हिमाली कथा
सिमेन ला, खोम ला, सेला भञ्ज्याङ, छोइला भञ्ज्याङ र नागन्डा ला।
यी डोल्पाका पाँच ‘पास’ हुन्।
यीमध्ये ‘खोम ला’ पास सबैभन्दा सजिलो मानिन्छ। उनी त्यही पासमा हराइन्।
खुमस भन्ने गाउँबाट साल्दाङ हिँडेकी थिइन्। एउटा अग्लो डाँडोमा पुगेपछि जताततै भीर मात्रै देखिन्। बाटोको डोबसम्म थिएन। पहिले भेटेका मान्छेले करिब ४ घन्टामा साल्दाङ पुगिन्छ भनेका थिए। बिहान ६ बजे हिँडेकी उनी भने दुई बज्दासम्म भीरमै भौंतारिरहिन्।
यो काठमाडौंकी प्रासना डंगोलको उपल्लो डोल्पा पुग्दाको अनुभव हो।
उनी ‘सोलो ट्राभलर्स’ प्रतियोगितामा छनोट भएर एकल यात्रामा निस्किएकी थिइन्। उपल्लो डोल्पा हेर्न र अनुभव गर्न।
डोल्पा सुदूर कर्णालीको सबैभन्दा ठूलो जिल्ला। सडकले अझै छुन नसकेको। जताततै भीरैभिर। त्यही भीरको नियति फ्रान्सेली निर्देशक एरिक भालीको अस्कर मनोनित ‘क्याराभान’ मा देख्न सकिन्छ। दुई वर्षअघि त्यही फिल्मका नायक ‘थिन्ले लोन्डुप’ को निधन भीरबाटै खसेर भएको थियो। भीरले मान्छे खान्छ भन्ने कटु सत्य अहिले पनि कर्णालीको नियति हो।
त्यसैले त यात्रापूर्व परिवारले सम्झाएका थिए, ‘डोल्पा त त्यस्तो ठाउँ हो, जहाँ चामल पनि पाइँदैन रे।’
‘त्यहाँ त होटलहरू पनि छैनन्। फोन पनि लाग्दैन रे। बरु अन्तै गएको भए हुने,’ साथीहरूले सुझाएका थिए।
डोल्पा जानुअघि प्रासनाले त्यो ठाउँबारे जानेसम्म जानकारी लिन नखोजेकी होइन। इन्टरनेटमा खोज्दा पनि कमै मात्र जानकारी भेटेकी थिइन्। जसोतसो पाएसम्मको जानकारी बटुलेर २०७४ साउन महिनातिर उनी उपल्लो डोल्पा यात्रामा निस्किइन्।
‘मान्छेले सुनेको भरमा डोल्पाको धारणा बनाएका थिए। मलाई भने गएपछि नै थाहा हुन्छ भन्ने लाग्यो,’ उनले सेतोपाटीसँगको भेटमा भनिन्, ‘यात्रा गर्न सकिन भने बीचमै फर्किन्छु भन्ने मनस्थितिमा पनि थिएँ। यात्रामा धेरै जिद्दी हुनुहुन्न, आफैंलाई गाह्रो हुन्छ।’
डोल्पाको यात्रा लामो हुनेवाला थियो। उनले तालिका बनाएर हिँडेकी थिइन्। तालिका बनाउन पो सजिलो, टिक्न कहाँ सजिलो छ र!
