वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने फिल्म 'ऊनको स्वीटर' को 'काफ्ले' शीर्षकको सार्वजनिक गरिएको छ।
मंगलबार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको यस गीतले फिल्मको यथार्थवादी स्वाद प्रस्तुत गर्छ। यसमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको संगीत तथा झुमा र सुजन चापागाईंको स्वर रहेको छ।
गीत सार्वजनिक समारोहमा फिल्मका निर्देशक नवीन चौहानले 'काफ्ले' शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए।
'हामी फिल्मको जुन सपना बोकेर पाँचथर गएका थियौँ, आज त्यो सपना पुरा हुन लागेको छ। फिल्मलाई रियलिस्टिक अप्रोचबाट बनाइएको भएकाले यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौँ,' चौहानले भने। उनका अनुसार अभिनेता विपीन कार्कीले फिल्ममा 'धरणीधर काफ्ले' को भूमिका निर्वाह गरेका छन्, जसका लागि काफ्ले थर हुनेहरूको संस्कृतिको अध्ययन एवं अनुसन्धान समेत गरिएको थियो।
कार्यक्रममा निर्देशक चौहानले म्युजिक भिडिओ र फिल्म निर्माणको भिन्नतालाई औँल्याए। 'मैले फिल्म बनाउँछु भनेर जुन दिन सोच राखे, त्यस दिनदेखि मेरो अगाडि यो प्रश्नको ठुलो पहाड थियो' उनले थपे, 'यो दुई घण्टाको म्युजिक भिडिओ होइन, यो फिल्म नै हो भन्ने महसुस गराउन अहोरात्र खटेको छु।'
'काफ्ले' गीतका गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ब्रान्डमा बदल्ने पुरानो सपना पूरा भएको बताए। 'मलाई स्कुलमा शिक्षकहरूले काफ्ले काफ्ले भन्नुहुन्थ्यो, त्यो बेला थरले बोलाउँदा रिस उठ्थ्यो। त्यसै बेला सोचेको थिएँ, काफ्ले थरलाई ब्रान्ड बनाउँछु। आर्टमाण्डू टिमसँग यात्रा सुरू गर्न पाएँ र सपना पनि पुरा हुन लाग्दा खुसी छु,' उनले भने।
संगीतकार तथा गायिका झुमा लिम्बूले 'काफ्ले' गीत उनको बाल्यकालको सम्झनासँग जोडिएको बताइन्। 'यो गीतमा मेरो बाल्यकाल पनि भेटाउँछु। काफ्लेको बारेमा गीत बनाउन खोजिरहँदा काफ्ले गाउँमै जन्मे हुर्किएको थाहा पाउनु संयोग हो,' उनले भनिन्। मुन्धुम संस्कृति अध्ययनमा सक्रिय लिम्बूले गीतमा समेटिएको सांस्कृतिक गहिराइलाई अझ सशक्त बनाएकी छन्।
गीतका गायक सुजन चापागाईंले 'ऊनको स्वीटर' गीतको संरचना वर्णन गर्दै धेरै रङका धागाहरूलाई बटुलेर 'ऊनको स्वीटर' बनाएको बताए। कार्यक्रममा झुमा लिम्बू र सुजन चापागाईंले यही गीतमा प्रत्यक्ष प्रस्तुति समेत दिएका थिए।
फिल्मका प्रमुख अभिनेता विपीन कार्कीले फिल्ममा काम गर्नु रमाइलो अनुभव भएको बताए। 'अटो भर्ने कुरामा आफ्नै याद आउँछन्। विद्यालयमा हुँदा मैले धेरै साथीहरूलाई अटो लेखेको छु,' उनले अनुभव सुनाए, 'यस फिल्ममा कतिपय आफ्नै अनुभव पनि छन्।'
अभिनेत्री मिरूना मगरले यस गीतसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन्। 'यो गीतसँग मेरो एक किसिमको भावनात्मक सम्बन्ध छ। मेरो पुर्खाहरूले गुनगुनाएको यो भाकामा आफैँले काम गर्न पाएकी छु,' मिरूनाले भनिन्। उनले यो फिल्म निर्माणको क्रममा आफू पनि स्वीटरमा बुनिएको जस्तो अनुभव भएको बताइन्।
अभिनेता विल्सन विक्रम राईले 'ऊनको स्वीटर' को अभिनय समयलाई आफ्नो 'लक्की टाइम' को रूपमा चित्रित गरे। अर्का अभिनेता एलेक्स पारसले आर्टमाण्डू टिमप्रति कृतज्ञता व्यक्त गरे।
आर्टमाण्डू प्रालिको पहिलो फिचर फिल्म 'ऊनको स्वीटर' यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक फिल्म हो। विपीन कार्की र मिरूना मगर प्रमुख भूमिकामा रहेको यस फिल्ममा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ।
सुजन चापागाईं गीत निर्देशक रहेको फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन्। सुरज कटुवाल सह-लेखकका रूपमा रहेका छन्। सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रंगहरूलाई एउटै धागोमा बाँध्ने प्रयास गरिएको निर्देशक चौहानले बताए।
गीत सार्वजनिक समारोहमा आर्टमाण्डूको परिचय भिडिओ समेत प्रस्तुत गरिएको थियो।