शान्ति ठटालले २०३० ताका 'मुनामदन' का लागि संगीत सिर्जनासँगै निर्देशनसमेत गरेकी थिइन्। उनै ठटालको संगीतमा आधारित मुनामदन शुक्रबारबाट तीन दिन नेपालयको पलेँटी श्रृंखलामा प्रस्तुत भइरहेको छ।
ठटाल मुनामदनमा धुन भर्ने पहिलो र अन्तिम सर्जक होइनन्। लक्ष्मीप्रसाद देवकोटाको पहिलो कृति १९९२ सालमा छापिएयता सार्वजनिक वृत्तमा मुनामदनमा आधारित गीत, संवाद र कथा प्रस्तुत हुन थालेको आठ दशक भइसक्यो।
दशकौंदेखि मुनामदनको कथा शैक्षिक संस्था, रङ्गमञ्च, संगीत, सिनेमालगायत विभिन्न माध्यमबाट पुस्तान्तरण भइरहेको छ। पलेँटी श्रृंखलामा शान्ति ठटालको प्रस्तुति यस्तै अभ्यासको पछिल्लो कडी हो। यसले मुनामदनलाई जीवन्त बनाइराख्ने अर्को खुड्किलाको काम गर्नेछ।
धेरैले लेखिसके, बोलिसके र भनिसके, मुनामदन नेपाली साहित्यकै मानक कृति हो। सबभन्दा बढी बिक्री हुने साहित्यिक किताबमाझ शीर्षस्थान ओगटेको तथ्यले यसको कालजयी लोकप्रियता पुष्टि गर्छ।
पाठकले मात्र होइन, समालोचकले समेत यसलाई अब्बल कृतिका रूपमा निरन्तर चर्चा गर्दै आएकाले साहित्य जगतमा मुनामदनको खास महत्व छ।
हालसम्म मुनामदनको २८ औं संस्करण छापिइसकेको छ। प्रथम संस्करण १९९२ सालमा ब्रह्मशमशेर जबरा, बबरमहल, काठमाडौंबाट छापियो। प्रारम्भिक तीन दशकमा नवौं संस्करणसम्म छापियो।
२०२२ मा नवौं संस्करण पछिल्लोपटक छापेयता मुनामदन निरन्तर साझा प्रकाशनले छाप्दै आएको छ। साझा प्रकाशनका वरिष्ठ अधिकृत होम भट्टराईका अनुसार २०७४ सालसम्म साझा प्रकाशनले मात्र ६ लाख ४५ हजार प्रति छापेको छ। मुनामदन हालसम्म ७ लाख बिक्री नाघिसकेको उनी अड्कल काट्छन्।
सानो काँटको यो कृतिको प्रथम संस्करणको मोल १६ पैसा थियो। अहिले यसको मूल्य ४५ रुपैयाँ छ।
नेपालभित्र मात्रै होइन, भारतका दार्जिलिङ, गान्तोक, आसामलगायत क्षेत्रमा मुनामदनको लोकप्रियता उत्तिकै छ। के देश, के परिवेश, नेपाली भाषी पाठकले मुनामदनलाई बेहद रुचाएको पाइन्छ।
यसको अंग्रेजी अनुवाद पनि उपलब्ध भएकाले अन्तर्राष्ट्रिय पाठकमाझ समेत मुनामदन फैलिएको छ। पहिला देवकोटाकै छोरा अंग्रेजीका प्राध्यापक पद्मप्रसाद देवकोटाले अंग्रजीमा अनुवाद गरे, पछि विदेशी अध्येता माइकल हटले अनुवादको अर्को संस्करण निकाले।
मुनामदन बृहत् व्यापकता ओगटेको नेपाली साहित्यकै सर्वाधिक लोकप्रिय कृति भनेर मात्रै पुग्दैन अब। बरु, मुनामदन किताबको ‘सामाजिक जीवन’ बारे गहन चर्चा गर्नुपर्छ।
मुनामदनको सामाजिक जीवनबारे खोतलेपछि मात्र देवकोटाले बोकेको मूल्य-मान्यता पुस्तकको अन्तर्वस्तु र पात्रमार्फत कसरी पुनरुत्पादन भइरहेको छ, बुझिन्छ। समय र सन्दर्भसँगै त्यस्ता अभ्यासले नौलो अर्थ बोकेका छन् कि छैनन्, थाहा हुन्छ।