उनको तालिका दोस्रो दिनमै भताभुंग भयो।
यात्रा तालिका बिग्रँदा धेरै थोक बिग्रने अनुभव उनलाई अरू यात्राले दिएको थियो। यहाँ पनि त्यस्तै भयो।
काठमाडौंबाट रात्रि बस चढेकी उनी दोस्रो दिन जाजरकोटको रिमला पुग्नेवाला रहिछन्। बाटो बिग्रिएकाले तल्लो बगर भन्ने ठाउँमै रोकिनुपर्यो। त्यहाँ उनले होटल पाइनन्।
‘दोस्रो दिनमै केटाहरूसँग रुम सेयर गर्नुपरेको थियो,’ उनले हास्ँदै भनिन्, ‘त्यो कोठा निकै सानो थियो। तीनवटा खाट थिए। तीन जना केटाले दुइटा खाट जोडेर सुते, म एउटामा। हुन त हामी बसमा सँगै यात्रा गरेका थियौं। हेर्दा राम्रै मान्छे देखिन्थे। तर, के हुन्छ हुन्छ, रातभरि डर लागिरह्यो।’
डरै डरमा निदाउँदै, उठ्दै रात बित्यो। बिहानै अर्धनिद्रामा उनी उठिन्। त्यहाँबाट बस समातेर जाजरकोट हानिइन्।
दोस्रो समस्या त्यहीँ फेला परिहाल्यो।
वर्षातको त्यो मौसममा पहिरो जाने क्रम बढेको थियो। उनी पुगेकै दिन एक युवतीको पहिरोमा पुरिएर मृत्यु भएको रहेछ। त्यो खबर सञ्चारमाध्यमबाट फैलिनु नै थियो, फैलियो। त्यसले उनी समस्यामा पर्न सक्थिन्। आमाबाले ती मर्ने केटी उनी नै हुन् कि भन्ठान्लान् भन्ने पिर पर्यो। उनले घरमा सम्पर्क गर्न खोजिन्। फोनको नेटवर्क गायब थियो। दिनभरि सम्पर्क भएन।
उनी जसोतसो पहिरोको विपत्ति छल्दै त्रिपुराकोटको एउटा घरमा राति बास माग्न पुगिन्।
‘बोजु बास पाइन्छ?’ एक बूढी आमालाई देखेर सोधिन्।
रातको बटुवा भगवान! ती आमा बास दिन तयार भइन्।
‘कोठा छ?’ प्रासनाको अर्को प्रश्न।
उत्तर सकारात्मक आयो। भित्र पसेर हेरिन्। कोठाभरि माटैमाटो।
‘ती बोजुको घर पनि त्यहाँ होइन रहेछ। खै के हो रोप्न आएकी रहिछन्,’ उनले भनिन्, ‘त्यो रात मैले घरको दैलोमै सुत्ने निर्णय गरेँ।’
चौथो दिन प्रासना ‘दुनै’ पुगिन्। दुनै डोल्पाको ‘बेस क्याम्प’। होटल, पसल जताततै। ठाउँठाउँमा टेन्ट।
‘काठमाडौंबाट प्लेनमा आउने हो भने एकैदिनमा दुनै पुगिन्छ। मलाई भने त्यही ठाउँ पुग्न चार दिन लागेको थियो,’ उनले भनिन्, ‘यसो सोच्दा चार दिन बेकार खेर फालेजस्तो पनि लाग्यो। तर त्यसपछिको यात्रामा केही सजिलो भयो?’
‘कसरी सजिलो भयो?’
प्रासनाकाअनुसार सबैलाई यात्राको पहिलो दिन कष्टकर लाग्छ। धेरै हिँड्दा खुट्टा दुख्छन्। झोला भारी हुन्छ। केही दिनपछि बानी पर्छ। भारी पनि बोकिरहँदा हल्का महशुस हुन्छ। शरीर पनि थेग्ने भइदिन्छ।
उनलाई सजिलो हुनुको अर्को कारण राति बास मिलेकाले पनि हो।
‘म हिँडेकै बाटो चिनेका केही दाइहरू गएका थिए। म आउने खबर त्यहाँका स्कुलमा गर्न आग्रह गरेको थिएँ,’ उनले भनिन्, ‘ती दाइहरूले स्कुलमा खबर गरिदिनु भएको रहेछ। एकठाउँ इन्टरनेट चलेको थियो। ती दाइले खबर गरिदिएको छु भनेर म्यासेज गर्नुभएको रहेछ। बाटोमा भेटिएका स्कुलमा राति बास बस्न सजिलो भयो।’
