अभिनेता राजेश हमालको कमब्याक फिल्म 'नरसिंहाः अवतार' शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा छ।
राजेशको ८ वर्षपछिको कमब्याक फिल्म भएकाले पनि यो फिल्मलाई घोषणादेखि नै चासोका साथ हेरिएको थियो।
फिल्मले आक्रामक ओपनिङ गर्ने अपेक्षा थियो। तर शुक्रबार केही हलमा दर्शक अकुपेन्सी राम्रो देखिए पनि समग्रमा माहोल अपेक्षित देखिएन।
वितरक करण श्रेष्ठका अनुसार शुक्रबार बिहानी शोमा ४० प्रतिशत हाराहारी अकुपेन्सी देखिए पनि दिउँसोदेखि साँझका शोमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको थियो। शनिबार भने बिहानी शोबाट फिल्ममा दर्शक अकुपेन्सी सुखद् रह्यो।
शनिबार काठमाडौंमा मात्र नभइ देशभरका हलमा राजेश हमालको क्रेज देखिएको वितरक श्रेष्ठले बताए।
शनिबार अभिनेता राजेश हमाल, सरोज खनाल, राज कटुवाल, अभिनेत्रीहरू नीति शाह, सनिशा भट्टराईसहित फिल्मको टिम दर्शकसँग साक्षात्कार गर्न सिनेमा हलमा पुगेका थिए।
खासगरी राजेश हमाल देशकै धेरै सिट क्षमता भएको हल अष्टनारायण पुग्दा दर्शकले ताली र सिठ्ठीसहित स्वागत गरेका थिए। त्यहाँ राजेशसँग भेट्न र तस्बिर खिच्न दर्शकबीच तछाडमछाड नै चलेको थियो।
राजेशले हलमा स्टेजमा पुगेर फिल्ममा समावेश गीत 'अच्छा लेकिन लण्डनको चिसोले समाउला' मा नृत्य समेत गरेका थिए। त्यहाँबाट फर्किँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीमा राजेशले १० वर्षपछि सिंगल स्क्रिनका दर्शकमाझ पुग्न पाउँदा पुराना दिन ताजा भएको बताएका थिए।
हलमा पुगेका अन्य कलाकारहरूसँग पनि फोटो खिचाउन दर्शक उत्साहित देखिन्थे।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको 'नरसिंहाः अवतार' मा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ। प्रेम, परिवार र बदलाको कथामा रहेर एक्सन जनरामा यो फिल्म बनेको हो।