सार्वजनिक वृत्तमा ‘सामाजिक’ शब्द व्यापक प्रयोग हुन्छ। तर न सञ्चारमा, न समाज विज्ञानको प्राज्ञिक जगतमा, ‘सामाजिक’ भनेको के हो वा के होइनबारे घोत्लिएको पाइन्छ।
सामाजिकताको रटानमा नेपाली समाज र राजनीतिमा सामाजिकता हराएको अवस्था छ। सम्भवतः सामाजिक हुनुका अवयव के हुन्, के के भयो भने सामाजिकता स्थापित हुन्छ लगायत प्रश्न वरिपरि प्राज्ञिक कर्म नगन्य भएकाले सामाजिकताबारे ज्ञान कम छ, हाउगुजी बढी छ। यस्तो अवस्थामा पुस्तकको सामाजिक जीवनबारे समेत विमर्श दुर्लभै हुने गरेको छ।
आठ दशकभन्दा बढी समयदेखि मुनामदनले समालोचकहरूको मनमस्तिष्कमा स्थान बनाए पनि सांस्कृतिक जगतमा भइरहेको पुनरुत्पादनलाई लिएर यसको सामाजिक जीवनबारे चर्चा भइरहेको छैन।
सन् १९६७ मा फ्रान्सेली समालोचक रोलाँ बार्थले ‘लेखकको मूत्यु’ शीर्षकको निबन्ध लेखेर विशाल ख्याति कमाए। उनको आशय थियो, परम्परागत शैलीमा समावेश गरिने लेखकको पहिचान, परिवेश र पूर्वाग्रहले कृतिको अन्तर्वस्तुलाई परख गर्न हम्मेसी सघाउँदैन।
उनको तर्क थियो— लेखन, सृजना र सामाजिक तवरमा त्यसको स्वीकृति वा अस्वीकृतिबीचको सम्बन्ध जटिल हुन्छ। पछिका वर्षमा लेखकको भूमिका, उसको परिवेश र ऐतिहासिक, कृतिको विषयवस्तु र रचनाले हासिल गरेको सामाजिक जीवन वरिपरि व्यापक रूपमा लेखिए। यसको प्रभाव ‘डिस्कोर्स एनलाइसिस’, उत्तरआधुनिकवाद, विनिर्माणवाद र संरचनावादमार्फत् समालोचना र समाज विज्ञानमा पर्यो।
मूल प्रश्न के हो भने, कुनै कृतिले हासिल गरेको बहुआयामिक सामाजिक जीवन र त्यसले समाजमा पार्ने प्रभावलाई बुझ्ने कसरी? मुनामदनको सन्दर्भमा यो प्रश्न उत्तिकै सान्दर्भिक छ।
मुनामदन वा कुनै पनि कालजयी किताब पढेपछि त्यसले पाठकलाई कसरी प्रभावित गर्छ? सम्भवतः पाठकको मनमस्तिष्कमा त्यसले तरंग ल्याउँछ। पाठकले आफू र आफ्नो परिवेश वरिपरिको जटिलता बुझ्न त्यस्ता रचनाको सहरा लिन्छ।
साहित्यिक कृतिको हकमा त्यसले पाठकको भावना र अन्तःस्करणलाई हल्लाउन सक्छ। यस्तो अवस्थाले किताब पढिसकेपछि सबै काम सकिँदैन, बरु नयाँ किसिमले सोच्ने र बुझ्ने कार्यको थालनी हुन्छ। त्यसपछि प्रारम्भ हुन्छ, किताबलाई सामाजिक वास्तविकतामा ढाल्दै जीवन्तता दिने कार्य- विद्यालयमा पढाएर। नाटक मञ्चन गरेर। गीतमा ढालेर। सिनेमा बनाएर। राजनीतिक वाद र विचार बोकेको किताबको हकमा सामाजिक र राजनीतिक परिवर्तनका लागि आन्दोलनको साधन बनाएर।
मुनामदनको हकमा गीत, नाटक र सिनेमामार्फत् सांस्कृतिक पुनरुत्पादनको कार्य निरन्तर छ। त्यसैले अहिले शान्ति ठटालको गीति प्रस्तुतिले मुनामदनको सामाजिक जीवनको पछिल्लो कडी समाएको छ।