‘हुन त म बाटोमा होटलहरू पाइन्न भनेरै हिँडेको थिएँ। कुनै ठाउँ त १७, १८ घन्टा हिँड्नुपर्छ भनेर दाइहरूले भन्नुभएकाले टेन्ट पनि बोकेको थिएँ। तर म कुनैबेला छिटोछिटो अनि धेरै हिँडिदिन्थेँ। त्यसैले टेन्ट नै हालेर बस्न परेन,’ उनले भनिन्।
यात्रा क्रममा उनले करिब १७ किलोसामान बोकेकी रहिछन्। दुनै कट्दा भारी करिब १५ किलोमा झरेको थियो। त्यहाँ उनले करिब २ किलोजस्तो सामान छोडिछन्।
‘घरबाट निस्कने बेला यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ जस्तो। पछि त्यही एउटा सानो साबुनले पनि झोला गह्रौं बनाएजस्तो हुने। टुथपेस्ट पनि किन सानो नबोकेर ठूलो बोकेँ भन्ने लाग्ने,’ उनले भनिन्, ‘जहाँ जान्छु त्यहीँको मान्छेसँग टुथपेस्ट, साबुन भइहाल्छ नि भनेर छाडेँ। मल्टिप्लकहरू पनि धेरै बोकेको थिएँ। खानलाई प्रोटिन पाउडरहरू थिएँ। रुमाल पनि दुइटा बोकेको थिएँ। ती सबै छाडेँ।’
उपल्लो डोल्पाका लागि ‘धो तरप’ भन्ने ठाउँबाट पहिलो पास सुरु हुन्छ। प्रासनाका अनुसार यो ठाउँ डोल्पाकै अग्लो स्थानमा परे पनि उब्जाउ क्षेत्र भनी चिनिन्छ। त्यहाँका स्कुल पनि राम्रा छन्। त्यो पास पार गर्न उनलाई १६ घन्टा लागेछ।
यी सबै अप्ठ्यारो, सजिलो, रमाइलो अनि नरमाइलो अनुभवपछि उनी त्यो पासमा पुगेकी थिइन्, जहाँ उनी हराइन्– ‘खोम ला’ पास।
‘तपाईं हराएर रुनुभएको ठाउँ त्यही हो?’ युट्युबमा सार्वजनिक एक भिडियोका आधारमा हामीले सोध्यौं।
‘ला! भिडियो हेरेर आउनुभएको हो?’ उनी लाजले राति भइन्। अनि उक्त भीरमा हराएको अनुभव सुनाउन थालिन्।
‘त्यहाँ गाई, खच्चडका फुटप्रिन्ट त थिए। तर, सबैतिर। बाटो हो जस्तो पनि देख्छ, होइन जस्तो पनि,’ उनले भनिन्, ‘त्यो डाडाँमा धेरै डिल थिए। त्यही होला भनेर एउटा डिलको बाटो हुँदै हिँडेँ। तलसम्म पुगेको त बाटो नै टुंगियो। अनि फेरि माथि फर्किनुपर्यो। त्यो बाटो यति नराम्रो अनि चिप्लो थियो, माथि पुग्नै एक घन्टा लाग्यो।’
फेरि जहाँको त्यहीँ। अर्को बाटो समातिन्। ढुक्कैले अघि बढ्नि। होइन रहेछ। चारपटक यसरी ओहोरदोहोर गर्दा पनि सही बाटो खुट्टयाउन सकिन्। अलमल्ल बसिरहिन्।
यसैबीच प्रासनाको सम्पर्क ‘सोलो ट्राभलर्स’ का आयोजकसँग भइरहेको थियो। उनका अनुसार स्याटलाइट फोनबाट कुरा गर्नै एक मिनेटको करिब ३० डलर खर्च हुन्थ्यो। उनी सकभर आफू कहाँ छु भन्ने सन्देश मात्र पठाउँथिन्।
‘तिमीले बाटो भेटेनौ भने तिम्रो देबे्र साइडमा एउटा बाटो छ। त्यो बाटोले अर्को गाउँ लग्छ। कसैगरी बाटो भेटाएनौ भने त्यही बाटो पहिलाउँदै जाऊ,’ आयोजकको सुझाव उनले हामीलाई बताइन्।
त्यति बेला उनी भीरबाट बाटो पहिल्याउँदै तल पुगेकी थिइन्। तलबाट माथि आउने क्रममा डिलबाट बाटो काट्छु भन्दाभन्दै त्यहीँ अड्किइन्। उनलाई लाग्यो झोला गह्रुँगो भएकाले चिप्लने डर हुन्छ। झोलाको ‘लक’ खोलिन्। लक खोल्दा बोतल फुत्कियो। गुल्टिँदै खस्यो।
