काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को सोहौं संस्करण मंसिर २१ देखि २५ गतेसम्म हुँदैछ। चार वर्षयता कुमारी हलमा हुँदै आएको फेस्टिभल पुनः राष्ट्रिय सभागृहमा हुने आयोजकले जनाएको छ।
आइतबार भएको प्रेस सम्मेलनमा किम्फका अध्यक्ष वसन्त थापाले पुरानै ठाउँमा फर्कन पाएकोमा खुसी व्यक्त गरे।
‘१८ औं सार्क सम्मेलनका कारण राष्ट्रिय सभागृहबाट किम्फ कुमारी हलमा सरेको थियो। पछि विवाद र पुनर्निर्माणले त्यहाँ हुन सकेन्,’ उनले भने, ‘फेरि सभागृहमा फर्कन पाउँदा खुसी छौं। त्यो ठाउँ सबैका लागि सहज पनि छ।’
‘वुमन मुभ माउन्टेन’ नारासहितको यो महोत्सवमा यस वर्ष काठमाडौं महानगरपालिका पनि सह–आयोजक छ। महोत्सवमा ३१ देशका ७० भन्दा बढी फिल्म देखाइनेछन्। समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउनु उद्देश्य रहेको महोत्सव निर्देशक रम्यता लिम्बुले बताइन्।
किम्फको उद्घाटन पनि अष्ट्रेलियाकी महिला जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’ बाट हुनेछ। फिल्ममा पर्वतको सौन्दर्य, रहस्य र अद्भूत शक्ति प्रस्तुत गरिनेछ।
महोत्सवमा नेपाली ट्राभ्लर्ससँग मिलेर ‘ट्राभेल इज एन अटिच्युड’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता गरिँदैछ। जसमा ३५ वर्षका युवाहरू सहभागी हुन पाउनेछन्।
पाँच दिन लामो महोत्सवमा जुरीले अन्तराष्ट्रिय प्रतिस्पर्धामा रहेका १४ फिल्म र नेपाली पानोरमाअन्तर्गतका २० मध्ये ३-३ वटा वृत्तचित्र र कथानक चलचित्र चयन गर्नेछन्।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः १५ सय, एक हजार र पाँच सय अमेरिकी डलर दिइनेछ। त्यस्तै नेपाली पानोरामाअन्तर्गत वृत्तचित्र र कथानक चलचित्र विधामा उत्कृष्ट घोषित हुने दुई फिल्मले क्रमश: एक लाख र ७५ हजार रुपैयाँ पाउनेछन्।
उत्कृष्ट पर्वतीय फिल्मलाई एक हजार अमेरिकी डलर, उत्कृष्ट साहसिक फिल्मलाई एक हजार अमेरिकी डलर र दर्शक भोटमार्फत उत्कृष्ट ‘अडियन्स अवार्ड’मा परेको फिल्मलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ।
महोत्सवमा फिल्म प्रदर्शनबाहेक छलफल, संवाद, व्याख्यान, फोटो प्रदर्शनी पनि हुने आयोजकले जनाएको छ। यसअन्तर्गत अस्ट्रेलियन फिल्मकर्मी जेनिफर पिडम र नेपाली फिल्मकर्मी केसाङ छेतेनद्वारा संयुक्त रूपमा ‘मास्टर क्लास’ सञ्चालन हुनेछ। त्यस्तै, ‘किम्फ डक लाइभ पिच’ र ‘वुमन इन फिल्म एन्ड फेस्टिभल’ विषयमा कार्यशाला हुनेछ।
पौलोमी बासुको ‘ब्लड स्पिक्स अ रिच्युएल अफ एक्जाइल’ र उमा विष्टको ‘आइ एम प्योर’ शीर्षकमा फोटोहरू पनि राखिनेछन्।