समाज परिवर्तनशील भएकाले ८४ वर्षपहिले लेखिएको मुनामदनको प्रत्येक प्रस्तुतिले नयाँपन लिएर आउँछ। यसले फरक समय र सन्दर्भमा नौलो अर्थसमेत दिन्छ। पलेँटी श्रृंखलामा ठटालको प्रस्तुति चलिरहेका बेला मुनामदनको कालजयी चर्चाले नयाँ सान्दर्भिकता पाएको छ।
चौरासीमा चलिरहेको मुनामदनका चार विशेषताः
दीर्घायु
मुनामदन आज पनि जीवन्त बनिरहनुमा यसको विषयवस्तुको सान्दर्भिकता हो। मुख्य पात्र मदन आर्थिक अभावले पिरोलिएर धन कमाउन तिब्बतको ल्हासा जान लाग्दाको घटनाबाट खण्डकाव्य सुरु हुन्छ।
देश, पत्नी र आमालाई छोडी मदन परदेश गएजस्तै आज पनि दैनिक सयभन्दा बढी युवा विदेशमा श्रम गर्न जान बाध्य छन्। हिजोका दिनमा ल्हासा, कलकत्ता, देहरादुन, आसाम, बम्बइ र बर्मासम्म जाने क्रम थियो। आज भारतीय सहर जाने क्रम घटेको छ, तर मलेसिया, कतार, दुबई, साउदी अरब जाने संख्या बढ्दो छ।
फरक यत्ति हो, मदनको जस्तै उनीहरूको पनि पत्नी र आमालाई सुख दिने चाहनामा 'प्लस–माइनस' होला।
यो चाहना जीर्ण अर्थतन्त्रले सिर्जेको नेपालीहरूको सामूहिक बाध्यता हो, जुन हिजोझैं आज पनि देशकै समस्या हो।
जसरी मदन सुखको खोजीमा विदेश गएर अन्तमा दुःखद त्रासदीको भूमरीमा पर्छ, आज पनि हजारौं युवा यस्तै नियतिको शिकार बनिरहेका छन्।
पछिल्लो समयका सर्वाधिक चर्चित गीत हुन् ‘सुन साइँली’ र ‘बोल माया’। पहिलो गीतमा ‘चालीस कटेसी रमाउँला’ आशयको भाव छ भने दोस्रोमा धनको साटो विदेशबाट श्रीमानको लाश फिर्ता आएको अत्यन्त मार्मिक व्यथा छ।
यी दुवै गीतको सार र सन्दर्भ मुनामदनका पात्रहरूको भोगाइको नजिक छ। पति–पत्नीको व्यावहारिक जीवनका माया–प्रेमका आशा–निराशाका भावना पाइन्छन् यी गीतमा। मुना र मदनको प्रेममा भेटिने भाव पनि यस्तै हो।
देवकोटाकी मुनाझैं हर्क साउद र प्रकाश सपुतका गीतका साइँली र मायाहरू मदनको बाटो हेरेर निराश बन्न अभिशप्त छन्। आजका कयौं आमाहरू देवकोटाको मदनकी आमाझैं जवान छोराको प्रतीक्षामा आँखा टट्याउँदा टट्याउँदै उसलाई देख्न नपाई संसार छोड्न बाध्य छन्।
काठमाडौंको मध्यमवर्गीय परिकल्पनामा देवकोटाको समयमा नेपालीहरू पढ्न बनारस जान्थे वा धन कमाउन तिब्बत जान्थे। आजको सन्दर्भमा नेपाली जाने गन्तव्य फेरिएको होला, तर दाल, भात, डुकु जोहो गर्न विदेशिनुपर्ने बाध्यता ज्यूँका त्यूँ छ। नेपाली समाजको आमजीवनसँग जोडिने यही कथानकका कारण मुनामदन कालजयी मात्र होइन, जीवन्तसमेत छ।
झ्याउरे