‘बोतलको साटो म खसेको भए? के हुन्थ्यो मेरो हालत? आङ नै सिरिंग भो,’ उनले भनिन्, ‘बल्लबल्ल म माथि आएँ। सुरुकै विन्दुमा।’
‘कोही छ भनेर चिच्याएँ। आफ्नै इको मात्रै फर्कियो। त्यही बेला हो म रोएको,’ उनले हाँस्दै भनिन्।
त्यो भीरमा उनले केही बेर आराम गरिन्। यताउता हेरिन्। पारि अर्को डाडाँमा मसिनो धर्सोजस्तो लस्कर देखिन्। घन्टीको आवाज पनि सुनिन्। उनलाई मान्छेकै हुल हो कि भन्ने लाग्यो। त्यही पहिल्याउँदै हिँडिन्।
‘मान्छे भनेको त भेंडैभेंडा,’ उनले भनिन्, ‘बिहानदेखि मान्छे नदेखेको, मान्छे खोज्दै हिँडेको थिएँ। कहिलेकाहीँ हामीले जे सोच्यौ त्यही देख्छौं नि। त्यस्तै भएको थियो।’
‘तै पनि भेडा भएपछि कोही मान्छे त आइहाल्लान् भनेर कुरेर बसेँ,’ उनले भनिन्, ‘एउटा बोजु बेलुकीतिर आउनुभयो।’
यो पासले प्रासनालाई एउटा पाठ सिकाएछ, ‘जे जस्तो सजिलो भए पनि आफू पूर्ण तयार हुनुपर्छ, विकल्प राखेर मात्र हिँड्नुपर्छ।’
ती बोजुलाई भेटेपछि उनी साल्दाङ पुग्ने बाटो सोध्न चाहन्थिन्। तर बोल्नै सकिनन्। आखाँबाट आशुँमात्रै खसिरहे।
बिहानदेखि हिँडेकी उनी भोक र तिर्खाले लखतरान थिइन्। भोकभन्दा पहिले तिर्खा मेट्नु थियो।
‘पानी पाइन्छ बोजु?’
ती आमाले ‘छैन’ भनिन्। ‘घ्यू चिया छ, खाने?’ आमाले सोधिन्।
पानीको तिर्खा घ्यू चियाले कहाँ मेटिनु!
‘नजिकै एउटा पोखरी देखेको थिएँ। त्यहीँको पानी खान्छु भन्ने सोचेँ। पानी हेर्न जाँदा निकै धमिलो थियो,’ उनले भनिन्, ‘अनि एक ठाउँमा मसिनो पानी बगिरहेको थियो। मैले त्यही पानी थोपाथोपा जम्मा गरेर खाएँ। त्यसपछि बोजुले दिनुभएको घ्यू चिया र रोटी खाएँ।’
प्रासनाले ११ दिनको एकल यात्रा पार गरिसकेकी थिइन्। आधा यात्रा बाँकी थियो। त्यसपछिको यात्रा भने निकै रमाइलो भएको उनले बताइन्।
साल्दाङ पुग्दा उनी स्कुलमै बसिन्। शिक्षकहरूलाई हराएको अनुभव सुनाइन्।
‘म हराएको सुन्दा टिचरहरूले राम्रो व्यवहार गर्नुभयो। कत्ति दिनपछि राम्ररी खान पाएँ,’ उनले भनिन्, ‘त्यत्रो यात्रामा पहिलोपटक अन्डा खान पायो। प्याकिङ गरेको चाइनिज चाउचाउ, चकलेट, कोकहरू पेटभरि, मनभरि खाएँ। एउटा सर यार्सा बेच्न तिब्बत जानुभएको रहेछ। उहाँले नै चाइनाबाट ल्याउनुभएको।’
साल्दाङ कटेपछि थप दुइटा पास थिए। ‘सोलो ट्राभलर्स’ प्रतियोगितामा छनोट हुँदा उनले भोट दिनेको नाम लेखेर एउटा पासमा बाँध्छु भनेकी रहिछन्। जतिसक्दो मान्छेको नाम खादामा लेखेर लगेकी थिइन्।
‘सबैको नाम त लेख्न भ्याएको थिइनँ। तै बाचाअनुसार त्यसपछिको पासमा आफूले ल्याएको खादा बाँधिदिएँ,’ उनले भनिन्।
तिब्बतनजिक भएकाले डोल्पाका मान्छे तिब्बती भाषा बोल्थे। नेपाली कम बोल्थे, बुझ्थे। भाषाले समस्या भने भएन। उनीहरूले ‘सन्चै छ?’, ‘खाने हो?’ लगायत स–साना शब्द मात्रै बोल्ने गरेको प्रासनाले बताइन्।
