ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको छ।
आइतबार सुपर-६ को खेलमा नेपालले दिएको १४१ रनको सामान्य लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र जोड्यो।
युएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। बलिङमा दीपेन्द्रसिंह ऐरी थिए भने ब्याटिङमा युएईका ध्रुव परासर र जाहिद अली थिए। पहिलो बलमा अलीले एक रन लिए। दोस्रो बलमा परासरले रन लिन सकेनन्।
तेस्रो बलमा परासरले दीपेन्द्रलाई छक्का प्रहार गरे। त्यसपछि युएईलाई तीन बलमा तीन रन चाहियो। तर चौथो बलमा दीपेन्द्रले परासरलाई सन्दीप जोराबाट क्याच गराए।
त्यसपछि युएईलाई दुई बलमा तीन रन चाहियो। पाँचौ बलमा रन लिने क्रममा हैदर अली रनआउट भए। अन्तिम बलमा दुई रन लिने क्रममा जाहिद अलि पनि रन आउट भएपछि युएईले १३९ रन मात्र जोड्न सक्यो भने खेल नेपालले एक रनले जित्यो।
नेपालले अन्तिम ओभरको अन्तिम तीन बलमा विकेट लिँदा जित सम्भव भयो। जसमा अन्तिम दुई विकेट रनआउट मार्फत् प्राप्त भयो।
युएईका लागि महत्वपूर्ण योगदान दिएका परासरले १८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३२ रनको योगदान गरे। त्यसअघि युएईका लागि अलिसन सराफुले ४० बलमा ३ चौका र ५ छक्काको मद्दतमा ५८ रन जोड्दा नेपालमाथि दबाब बढेको थियो।
बलिङमा नेपालका दीपेन्द्रले ३ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। एक महत्वपूर्ण रनआउट सहित ३ विकेट लिएका दीपेन्द्र प्लेयर अफ दि म्याच भए।सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १-१ विकेट लिए।
१९औं ओभरमा दबाबको स्थितिमा नन्दन यादवले पहिलो पाँच बलमा ६ रन दिए पनि अन्तिम बलमा छक्का खाएका थिए। त्यसअघि १६औं ओभरको दोस्रो बलमा दीपेन्द्रले राहुल चोपरालाई ७ रनमा आउट गरेका थिए भने लगत्तैको बलमा सन्दीपले बसिद हमिदलाई बोल्ड गर्दा नेपाललाई राहत मिलेको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १४० रन जोड्यो।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ४७ बलमा खेलेर ४ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २ चौका र २ छक्काको मद्दतमा २८ रन बनाए। दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भयो।
कप्तान रोहितकुमार पौडेल २० रन, दीपेन्द्रसिंह ऐरी १ रन र कुशल मल्लले १० रन मात्र जोडे। गुल्सन झाले ५ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाए। सन्दीप जोरा ४ रन र सोमपाल कामी ६ रनमा नटआउट रहे।
राम्रो ओपनिङ गरेपछि नेपालका मध्यक्रमका ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन्।
बलिङमा युएईका ६ जना बलरले समान १-१ विकेट लिए।
आज युएईविरूद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो बनेको छ।
समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो। नेपाल रहेको समूह २ बाट जापान पनि सुपर सिक्समा पुगेको छ। यद्यपि आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेलाइँदैन।
नेपालको सुपर-६ मा २ खेलबाट ४ अंक भएको छ भने शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ।
अब दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।