नेपाली झ्याउरे र मुनामदन शीर्षकमा देवकोटा लेख्छन्, ‘झ्याउरे भन्ने शब्दमा एक किसिमको गाउँलेपन, रूचिको निम्नस्तर, एक सदरियापनबाट दूर रहेको अलिकति पाखण्डी या पहाडी काँठेपना लुकेको भाव विद्वान र पण्डितहरूका हृदयले फेला पार्थ्यो। कालीदास, भवभूतिजस्ता कविका सदरिया, दरबारिया मिठासमा चुर्लुम्म डुबुल्की खेलेर स्वकीय स्वदेशीयता र मौलिकतासमेत गुमाइसकेको पुरानो विद्वानमण्डली या साहित्यिकमण्डल झ्याउरेको नाम सुन्दै नाक सिड्कुन्थ्यो– मानौं झ्याउरे भन्ने चीजमा एक किसिमको अनौठो 'बु' (गन्धा) थियो।’
देवकोटाले मुनामदन लेख्दाको बौद्धिक जमातमा झ्याउरे जस्ता लोक छन्दप्रति विद्वत वर्गले हेर्ने संकिर्ण मानसिकता झल्कन्छ। नेपालको पहाडी लोकजीवनको हावापानी, माटो र जनका नित्य कर्मक्रियामा भिजेको झ्याउरेप्रति त्यस बेलासम्म कसैको नजर नपरेको भन्दै उनी भन्छन्, ‘म जब असाढका पन्ध्रमा अथावा मौकामौकामा यी स्वदेशी गीतका मधुर टुक्रा मधुर लयमा सुन्थेँ, अक्सर साँझमा मलाई मनमा एक किसिमको खेद र उल्लास दुवै पैदा हुन्थे। अफसोस लाग्थ्यो, ती गीतका धेरै टुक्रा यौनभावनाका फोहोरी टुक्राजस्ता सुनिन्थे। साथै खुसी लाग्थ्यो, पालका घाँसी, गोठाला, किसान, बिनापढाइका यति मीठा गीत प्रकृति कविको स्वरुपमा बीचबीचमा चहकिलो तवरले झल्केका देखिन्थे।’
यस्तै भावले आफूले ग्राम्य छन्दको कविता स्वरुपमा झ्याउरेको प्रयोग गरी मुनामदन लेखेको उनको मत छ। तत्कालीन समयमा उनको यो निर्णय जोखिमपूर्ण कदम भएको भन्दै उनले आफूलाई मुनामदन पढेर एउटा बौद्धिक तप्काले ‘झ्याउरे कवि’को उपमा दिएको प्रसंगसमेत लेखेका छन्।
स्वीकारोक्तिमा उनी लेख्छन्, ‘मलाई समाजमा झ्याउरे कवि भन्ने उपाधिले भूषित गराउन लागे जसले त्यस बेला मलाई समेत अलि असजिलो लाग्न थाल्यो।’
मुनामदनको भूमिकामा देवकोटाले त्यसै लेखेका हैनन्-
झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ
जनको प्यारको चन्द्रमालाई कलंक छुनेछ
तर यो हिचकिचाहटलाई उनले विद्रोहमा ढाले र निष्कर्ष पनि निकाले-
युगले अर्को लिनेछ कोल्टो, भावना फिर्नेछ
खुम्चेको दिल फुकेर जालान् अन्धता मर्नेछ
आज नेपाली साहित्यमा मुनामदनको गरिमाका अनेक विशेषतामध्ये लोकबाटै उब्जेको, लोकमै भिजेको झ्याउरे छन्द एउटा प्रमुख कारण बनेको छ। सोझै लोकसँग संवाद गर्ने झ्याउरे लयमा गुनगुनाउन मिल्ने भएकाले मुनामदनलाई साक्षर मात्र नभइ अशिक्षित पाठकमाझ पनि लोकप्रिय बनाइदियो।
देवकोटाले मुनामदनको कथासँगै झ्याउरेप्रतिको आफ्ना दृष्टिकोण पनि पोखे किताबमै-
नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ
कोदाली तालमा हलाको फालमा नाचेर खुल्दछ
देवकोटा प्रयोगवादी र विद्रोही पनि थिए। उनी चलिरहेको धारविपरीत साहसका साथ हिँडे। हेयका साथ हेरिएको लोक छन्द झ्याउरेलाई स्थापित गर्ने दुस्साहस गर्दै लेखे-
झ्याउरे भनी नगर हेला हे प्यारा सज्जन !
