दाङको तुलसीपुर उपमहानगरपालिका–१८, बर्लेनीमा ४५ बिघा क्षेत्रफलको एउटा बगैंचा छ जहाँ आँपका दुई हजार बोट छन्। यो बगैंचा पश्चिम नेपालमा एकै चाक्लाको सबैभन्दा ठूलो मानिन्छ।
सिंगो बगैंचा तारबार गरिएको छ। बगैंचामा दूधे दसहरी, मालदह, कपुरी, चौंसा लगायत स्थानीय जातका आँप छन्।
यो जमिन नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय, बेलझुण्डीको हो। दुई दशकअघि माधवराज गौतम उपकुलपति रहेको समयमा विश्वविद्यालयले नै यो बगैंचा बनाएको हो।
पाँच वर्षअघि यो बगैंचा स्थानीयवासी ३८ वर्षीय शंकर नेपाली भाडामा लिएका छन्। उनी विश्वविद्यालयलाई वार्षिक २० लाख रूपैयाँ बुझाउँछन्।
'तीस वर्षका लागि भाडामा लिएको हुँ। दस वर्षमा सम्झौता नवीकरण गर्ने सहमति छ,' शंकरले भने।
यति बेला बगैंचामा आँप टिप्न धमाधम छ। दैनिक करिब ७० जनाले आँप टिपेको १५ दिन भयो। यस बीचमा दुई–तीन दिन सय जनाले टिपे।
बगैंचामा दुई ठाउँमा आँप जम्मा गर्ने व्यवस्था छ। त्यहीँ ढाकी (क्रेट) मा राखेर प्याकिङ गरिन्छ। यो आँप दाङ, सल्यान, रूकुम, रोल्पा, प्युठानतिर पुग्छ। ठूला सहरहरू बुटवल, पोखरा, नारायणघाट र काठमाडौंसम्म पनि पुग्छ।
'बिक्री नहुने समस्या छैन, बगैंचाबाटै बिक्छ। तर भारतीय आँपका कारण मूल्य सन्तोषजनक हुँदैन,' उनले भने।
शंकर नेपाली

पहिले शंकर आफ्नो बगैंचामा आउने व्यापारीलाई उनीहरूको माग अनुसार आँप दिन्थे। यसरी आउनेहरू थोक व्यापारी हुन्थे। एकै दिन पाँच सय जनासम्म व्यापारी आउँथे।
यस वर्ष भने उनले त्यसरी बेचेनन्। सिंगो आँप बगैंचा नै घोराहीका व्यापारी बद्रुदिन राईलाई ३० लाख रूपैयाँमा बेचेका छन्।
'यही मूल्यमा अर्को एक वर्ष पनि बद्रुदिनले नै सबै आँप उठाउने छन्,' शंकरले भने।
घोराहीमा 'बिडिआर सप्लायर्स' कम्पनी चलाइरहेका बद्रुदिनका अनुसार मौकामा राम्रो वर्षा नभएकाले तुलनात्मक रूपमा आँप सानो भयो। दुई हजार बोटमध्ये १५ सय बोटको आँप महँगोमा बिक्ने खालको छ। बाँकी बोटमा सानो दाना छ।
गत सातासम्म करिब पाँच सय क्विन्टल (५० हजार किलो) बेचिसकेको उनले बताए।
'अब ५० क्विन्टल जति बाँकी छ। धेरैजसो आँप साउनमा पाक्ने चौंसा जातको छ,' उनले भने।
उनी आँपको जात अनुसार थोक मूल्य प्रतिकिलो ५० रूपैयाँदेखि ८० रूपैयाँसम्म बेच्छन्।
नेपाली आँपको मूल्य भारतीय आँप आपूर्तिमा पनि भर पर्छ। भारतबाट बढी आउँदा नेपाली आँपको मूल्य कम हुन्छ।
बगैंचाका चौकीदार वीरमणि नेपालीका अनुसार ४५ बिघा बगैंचा एक चक्कर लगाउन कम्तीमा एक घन्टा लाग्छ। बगैंचाको सुरक्षाका लागि ६ जना चौकीदार छन्, दिउँसो दुई जना र राति चार जनाले सुरक्षा दिन्छन्। चौकीदारहरू साथमा कुकुर लिएर हिँड्छन्।
बद्रुदिन राई

