मधेश स्पोटर्स प्रालिको आयोजनामा पोखरामा हुन लागेको वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा अनावरण गरिएको छ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाईटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफीको अनावरण गरे । सो अवसरमा मेयर सिंहले लिगको फ्रेन्चाइज टिम मधेश युनाईटेडको नयाँ जर्सी सार्वजनिक गर्नुका साथै टिमकी मार्की प्लेयर निरुता ठगुन्नालाई जर्सी हस्तान्तरण समेत गरे ।
मधेश युनाईटेडका सञ्चालक शर्मिला थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेयर सिंहले मधेशमा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “खेलले केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउँछ ।“
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक शाक्यले भलिबलको सामाजिक, मानसिक र भौतिक लाभबारे चर्चा गर्दै खेललाई हरेक वर्ष निरन्तरता दिनुपर्ने र मधेशमा यसको गतिविधि थप विस्तार गर्नुपर्नेमा जोड दिए।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भलिबल जस्ता खेलकुद कार्यक्रमले स्थानीय युवालाई सकारात्मक बाटो देखाउने र शहरको प्रतिष्ठा बढाउने बताए ।
मधेश युनाईटेडको स्थापना र उद्देश्यबारे सञ्चालक विशाल अग्रवालले प्रकाश पार्दै टिमले लिएको दीर्घकालीन दृष्टिकोणबारे जानकारी दिए । सञ्चालन प्रमुख खुशी शिवाकोटीले टिमको विगतको यात्रा, सिकाइ र आगतको योजनाबारे प्रस्तुति दिँदै भनिन्, “हामी सुधार र प्रतिबद्धता सहित मैदानमा फर्किंदैछौं ।”
ब्रान्ड एम्बेसडर नीति शाहले मधेश युनाईटेडसँग आबद्ध हुन पाउँदा आफू सम्मानित र उत्साहित महसुस गरेको र खेलकुद, महिला सशक्तीकरण र पहिचानको लागि यो टिम एउटा उत्कृष्ट उदाहरण रहेको बताइन्। मार्की प्लेयर निरुता ठगुन्नाले नयाँ जोश, उत्साह र आत्मविश्वासका साथ ट्रफी मधेशमै ल्याउने संकल्प व्यक्त गरिन् ।
टिम मधेश :
खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षक: कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर : नीति शाह