काठमाडौंको तीनकुने घटनामा हाजिर जमानीमा रहेका राप्रपाका दुई नेताहरू सम्पर्कमा नरहेको प्रहरीले बताएको छ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसदसमेत रहेका महामन्त्री धवलशम्शेर राणा प्रहरीको सम्पर्कमा नरहेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले गत बिहीबार तीनकुने घटनामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।
सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ६१ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
राप्रपाका नेता मिश्र र राणासहित ५० जनाविरूद्ध राजद्रोह, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको छ। ११ जनाविरूद्ध आपराधिक उपद्रव र संगठपत अपराधमा मुद्दा दर्ता भएको हो।
मुद्दा लैजाँदा प्रहरीले हाजिर जमानीमा राखेका अभियुक्तहरूलाई पनि उपस्थित गराउने गर्छ। तर हाजिर जमानीमा रहेका राप्रपाका नेता मिश्र र राणा अहिले प्रहरीको सम्पर्कभन्दा बाहिर छन्।
गत वैशाख ७ गते सांसद धवल शम्शेर राणा स्वास्थ्य उपचारको लागि हाजिर जमानीमा छुटेका थिए। उनकी श्रीमतीले जिम्मा लिएकी थिइन्।
राणा भारतको मुम्बईमा उपचार गराइसकेर वैशाख १४ गते स्वदेश फर्किसकेका थिए।
यता रवीन्द्र मिश्र भने आफ्नो बयान सकिसकेको र अनुसन्धानमा कुनै पनि प्रमाण खोजी गर्न बाँकी नरहेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
जेठ २ गते सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो।
हाजिर जमानीमा मिश्रको दुई जना वकिलले लिएका थिए। अधिवक्ता श्यामबहादुर शाही र बसन्त ब्लोनको जिम्मामा छाडिएको थियो।
स्रोतका अनुसार रवीन्द्र मिश्र अहिले उनीहरू दुई अधिवक्ताकै सम्पर्कमा छैनन्। त्यसैले उनीहरू अहिले तनावमा छन्।
‘उहाँहरूले जिम्मा लिनुभएको थियो तर अहिले मिश्रजी उहाँहरूकै सम्पर्कमा हुनुहुन्न। त्यसैले तनावमा हुनुहुन्छ,’ स्रोतले भन्यो।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्तासमेत रहेका जिल्ला न्यायाधीवक्ता गोकुलप्रसाद निरौला राप्रपा नेताहरू मिश्र र राणा दुवै सम्पर्कमा नरहेको बताए।
‘उहाँहरू आज मुद्दा दर्ता गर्दा उपस्थित हुनुपर्ने हो, प्रहरीले पनि उपस्थित गराउनुपर्ने हो। प्रहरीले उहाँहरूलाई खोजिरहेको भनेको छ। आज उहाँहरू नआएपछि अब फरारमा कायम रहने भयो,’ उनले भने।
यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले मिश्र र राणा दुवै जना सम्पर्कमा नआएको बताए। ‘मुद्दा लैजाने बेला उहाँहरू सम्पर्कमै आउनु भएन,’ उनले भने।
प्रहरीले मिश्र र राणा सम्पर्कमा नआएपछि जिम्मा लिएका व्यक्तिहरूलाई पत्राचार गरेको छ।
उनीहरू पनि सम्पर्कमा नआएमा कानुनी व्यवस्थाअनुसार नै जरिवाना गर्न सकिने पनि एसपी बोहराले बताए। ‘आज मिश्र र राणा आउनुभएन। हामीले हाजिर जमानीमा बस्नेहरूलाई ५० हजार सम्म जरिवाना गर्न सक्छौं,’ उनले भने, ‘कतिपयको वकिल नै जमानीमा बस्नुभएको छ।’
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को उपदफा ४ अनुसार जरिवाना गर्न सकिने व्यवस्था छ।
‘तोकिएको समयमा त्यस्तो मानिस (जमानीमा छुटेका व्यक्ति) नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ,’ उक्त उपदफामा भनिएको छ।
अहिले सम्पर्कमा नआएपछि प्रहरीले उनीहरूको खोजी गरिरहेको हो।
सेतोपाटीले मिश्रका वकिल श्यामबहादुर शाहीको नम्बरमा फोन सम्पर्क गरेको थियो। तर सम्पर्क हुन सकेन। मिश्रको मोबाइल भने अफ छ। साथै उनका स्वकीय सचिवको फोन पनि अफ छ।
महामन्त्री राणाको मोबाइल पनि अफ छ।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन भएको थियो।
प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु, निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालयमा आगजनी भएको थियो भने भाटभटेनीमा लुटपाट भएको थियो।
सुवेदी नेतृत्वको समितिको सदस्य सचिवमा राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र आन्दोलन परिचालन समितिमा महामन्त्री राणा थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी अदालतबाट अनुमति लिई अनुसन्धान गरेको थियो।
यो पनि: तीनकुने घटनामा ६१ जनाविरूद्ध मुद्दा