बिहीबार नेपाल झरेकी चर्चित बलिउड पार्श्व गायिका आशा भोस्लेले शनिबार होटल सोल्टीमा चर्चित नेपाली संगीतकार रंजित गजमेरको सम्मानमा आयोजित 'अ म्युजिक जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले' कार्यक्रममा आफ्नो स्वरमा सजिएका चर्चित गीतहरू प्रत्यक्ष गाएर सुनाइन्।
काठमाडौंमा आशालाई प्रत्यक्ष सुन्न पाउँदा श्रोताहरूमा बेग्लै उत्साह छाएको थियो।
नेपाल आएपछि पशुपति दर्शन र राष्ट्रपतिसँग भेट गरेकी आशाले कार्यक्रममा नेपालसँग गुनासो पोखिन्।
कार्यक्रमको अन्त्यमा स्टेजमा उक्लेकी आशाले नेपाली श्रोतालाई काठमाडौं झर्दा पाएको सम्मानले आफू नतमस्तक भएको सुनाइन्।
त्योसँगै नेपालसँग गुनासो रह्यो- नेपालका मान्छेले ढिला सम्झे।
उनले गुनासो पनि ठट्यौली पारामा गरिन्।
'दिल्लीबाट यहाँ उत्रिँदा म थकित थिएँ। त्यति बेला म सोच्दैथेँ, नेपालका मान्छेले मलाई किन यति चाँडो बोलाए? अरू दुई-चार वर्ष रोकिएको भए त म माथि पनि गइसक्थेँ,' उनले भनिन्।
यति गुनासो गरेपछि उनले आफ्नो उमेरको कुरा झिकिन् तर उनको रसिक शैली जारी नै रह्यो।
'अहिले मेरो उमेर छ.....'भनेपछि उनी एक्कैछिन् रोकिइन्।
र भनिन्, 'कति भनूँ?'
त्यसपछि आफू हाल ८६-८७ भएको बताउँदै भोस्लेले नेपालमा जस्तो सम्मान आफूले यसअघि कहिले नपाएकोमा खुशी व्यक्त गरिन्।
'म उत्रेँ। सम्मान पाउन थालेँ। यो हुँदै थियो, त्यो हुँदै थियो बाहिर आएँ। बाहिर आउँदा यस्तो लाग्यो, जीवनमा मैले यस्तो सम्मान कहीँ कतै कुनै ठाउँमा पाएकी थिइनँ,' उनले आफ्नो खुशी वर्णन गरिन्, 'यस्तो सत्कार सम्मान-स्वागत कहिले देखेको थिइनँ। मलाई नाच्दै यताउती गरेर स्वागत गरियो। म उनीहरूकहाँ गएर फोटो खिच्दैथेँ। त्यति बेला मलाई रुन मन लागिरहेको थियो।'
उनले आफू एउटा गायिकारूपमा व्याख्या गर्दै आफूलाई रुन मन लाग्नुको कारण खुलाइन्।
'म त एउटा गायिका मात्र न हुँ, भगवान त होइन। मलाई मानिसहरूले यस्तो माया गर्नुहुन्छ र त्यो पनि नेपालमा। मलाई पनि नेपालको माया छ। तर अफशोच छ मैले यो भाषा बोल्न सकिनँ।'
त्यसपछि हिन्दी अन्दाजमा सोधिन्, 'कस्तो हुनुहुन्छ?, राम्रो हुनुहुन्छ।'
'यस्तै थोरैमात्र आउँछ' भन्दै उनले सत्यजित गजमेर (रंजित गजमेरका छोरासँग) पानी मागिन्।
अनि उनले रंजित गजमेरसँगको भेटको सम्झना गरिन् र भनिन्।
'कान्छा (रंजित गजमेरलाई उनी कान्छा भन्छिन्) मैले भेट्दा एउटा सानो ठिटो थियो। सानो सानो ठिटाका रुपमा आर डी बर्मन साबकोमा आएको थियो। मादल बजाउँथ्यो। मलाई उसको नाम रंजित भनेर पनि थाहा थिएन। रंजित पछिको नाम पनि मलाई थाहा छैन।'
यति भनिसक्दा रंजितका छोराले पानी ल्याइदिए र आशालाई थर गजमेर भएको बताइदिए।
उनले पानी पिइन् र छेउमा हार्मोनियम राखिएको टेबलमा राखिन्।
त्यसपछि रंजितले पानीको ग्लासले हार्मोनियम बजाउन रोक्छ कि रोक्दैन भनेर हेरे। उनी त्यहाँ भोस्लेलाई हार्मोनियम बजाएर साथ दिन उभिएका थिए।
'म त कान्छै भनेर बोलाउँछु', आशाले भनिन्।
आशाको कुरा सुनेर दर्शक हाँसे।
साथै रहेका रंजित, उनका छोरा सत्यजित र छोरी भारती घिमिरे पनि हाँसे।
***
आर डी बर्मनको अवसानसँगै बलिउडबाट म्यूजिक सिटिङको संस्कार सकियो। रंजित त्यही संस्कारका करिब अन्तिम अन्तिम सदस्य मध्येका हुन्। उनले आर डीका बुवा एस डी बर्मनसँग म्यूजिक सिटिङ गरे। त्यहाँ उनले प्रायः नेपाली बाजा मादल बजाउँथे।
