अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक लागि आवेदन खुला गरेको छ।
प्रशिक्षकका लागि प्रो लाइसेन्स प्राप्त गरेको र कम्तीमा २ वर्षको अनुभव आवश्यक भएको एन्फाको भनाइ छ। नेपालमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नभएको अवस्थामा अब महिला टोलीको प्रशिक्षक पनि विदेशी हुने पक्का भएको छ।
एन्फाले विदेशी प्रशिक्षक ल्याउनका लागि गत बिहीबार खेलकुद मन्त्रालयबाट विज्ञापन प्रकाशन गर्ने अनुमति पाएको थियो।
प्रशिक्षक सिनियर महिला टोली वा युथ राष्ट्रिय टोलीमा व्यावसायिक स्तरमा सफलता हासिल गरेको हुनु पर्ने एन्फाको भनाइ छ।
नेपालले आगामी जुनमा एएफसी वुमन्स एसियन कप २०२६ को छनोट खेल्दैछ। जहाँ नेपाल समूह ‘एफ’ मा छ। समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका छन्।
यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछन्। समूहको छनोट खेल जुन २३ देखि सुरू हुनेछ।
यो छनोटअघि एन्फाले विदेशी प्रशिक्षक भित्र्याउन लागेको हो।
एन्फाले प्रशिक्षकसहित पर्फमेन्स एनालिस्टका लागि दरखास्त आह्वान गरेको छ। यो पदका लागि इच्छुक उम्मेदवारले मान्यताप्राप्त संस्थाबाट फिटनेस कोर्स र फुटबलमा डाटा विश्लेषण (लेवल १) को प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ भने कम्तीमा १ वर्षको अनुभव आवश्यक छ।
इच्छुक उम्मेदवारहरूले आफ्नो सिभी, कभर लेटर र शैक्षिक प्रमाणपत्रसहितको आवेदन २० मे २०२५ सम्म इमेल गर्नुपर्नेछ।