बाल्यकालमा किरण चेमजोङ आफ्नो फुटबल टिमको स्ट्राइकरको पोजिसन सम्हाल्थे। धनकुटाको राजारानीमा कहिले डिफेन्डरको भूमिकामा पनि खेल्नु पर्थ्यो चेमजोङलाई।
अग्ला कदका चेमजोङलाई एक दिन गोलकिपर खेल्ने प्रस्ताव आयो। यसका लागि पनि उनी तयार भए।
'यसरी नै मैले गोलकिपरको यात्रा सुरु गरेको थिएँ,' हाल नेपाली राष्ट्रिय टिमका नम्बर एक गोलकिपर चेमजोङले भने।
पहाडी जिल्ला भए पनि चेमजोङको गाँउ राजारानीमा फुटबलको औधी क्रेज थियो। गाउँमा ठूलो फुटबल मैदान थियो। स्थानीयहरू फुटबलमा झुम्मिन्थे। किरणलाई पनि फुटबल मन पर्थ्यो।
'मैले फुटबलमा लागेर पढाइमा बिगार्छु भनेर मेरी आमा चिन्ता गर्नु हुन्थ्यो। तर पनि उहाँले खेल्न भने सहयोग गर्नुहुन्थ्यो। गाँउ बाहिर फुटबल खेल्न जादा आमाले पैसा दिनुहुन्थ्यो,' किरणले द एन्फा डट कमलाई भनेका छन्।
स्थानीयस्तरमा आफूलाई स्थापित गरेपछि चेमजोङ जिल्लास्तरमा पनि छाउन थाले। यु-१६ प्रतियोगिगता खेल्न काठमाडौं आए। त्यो उनको पहिलो राजधानी भ्रमण थियो।
'संयोगवस त्यतिबेलै काठमाडौंमा यु-१६ को राष्ट्रिय छनोट रहेछ,' उनी सम्झिन्छन्।
उनको जिल्लाले स्कुलस्तरीय प्रतियोगितामा सेमिफाइनलमा हार बेहोर्यो। त्यसपछि सिनियरहरूले उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा भाग लिन सुझाव दिए।
'एन्फामा गएपछि मलाई छनोट मिति दिइयो। धनकुटा फर्किएर फेरि काठमाडौं आए। छनोटमा सफल भए र एन्फा एकेडेमीमा भर्ना पाए,' उनले भने।
एन्फाबाट पास आउट भएपछि उनले क्लब करिअर सुरु गरे। लगत्तै उनी सन् २००८ मा राष्ट्रिय टिमका लागि बोलाइए। सन् २००८ मा कोम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लागि उनी राष्ट्रिय टिमका लागि बोलाइएका थिए।
त्यसयता उनले राष्ट्रिय टिममा लगातार प्रभाव पार्दै आएका छन्।
६ फिट २ इन्च अग्ला किरणलाई स्ट्राइकर छाडेर गोलकिपर हुने निर्णयले सुरुसुरुमा भने पिरोल्थो।
'कहिलेकाहीँ गल्ती गर्दा मानिसहरू गोलकिपरलाई गाली गर्थे। त्यसैले मैले सिनियरको कुरा नसुनी स्ट्राइकर अथवा अरु पोजिसनमा खेल्नु पर्छ जस्तो लाग्थ्यो। समय बित्दै जाँदा त्यस्तो सोच हट्दै गयो,' उनी भन्छन्।
गोलकिपरको गल्तीमा प्राय: टिप्पणी भइहाल्ने चेमजोङ बताउँछन्।
'एउटा स्ट्राइकरले धेरै अवसर खेर फाल्छ र एउटा गोल गर्छ। सो गोलका लागि उसलाई सम्झिइन्छ। गोलले खेल जित्ने भएको कारणले होला स्ट्राइकालाई सबैले सम्झिने। तर गोलकिपरको सवालमा यस्तो हुँदैन। खेलको अवधिमा गरेका गल्तीका लागि मात्र गोलकिपरको नाम आउँछ,' चेमजोङले भने।
मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका चेमजोङले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खेले। यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जिते।
चेमजोङले माल्दिभ्स र भारतबाट पनि व्यावसायीक फुटबल खेलेँ।
'सन् २०१६ मा राष्ट्रिय टिमबाट सोलिडारिटी कप खेल्दा माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबका गोलकिपिङ प्रशिक्षकले मेरो खेलेर हेरेर मलाई सन्देश पठाए। क्लब मलाई भित्र्याउन इच्छुक थियो,' चेमजोङ भन्छन्।
नेपालले प्रतियोगिताको उपाधि जितेपछि चेमजोङले पनि टिसी स्पोर्ट्सले सम्झौता गरे। उनले भारतको आइ लिग टिम मिर्नेभा पञ्जाव एफसीबाट पनि शीर्ष श्रेणीको लिग खेले। क्लबले सन् २०१७-१८ मा उपाधि जित्दा चेमजोङ पनि टिममा थिए।
चेमजोङ आफूलाई राम्रो सल्लाह र सुझाव दिने सिनियर र प्रशिक्षक पाएकोमा भाग्यमानी ठान्छन्। जसका कारणले आफू एन्फा एकेडेमीमा सफल भएको उनको भनाइ छ।
'म एन्फा, सिनियर र प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले जे सिकाउनु भयो त्यसका लागि धन्य छु। अब हामीले अर्को स्तरमा जानु पर्छ। त्यसका लागि कर्पोरेट क्षेत्र र सरकारले पनि सहयोग गर्नु पर्छ,' उनी भन्छन्।
नेपाल र भारतको फुटबलको स्तरमा धेरै फरक नभए पनि व्यवस्थापन र अन्य क्षेत्रको संग्लनतामा भारत अघि रहेको उनको भनाइ छ। व्यवस्थापन र कर्पोरेट क्षेत्रका कारण भारतीय फुटबलको स्तर बढाउन सहयोग पुगेको र उनीहरूले फाइदा लिन सकेको चेमजोङ बताउँछन्।
चेमजोङ आफ्नो खेल सुधार गर्दै देश र क्लबका लागि निरन्तर खेलिरहन चाहन्छन्।
'भविष्यमा के हुन्छ सोचेको छैन तर फुटबल बिना पनि केही हुन्छ भन्ने लाग्दैन,' चेमजोङले भने।
कुनै खेलमा सफल हुनु छ भने लगाव र सबथोक त्याग्न सक्नु पर्ने उनले बताए।
'राजारानीदेखि राष्ट्रिय फुटबल टिमसम्मको मेरो यात्रा सुन्दा सहज होला। तर त्यहाँ धेरै कडा परिश्रम र लगाव लुकेको छ,' उनले भने।
कुनै देशको प्रतिनिधित्व गर्नु गर्वको कुरा भएको बताउँने चेमजोङ देशका लागि खेल्ने खेलाडी बन्न ठूलो प्रयास र अनुशासन हुनुपर्ने ठान्छन्।
'यो स्तरमा पुग्न चाहानुहुन्छ भने कडा परिश्रम गर्नुपर्छ, अनुशासित हुनुपर्छ अनि धेरै समय खेलको इज्जत गर्नुपर्छ,' चेमजोङले भने।
-द एन्फा डट कममा प्रकासित आर्टिकलको भावनुवाद