‘हुँदा हुँदा त्यति लामो यात्रामा मेरो उच्चारण पनि तिब्बतीजस्तै भएको महशुस गर्न थालेको थिएँ,’ उनले भनिन्, ‘केही तिब्बती शब्द पनि सिकेँ। धन्यवादलाई ‘होट्चे’, नमस्तेलाई ‘लास्सो’ भन्न जानिसकेको थिएँ।’
प्रासनाका अनुसार यात्रामा हुन सक्ने अर्को कुरा हो– संयोग।
आयोजक ‘सोलो ट्राभलर्स’ ले ‘से गुम्पा’ भन्ने ठाउँमा ‘क्रिस्टल माउन्टेन’ कोरा गरिन्छ भनेको थियो। त्यही समय पारेर जानू भनेर सुझाएको थियो। उनको भने समय मिलिरहेको थिएन। पछि उनले कोराको कुरा बिर्सिन्। संयोग कस्तो रह्यो भने, उनी जुन दिन पुगिन्, कोरा त्यसैको भोलिपल्ट रहेछ।
उनले पनि ‘क्रिस्टल माउन्टेन’ कोरा गरिन्। त्यहीँ अर्को संयोगसँग उनको जम्काभेट भयो।
‘म जानु केही साताअघि सोलो ट्राभलर्सको एउटा दाइ डोल्पा जानुभएको थियो। मैले बाटामा भेटेका मान्छेलाई उहाँका बारेमा सोधेको थिएँ। धेरैले ‘आउनु त भएको थियो, कति टाढा पुग्नुभयो थाहा छैन’ भन्थे,’ उनले सम्झिइन्।
त्यही रात उनी आफ्नो टेन्टमा ढल्किएर बसिरहेकी थिइन्। बाहिर तिब्बती भाषामा मसिनो कल्याङमल्याङ सुन्दै थिइन्। त्यही नबुझिने कल्याङमल्याङबीच प्रस्ट नेपाली बोली उनको कानमा ठोक्कियो। उनका कान ठाडा भए।
जुरुक्क उठिन्। बाहिर निस्केर हेरिन्। उही दाइ रहेछ। साथमा डोल्पाका एक शिक्षक।
बाँकी रहेको एउटा पास प्रासनाले उनीहरूसँगै काटिन्। ‘से फोकसोन्डो’ तालसम्म उनीहरू सँगसँगै हिँडे। त्यसपछि छुट्टिए।
फर्कंदा ‘जुफाल’ भन्ने ठाउँबाट उनी जहाज चढेर काठमाडौं फर्किइन्।
प्रासनाका अनुसार उपल्लो डोल्पा त्यस्तो क्षेत्र हो, जहाँ अरू पैदलमार्गजस्तो संकेत चिह्नहरू छैन्। कुनै पास त यति लामो छ, पार गर्नै दिनभरि लाग्छ। यात्रामा मान्छे कम भेटिन्छन्। लेकमा हराउने सम्भावना धेरै हुन्छ। यस्तो बेला जति पनि मान्छे बाटामा भेटिन्छन्, तिनलाई सोध्दै हिँड्नुपर्ने उनी बताउँछिन्।
‘एक–दुई जनालाई होइन, जति पनि मान्छे भेट्नु हुन्छ, सोध्नुहोस्। एउटालाई १ घन्टा लाग्ने बाटो अर्कोलाई २ घन्टा लाग्न सक्छ। धेरैलाई सोधेर मात्र आफ्नो समय तालिका र सही दिशा खुट्टयाउन सकिन्छ,’ उनले भनिन्।
एकल यात्रा चुनौतीपूर्ण। त्यसमाथि महिलालाई झनै चुनौतीपूर्ण। सायद त्यही भएर, उनले यात्रा क्रममा आफूलाई कहिल्यै एक्लै सम्झिनन्। आफ्नो सुरक्षा निम्ति बाटोमा भेटेका नचिनेका मान्छेलाई आफू समूहमा आएको बताउँथिन्।
‘साथीहरू यतै कतै छन्,’ भन्थिन्, ‘कुरिरहेका होलान्।’
यसो भन्दा यात्रामा आत्मबल बढ्ने उनको अनुभव छ।
‘मैले डोल्पाजस्तो विकट ठाउँ रोजे। त्यहीँ जानुपर्छ भन्ने छैन। तर, तपाईं घरबाट कतै एक्लै निस्कनुभएको छैन भने नजिकै कफीसपमा एकलै जान सक्नु पनि ठूलो कुरा हो। नभए एक्लै फिल्म नै हेर्नु जानुस्,’ उनले भनिन्, ‘यात्रा गर्ने भए मार्दी, लाङटाङ, मुस्ताङ लगायत सजिला ठाउँ थुप्रै छन्। सुरुमै ठूलो ठाउँ आँट्नुहुन्न।’
यो एकल यात्राले प्रासनालाई धेरैथोक सिकायो– अतेसलाग्दो दुरी, दुरी छिचोल्ने बाटो, बाटो काट्दाको सकस, सकस झेल्ने साहस, साहसले पुर्याउने गन्तव्य र गन्तव्य पुग्दाको खुसी।
यी यस्ता पाठ हुन्, जसले कुनै पनि यात्रामा पाइला डगमगाउन दिँदैन– जिन्दगीकै यात्रामा पनि।
२३ दिनपछि घर फिर्दा हजुरआमाको चम्किलो आँखा उनी अझै झल्झल्ती सम्झन्छिन्। भन्छिन्, ‘बोजु (हजुरआमा) म गएदेखि मेरो नाममा दियो बालेर तेल थप्दै बस्नुभएको रहेछ।’
यही यात्राको सन्दर्भ बोकेर प्रासनाले ‘डोल्पा डायरी’ नामक वृत्तचित्र तयार पारेकी छन्। मंसिर २१ बाट सुरु हुने काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा त्यो प्रदर्शन गरिँदैछ। २० मिनेटको उनको वृत्तचित्र पहिलो दिनमै देखाइनेछ।
‘यात्रा क्रममा डकुमेन्ट्री बनाउने सोच कसरी आयो?’
प्रासना आफ्नो शैक्षिक पृष्ठभूमितर्फ फर्किइन्। प्रासनाले बेलायतमा ‘फिल्म मेकिङ’ पढेकी हुन्। जहाँ जाँदा पनि उनलाई भिडियो खिच्ने सोच आइहाल्छ। यसअघि उनले विभिन्न प्रोजेक्टमा काम गरेकी थिइन्। अघिल्लोपटकको किम्फमा पनि उनको वृत्तचित्र प्रदर्शन भएको रहेछ, ‘स्ट्रगल इन के–पप’। नेपालमा रहेको केरियन नृत्य समूह ‘स्ट्रक पप’ बारे उनले उक्त वृत्तचित्र बनाएकी थिइन्।
‘डोल्पा डायरीका लागि एक्लैले भिडियो कसरी खिच्नुभयो?’
उनीसँग घरमा क्यामरा थियो। बोक्न गाह्रो भएकाले सजिलोका लागि मोबाइल प्रयोग गर्ने सोच बनाएर हिँडेकी रहिछन्। ब्याट्री चार्ज गर्न सोलार चार्जर बोकेकी थिइन्। सानो मिनी ‘ट्राइपोड’ पनि।
‘सेल्फी खिच्न गाह्रो भएन। कुनै ठाउँमा राखेर खिच्न भने गाह्रो भयो। हिँडेजस्तो गर्यो, अनि फेरि आएर क्यामरा निभायो,’ उनले भनिन्, ‘अलिकति गाह्रो भयो। तर, नयाँ अनुभव पनि भयो।’
यात्रामा खिच्दै हिँड्दा वरिपरिका दृश्यावलोकन गर्न भने छुटेको उनको अनुभव छ। भिडियो खिच्दै हिँड्दा यात्रा पनि केही लम्बिने उनी बताउँछिन्।
यति हुँदाहुँदै हामीले आफ्नै फोनबाट डकुमेन्ट्री खिच्न सक्ने उनको सल्लाह छ।
‘डकुमेन्ट्री भनेको राम्रो गुणस्तरको फुटेज मात्रै होइन। त्यहाँभित्रको कथा पनि हो। त्यो कत्ति राम्रो छ भन्ने पनि हुन्छ। धेरैले राम्रो क्यामरा छैन, डकुमेन्ट्री बनाउने ज्ञान छैन भनेर बनाउनै खोज्नुहुन्न,’ उनले भनिन्, ‘सोच्नुस् त। तपाईं सानो हुँदाको तस्बिर। नराम्रो गुणस्तरको भए पनि तपाईंलाई जहिल्यै सम्झँदा राम्रो लाग्छ। डकुमेन्ट्री पनि त्यस्तै हो। त्यहाँका कथा बढी महत्वपूर्ण हुन्छन्।’
वृत्तचित्र निर्माणमा क्यामराभन्दा कथालाई बढी ध्यान दिनुपर्ने उनको सुझाव छ।
‘मैले सक्छु भने तपाईंले पनि सक्नुहुन्छ,’ उनले भनिन्।
यो पनि हेर्नुहोस्: