौपानेले बताए। सँगसँगै देशका अन्य विभिन्न सहरहरूमा समेत तिहारअघि र पछि गरेर क्रमशः कलाकारसहित दर्शक साक्षात्कारको लागि पुग्ने उनले बताए।

सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथालाई 'जेरी अन टप' ले मुख्य विषय बनाएको छ।
जेरीको सगरमाथा आरोहण र त्यसबीचमा उत्पन्न हुने आरोह अवरोहको परिवेश फिल्मको कथा हो। भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तसहितका कलाकारहरू समेत फिल्ममा प्रमुख अभिनयमा छन्।