नेपाली गेडा नेपाली दाना नेपाली रसले
भिजेको मीठो रसिलो गीत नेपाली कसले
उनको दृष्टिकोण र यसलाई मनपराइदिन उनले गरेको आग्रह नै मुनामदन र देवकोटालाई नै श्रेष्ठ बनाउने आधार बनेको छ आज। उनले लेखे झैं मुनामदन सरल र रसिलो छ। यही सरलता यसको सुन्दरता बनेको छ। जसरी लोकगीतमा ठूल्ठूला जीवन दर्शन अटाउँछन् मुनामदनमा पनि अटाएको छ।
धेरै समीक्षकहरूले मुनामदनमार्फत देवकोटाले झ्याउरेलाई साहित्यिक मान्यता दिलाउन सफल भएको लेखेका छन्। मुनामदनमा सामाजिकताको अर्को उल्लेख्य पक्ष हो यो।
यद्यपी, मुनामदनको कथावस्तु नेवारी लोकगीतिकाव्य ‘जि वया ला लछि मदुनी’सँग मेल खाएको प्रसंग यहाँ सान्दर्भिक छ। यसबारे डा. दयाराम श्रेष्ठ, प्रा. नर्मदेश्वर प्रधान, गणेशबहादुर प्रसाई, माइकल हट आदिले विस्तारमा स्रोत खुलाएरै लेखेकाले काठमाडौंमै जन्मे हुर्केका देवकोटामा नेवार साहित्य र लोक संस्कृतिको प्रभाव पर्नु स्वभाविक मान्न सकिन्छ।
देवकोटाका मुख्य पात्र मदन क्षत्री भए पनि ल्हासा पुग्नु नेवार समाजको ऐतिहासिक व्यापारिक परम्पराको पृष्ठभूमिसँग जोडिएको कुरा स्पष्टै छ।
प्रा. नर्मदेश्वर प्रधान लिखित 'मुनामदन र जि वया लाछि मदुनि गीतिकथा' अनुसार उक्त गीतिकाव्य नेवारी लोकलय सिनाज्या ‘रोपाइँ गीत’ मा आधारित छ।
हामीलाई भोगीराज चाम्लिङ र राजेन्द्र महर्जनको सहयोगमा उपलब्ध उक्त लेखमा प्रधानले लेखेका छन्, ‘ल्हासा व्यापार गर्न जाँदा श्रीमान/श्रीमतीभित्र हुने विरह, विरक्ति विषयमा केन्द्रित पुराना गीतिकथाहरू नेपालभाषामा थुप्रै छन्।’
उनले मुनामदन र ‘जि वया ला लछि मदुनी’ दुवैमा मूल पात्र आमा, छोरा र बुहारी हुनु, छोराहरू व्यापारका लागि ल्हासा जानु, पत्नीहरूले ल्हासा नजान अनुरोध गर्दागर्दै पनि जानु, नायिकाहरूलाई दुःस्वप्न आउनु, नायकको मृत्युबारे नायिकाहरूलाई पतिका साथीहरूबाट सूचना मिल्नु, नायिकाहरूको मृत्यु हुनु, वियोगान्तजस्ता आधारभूत कुरामा समानता भएको उल्लेख गरेका छन्।
यति धेरै समानताका बावजुद मुनामदनमा देवकोटाको लेखकीय चमत्कार र मौलिकताबारे प्रशंसा गर्दै प्रधान निष्कर्ष निकाल्छन्, ‘आधार कथावस्तुबाट प्रभावित भएरै पनि महाकविले मुनामदन खण्डकाव्यलाई ‘जि वया ला लछि मदुनी’ गीतिकथाभन्दा कता हो कता भिन्न, मौलिक, सिर्जनात्मकताले सम्पन्न गरी मुनामदनको कथावस्तुलाई अत्यन्त मार्मिक लयबद्ध संगीतात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ।’
मुनामदनलाई ‘जि वया ला लछि मदुनी’ को प्रेरणास्रोत मान्ने अधिकांश समीक्षकको मत प्रधानसँग मिल्ने खालको छ।
काव्य, नाट्य र गीतितत्व
काव्य तत्व, गीति तत्व, नाट्य तत्व र आख्यान तत्व एउटै कृतिमा पाइनु मुनामदनको खास विशेषता हो। यही विशेषताका कारण साहित्यइतरका कलाका अन्य विधासँग गाँसिएर यसले फराकिलो आयाम पाइरहेको छ। मुनामदनभित्रको सांगीतिक गुणलाई शान्ति ठटालबाहेक अम्बर गुरुङजस्ता दिग्गजले पनि धुनमा उतारे छन्। मुनामदनका पंक्तिहरू नारायणगोपालको सशक्त गायकीमा ढलेपछि यसको मार्मिक कथाले स्रोताहरूलाई थप तरङ्गित पार्यो।
