नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नयाँ मानसिकताका साथ मैदान उत्रने बताएका छन्।
सन् २००७ को एएफसी एसिया कप च्याम्पियन इराकविरुद्धको मैत्रीपूर्ण खेलअघि अलमुताइरीले नेपाली समर्थकलाई खेल परिणामको विषयमा धैर्यता राख्न पनि आग्रह गरेका छन्।
'हामी नयाँ मानसिकता, नयाँ प्रणाली प्रयोग गर्नेछौं र यसको कार्यान्वयन गर्न सुरुमा गाह्रो हुनेछ। त्यसैले खेलाडीलाई नतिजाका लागि मात्र अहिले दबाब नदिऔं। उज्जल भविष्यका लागि अहिले हामी यहाँ छौं।'
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'यदि नतिजा सोचेजस्तो आएन भने खेलाडीहरूलाई होइन मलाई दोष दिनुहोला।'
नेपाली टिम इराकसँग मैत्रीपूर्ण खेलका लागि बुधबार त्यहाँ पुगेको थियो। नेपालले शनिबार इराकसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
अर्को सातादेखि कुवेतमा सुरु हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ।
छनोटमा समूह 'बी' रहेको नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ।
समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ।
नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ।
नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ।
विश्वकप छनोट खेलेपछि नेपाली टिम जुन १२ मा स्वदेश फर्कनेछ।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट