राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले प्रधानमन्त्री गएको स्पेनको कार्यक्रममा पुगेका नेपाली नफर्किएकोबारे आफैले प्रतिनिधि सभामा राखेका कुराबारे प्रष्टीकरण दिएकी छन्।
गौतमले मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री गएको स्पेनको कार्यक्रममा समेत भिजिट भिसामा नेपालीहरू गएर नफर्किएको भन्ने अभिव्यक्ति दिएकी थिइन्।
उनको अभिव्यक्ति विवादमा परेको थियो। सत्ता पक्षका सांसदहरूले उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए। त्यसबारे उनले आजको प्रतिनिधसभा बैठकमा प्रष्टीकरण दिएकी हुन्।
‘प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ। मेरो भनाइ रेकर्डबाट किन हटाउने? सांसदहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्ने त होइन होला नि, मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन। जसको समस्या हो उसैको उपचार गरियोस्,’ उनले भनिन्।
आफूले बोलेका कुराको सम्पूर्ण जिम्मेवारी लिने पनि उनले बताइन्।
‘यो कुरा साँचो हो प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो। तर यो पनि सत्य हो नि सयौं नेपाली कार्यक्रमको बाहनामा गएर फर्किएका छैनन्। र, उतै बसेका छन्। प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै नै ठूलो कार्यक्रम हो। दसौं हजार मानिसहरू सहभागी हुने कार्यक्रम हो। सयौं एनजिओहरूका साइट इभेन्टहरू पनि हुन्छन्। नेपालबाट सयौं मानिसहरू सहभागी हुन गएको पनि साँचो हो। केही नफर्किएको पनि साँचो हो। फेक डकुमेन्ट बनाएर कार्यक्रममा लैजान भिसा लगाइयो,’ उनले भनिन्।