यसको नाट्य तत्वका कारण २०४६ अघिको नाचघर, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान लगायत सरकारी नाटकघरमा प्रदर्शन भएको थियो। किताबमार्फत साइनो गाँसेका पाठकले रङ्गमञ्चमा मुनामदनको कथा हेर्न पाउँदा यति रुचाए कि, नाटक महिनौंसम्म चलिरह्यो।
लामो समय नाटक चल्नुमा संगीत पक्षको भूमिकाबारे जयराज आचार्यले लेखेका छन्, ‘तीन-चार महिनासम्म मुनामदन राष्ट्रिय नाचघरमा चलेको देवकोटाकै शब्दावली र नारायण गोपालको मधुर स्वरले हो।’
मुनामदन यस्तो कृति हो जसले हरेक सांस्कृतिक गतिविधिमा हुने नाटकमा ठाउँ बनाएको छ। स्कुल तहका विद्यार्थीदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले बनाउने नाटकमा मुनामदनको कथा छुट्दैन, बरु दोहोरिइरहन्छ।
मुनामदनकै नाम र कथामा फिल्म पनि बनेको छ। साहित्यिक कृतिमा फिल्म बनाउन चाहिने सुझबुझको अभावका कारण अन्य फिल्म झैं मुनामदन राम्रो बन्न नसके। तथापी किताबको ‘सामाजिकता’ पर्दामा उतार्ने चाहना अझ जीवित देखिन्छ।
२०४६ पछि खुलेका राज्यइतर नाटकघरहरूमा पनि मुनामदनको मञ्चन हुनुले यसको अन्तक्रिया टुटेको छैन। कलाका फरक-फरक विधामा 'एडप्टेसन' गर्न मिल्ने विशेषताका कारण रंगमञ्च, फिल्म, संगीतजस्ता विधाका सर्जकहरू मुनामदनप्रति आकर्षित भइरहन्छन्।
मुनामदनको पुनःउत्पादन, पुनःसिर्जन र पुनःव्याख्यान निरन्तर भइरहेको छ।
विद्यालय, रंगमञ्च, सिनेमा, संगीतजस्ता विभिन्न विधामार्फत प्रवाह हुनु भनेको मुनामदनमा समाहित विचार र जीवनदृष्टिको पुनरुत्पादन हो।
पाठ्यक्रम र संस्थाक्रम
विश्वविद्यालय तहको पाठ्यक्रममै पढाइन्छ मुनामदन। शैक्षिक संस्था यस्तो थलो हो, जहाँ एउटै समयमा लाखौं विद्यार्थीले उही कुरा पढ्छन्। उस्तै काल्पनिकीमा बाँच्ने यो समूहको कल्पनामा मुनामदनको कथाले पार्ने प्रभावको असर गहिरो हुन्छ।
एकै पटक धेरै संख्यामा विद्यार्थीले बर्सेनि पढ्ने भएकाले मुनामदन बिक्री-वितरणमा यसले ठूलो भूमिका खेलेको छ।
प्रकृतिको अद्भूत चित्रण, मानवतावादी दृटिकोण, पारिवारिकदेखि देशीय आदर्श प्रेमजस्ता विषयसँगै देवकोटाले मुनामदनमा एउटा निक्कै महत्वपूर्ण विषयलाई छोएका छन्। त्यो हो— जात।
‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने उनको सोच जातीय विभेदको अमानवीय अभ्यासमा अल्झेको नेपाली समाजमा आजपर्यन्त प्रगतिशील लाग्छ। त्यसैले मुनामदनले कल्पना गरेको छुवाछुतरहित सामाजिक जीवनदृष्टिको समेत पुनरुत्पादन निरन्तर भइरहेको छ।
१९९० दशकको राणाकालीन नेपालमा चम्केका देवकोटामा नेपाली साहित्य र वाङमय समृद्ध बनाउने उत्कट चाहना थियो। यही सोच देवकोटाका कृतिमा पनि झल्कन्छ। आफ्नो समयभन्दा टाढाको समाज देख्ने भएकैले उनले केही यस्ता विषयमा लेखे जसको आयु लामो छ।
नेपाली साहित्यका विशिष्ट प्रतिभा बालकृष्ण समले देवकोटाको प्रशंसामा लेखेका छन्, ‘देवकोटा तीनचोटि जन्मे मुनामदनसित, शाकुन्तलसित र पागलसित।’
भनिन्छ, देवकोटा आफैंलाई पनि सबभन्दा मनपरेको आफ्नो कृति मुनामदन हो जहाँ सामाजिक संघर्ष, अमर प्रम, झ्याउरे लोक लय, छुवाछुतरहित समाज र विलक्षण साहित्यिक सीपको संगम हुन्छ। त्यसैले त यसलाई हरेक किसिमको सांस्कृतिक अभ्यासमा ढाल्ने कोशिश जारी छ।