ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ ।
पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले दोस्रो संस्करणको लागि मंगलबार सम्झौता नवीकरण गरेको हो । ललितपुर क्विन्सको कार्यालयमा भएको कार्यक्रममा क्विन्सका महाप्रबन्धक उत्सव शाक्य र रुप्से होलिडेजका बिजनेस डेभलपमेन्ट प्रमुख भुवन बस्नेत बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता दौरान ललितपुर क्विन्सको महिला सशक्तिकरणको योजनालाई साथ दिन पाउँदा रुप्से होलिडेज खुसी रहेको बस्नेत बताए । 'महिला भलिबल खेलको विस्तार र खेलकुदमा महिला सशक्तिकरणको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिगमा सहभागिता जनाउदै आएको छ । यस कार्यमा हामी ललितपुरलाई समर्थन गर्न पाउँदा खुसी छौ," बस्नेतले भने ।
"यसपटक स्वदेशी र विदेशी खेलाडीहरूको राम्रो संयोजन भएकोले गत संस्करणको भन्दा टोली बलियो रहेको छ र नतिजा उत्कृष्ट हुन्छ भन्नेमा हामी विश्वस्त छौ, ललितपुर क्विन्सलाई जितको शुभकामना," बस्नेतले थपे ।
ललितपुर क्विन्समाथि पुन: विश्वास गरेर मुख्य प्रायोजकको रुपमा टोलीसँग जोडिनु भएकोमा शाक्यले रुप्से होलिडेज धन्यवाद व्यक्त गरे । 'हामीलाई निरन्तर विश्वास फेरी एक पटक हामीलाई साथ दिनु भएकोमा रुप्से होलिडेज प्रति हामी आभारी छौं,' शाक्यले भने ।
घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो । ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ ।
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।