नेपालका असभसम्राट हाडा र न्युजिल्यान्डका ज्याक्स रुपको जोडीले इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट टुको ब्वाइज डबल्समा बुधबार स्वर्ण जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा असभ र ज्याक्सको जोडीले नेपालका वृजेश अर्याल र विश्वविषेश डल्लाकोटीको जोडीलाई ६–२, २–६ र ११–९ ले पराजित गरे।
गल्र्स सिंगल्समा सर्किट– १ की विजेता शिभाली गुरुङले नेपालकी जोयाकुमारी जोशी तथा माल्दिभ्सकी अइसथ करिन सइजनले नेपालकी अनुश्री ध्वजुलाई हराउदै फाइनलमा स्थान पक्का गरे। दुवैले प्रतिद्वन्द्वीमाथि समान ६–० र ६–० को सहज जित निकाले।
ब्वाइज सिंगल्समा न्युजिल्यान्डका ज्याक्सले बंगलादेशका मोहम्मद रकिन रहमनलाई ६–२ र ६–१ तथा भारतका तनिस नन्दाले बंगलादेशका मुहम्मद हैदरलाई ६–० र ६–० को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।