एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी ) को दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने भएको छ।
पोखराको कर्भड हलमा लिगको आयोजनालाई राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति प्राप्त भएको आयोजकले जनाएको छ। यसको जानकारी नेपाल भलिबल संघलाई गराइएको छ।
पोखरामा भलिबलप्रतिको उत्साह, सक्रिय खेलसंस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको आयोजकको भनाइ छ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा ५४ स्वदेशी र १८ विदेशी खेलाडीको सहभागिता रहनेछ।
स्वदेशी खेलाडीका लागि यसअघि नै अक्सन सम्पन्न भइसकेको छ। सहभागी टोलीले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अघि बढाइसकेका छन्।
इडब्लुभीको आधिकारिक मनोरञ्जन साझेदारका रूपमा टिक टक रहेको छ । जसले लिगको प्रचार–प्रसार, दर्शकको सहभागिता एवम् खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रसारण गर्नेछ।