शंकरले अम्बिकेश्वरी बहुउद्देश्यीय कृषि अनुसन्धान केन्द्र प्रालि नामको कम्पनी चलाएका छन्। उनले यही कम्पनीका नाममा २०७० कात्तिकदेखि आँप बगैंचा भाडामा लिएका हुन्।
शंकरले बगैंचा परिसरमा गाई, भैंसी, बाख्रा, लोकल कुखुरा र टर्की पालेका छन्। यो सबै व्यावसायिक स्तरमा छ। भैंसी २५ वटा, गाई १५ वटा र ८० वटा हाराहारी खसीबाख्रा रहेको उनले बताए। हाल उनी दैनिक ७० लिटरसम्म दूध बेच्दै छन्।
उनले बगैंचा परिसरमै करिब पाँच बिघा जमिनमा व्यावसायिक तरकारी खेती गरेका छन्।
त्यस्तै ४५ बिघाभित्रै मेवाको बगैंचा पनि बनाएका छन्। गत वर्ष रोपेका 'रेड लेडी' जातका पाँच सय बोट मेवामा फल लाग्न थालेको छ। भारतबाट बिरूवा ल्याएर परीक्षणका रूपमा रोपेका भए पनि राम्ररी हुर्केर फल लागेपछि शंकर निकै उत्साहित भएका छन्।
'पाँच हजार बोटको मेवा बगैंचा बनाउने योजना छ,' शंकरले भने, 'आउने वर्ष आँपको नर्सरी पनि बनाउने योजना छ। आँपको अचार र जुस उत्पादन गर्ने सोचेको छु।'
बृहत् स्तरमा कृषिकर्म गर्ने उद्देश्यका साथ कम्पनी दर्ता गरेर आफू अघि बढेको शंकरको भनाइ छ।
'युवाहरू कृषि पेसामा आउनुपर्छ र व्यावसायिक ढंगले काम गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको छु,' उनले भने, 'देशमा जमिन बाँझै रहने र युवा जनशक्ति कमको खाजीमा विदेश जाने क्रम रोकिनुपर्छ। कृषि व्यवसायमा राज्य सहयोगी हुनुपर्छ।'


उनका परिवारका सदस्यहरू बगैंचामै समय बिताउँछन्। एक छोरी अमेरिकामा पढ्दै छिन्, छोरा साथमै छन्।
आफू व्यक्तिगत रूपमा योजनाअनुरूप ठिकै ढंगले अघि बढेको भए पनि कृषिमा राज्यको सहयोग अत्यन्तै न्यून रहेको उनको ठहर छ।
कम्पनीमार्फत कृषिको काम गरे पनि राज्यका निकायबाट कुनै किसिमको अनुदान प्राप्त नगरेको उनले बताए। नेपालमा आँपमा प्रयोग गर्ने कीटनाशक विषादी समेत नपाएको उनी बताउँछन्।
शंकर बगैंचा परिसरमा रेस्टुरेन्ट चलाउने र प्राकृतिक वातावरणमा रमाउने व्यवस्था मिलाउने योजनामा पनि छन्।
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय, बेलझुण्डीको कार्यालय परिसर र तुलसीपुर उपमहानगरपालिका– १७ जिन्वा गाउँमा पनि पाँच बिघामा आँप बगैंचा छ। यहाँको ठेक्का भने घोराहीका वाइत अलीले वार्षिक ७ लाख ५ हजार रूपैयाँमा लिएका छन्।
बर्लेनीको बगैंचा लामो समयका लागि शंकरले ठेक्कामा लिए पनि केन्द्रीय कार्यालय परिसर र जिन्वा गाउँको बगैंचा बर्सेनि फरक फरक व्यक्तिले लिँदै आएका छन्।







