राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।
बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा तीनवटा विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बिहीबार दिउँसो बस्ने बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए।
रास्वपाले वैशाख २५, २६, २७ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। तर अहिलेसम्म १० पालिका तहको कमिटीको पनि अधिवेशन नभएकाले महाधिवेशन अनिश्चित छ। पार्टीका सभापति रवि लामिछाने पुनः थुनामा पठाइएकाले पनि महाधिवेशन तोकिएकै मितिमा गर्न असम्भव हुने देखिएका बेला केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्य विवरणबारे छलफल हुने रास्वपाले बताएको छ।
यस्तै जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणबारे सदस्यहरूले विशेष रिपोर्टिङ गर्ने कार्यसूची रहेको रास्वपाले बताएको छ।
अघिल्लो केन्द्रीय समिति बैठकले पार्टीको तर्फबाट राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सम्मिलित मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरेको थियो। त्यस्तै लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको थियो।
पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजनको जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको थियो।