दार्जिलिङबाट काठमाडौं हुँदै संगीतकार मनोहरि सिंहको माध्यमबाट मुम्बई पुगेका रंजित मुम्बई पुगे। त्यहाँ मनोहरिले उनलाई संगीतकार आर डी बर्मन (पंचम)लाई भेटाइदिए।
रंजितले भेट्दाको समय पंचम देवानन्दको नेपालमा छायांकन गरिएको चर्चित सिनेमा 'हरे रामा हरे कृष्णा'को म्यूजिक सिटिङमा थिए।
रंजित आफ्नो साथ मादल बोकेर गएका थिए। पंचमले मादलमा केही बजाउन भने। रंजितले 'कान्छा रे कान्छा रे' भन्दै मादल बजाए। त्यहाँ देवानन्द पनि थिए।
देवानन्दले मादलको धुन सुनेपछि, 'हो, नेपालमा यस्तै केही बजाउँछन्' भने।
त्यसपछि रंजितलाई गीत रेकर्डिङ हुने फिल्म सेन्टरमा आउन भनियो। मादल सुनाएको पर्सिपल्ट गीतको रेकर्डिङ थियो। उनी पुगे।
पुगेपछि उनले देखे- किशोर कुमार र लता मंगेश्कर गीत गाउन तयार बसेका छन्।
उनी मादल बजाउन बसे, गीत रेकर्डिङ सुरु भयो। सुन्छन् त आफूले गाएको कान्छा रे कान्छामा अन्तरा हालेर पंचमले 'कान्छी रे कान्छी' बनाइसकेछन्। गीत रेकर्ड भयो र सुपरहिट पनि।
त्यसपछि पंचमले भने-आज से तेरा नाम कान्चा(कान्छा)।
आशाले त्यसै नामबाट उनले रंजितलाई चिनिन्। त्यसैले आशाका लागि रंजित सधैं कान्छा भइराखे।
***
'बर्मन साब उनीहरूसँग बसेर गीत बनाइरहनुभएको हुन्थ्यो र उनीहरू सबै वरिपरि बसेका हुन्थे र गीतको रिहर्सल गरिन्थ्यो,' उनले पुराना दिनहरूको याद ताजा गरिन्, 'जब संगीत तयार हुन्थ्यो, उनीहरू अगाडि हुन्थे। मादल पञ्चम(एसडी बर्मन)को सबैभन्दा प्रिय थियो। उनले हरेका गीतमा पर्यो गरे र एकदमै राम्रो प्रयोग गरे।'
'त्यो बेलादेखि मैले कान्छा भनेरै चिने र आजसम्म पनि हाम्रा लागि ऊ कान्छा नै रहिरहेको छ।'
त्यसपछि उनले रंजितका छोराको तारिफ गरिन्।
'आज म अर्को मान्छेको पनि नाम लिन चाहन्छु। सत्यजित जो कान्छाको छोरा हो, एकदमै राम्रो मान्छे छ। सारा घरलाई उसैले सम्हालिरहेको छ, एकसाथ राख्छ। आज तपाईंले जोजो संगीतकर्मीलाई देखिरहनुभएको छ। यो सबैको उसैको कारणले भएको हो। यसको आज मलाई घमण्ड छ।'
प्रशांसा सुनेपछि सत्यजितले आशाको खुट्टा ढोगिदिए।
'यस्तो बच्चा हर घरमा हुनुपर्छ,' आशाले फेरि भनिन्।
त्यसपछि गीत गाउन तयार भएकी आशाले दर्शकदीर्घातर्फ हेर्दै सोधिन्, 'मेरो आवाज राम्रोसँग आइरहेको छ नि?'
उनले हातको इशाराले कसैलाई बोलाइन्।
उनले भनिन्,'यो मेरो बुहारी हो।'
त्यसपछि उनले आफ्नै कुरा गरिन्।
'के गर्नु उमेर भएपछि धेरै कुरा भुलिँदो रहेछ।'
कार्यक्रम हेर्न उपराष्ट्रपति नन्दकिशोर पुनः प्रमुख अतिथि बनेर पुगेका थिए। उनले हिन्दी भाषामा उपराष्ट्रपतिको स्वागत गरिन् र 'स्वागत'लाई नेपालीमा के भन्छन् भनेर सोधिन्।
'स्वागत' नं भन्छन् भन्ने थाहा पाएपछि अचम्म परेकी आशाले सोधिन् 'हिन्दुस्तान र नेपालकाबीचमा यो के गडबढ हो?'
'भाषा उस्तै रे छ, धर्म पनि एउटै रहेछ। यहाँ पशुपति छ, उता ज्योतिर्लिङ। सबै एउटै किसिमको रहेछ। मलाई त यो दुनियाँको हरेक मान्छेसँग प्रेम छ, सबै मेरा लागि उस्तै। सबैलाई मायाप्रेम गर्नुपर्छ, किनकी जीवन छोटो छ।'
त्यसपछि सुन्न आतुर उपस्थितको पर्खाइलाई विराम दिँदै आशा गाउन सुरू गरिन्-
'आ..... झझल्को लिएर आएछ सावन।'
हलमा ताली गुञ्जियो।
'फेरि आँखामा......'