अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले तराईका चार जिल्लामा संचालन गरिएको 'ग्रासरुट' फुटबलको विषयमा दिएको अभिव्यक्त विवादमा परेको छ।
अध्यक्ष शेर्पाले गत जेठ ४ गते फेसबुक लाइभमार्फत दिएको अभिव्यक्ति विवाद परेको हो।
अमेरिकाबाट सञ्चालिन अनलाइन पोर्टल दुर्बिन नेपालको फेसबुक लाइभमा दिएको अभिव्यक्तिले नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले कारबाहीको माग गरेका छन्।
श्रीवास्तावले बुधबार संसदको शून्य समयमा बोल्दै भने,'फुटबल संघका अध्यक्ष शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको बुझिएको छ। उहाँहरूले मधेसीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदै छु भन्ने जस्ता अभिव्यक्ति दिनु भएको हुनाले छानविन गरी आवश्यक कारबाहीको लागि सम्माननीय सभामुख मार्फत ध्यानाकर्षण गराउँछु।'
फेसबुक लाइभमा शेर्पाले यस्तो भनेका थिए :-
सप्तरी, सिराह, धनुषा र महोत्तरीमा हामीले नेपाल आर्मीसँग सहकार्य गरेर ग्रासरुटको कार्यक्रम सुरु गर्यौ। हामीले दुई वटा कारणले सुरु गर्यौ।
एउटा तराईका बच्चाहरुलाई फुटबल प्रति आकर्षित गर्नका लागि अर्को राष्ट्रियता सिकाउनका लागि हामीले सुरु गर्यौ।
किनभन्दा तराई तिर जादा खेरी राष्ट्रियताको फिलिङ अलि कम छ। नेपाल आर्मीसँग ग्रासरुटको प्रशिक्षणको कार्यक्रम सिक्न आउँदा आर्मीको ब्यारेकमा आउँदा कमसेकम राष्ट्रिय गीत गाउने, नेपालको विषयमा चर्चा हुने, खेलाडी उत्पादन हुने हिसाबले हामीले काम गरेका छौं। त्यसले गर्दा ग्रासरुट कार्यक्रमलाई जीन्दगीको अविस्मरणीय कामको रुपमा लिएको छु।
फिफा र एन्फाको विधान विपरित
शेर्पाको अभिव्यक्ति अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाको विधानको धारा ४ विपरित देखिएको छ। यो धारामा देश, जातीयता, रंग, राष्ट्रियता लगायतको विषयमा विभेद गर्न बर्जित गरिएको छ। यदि विभेद गरेको पाइएमा निलम्बन वा बर्खास्त गर्न सकिने विधानमा उल्लेख छ।
एन्फाको विधानको धारा ३ मा पनि फिफाको विधानकै जस्तो व्यवस्था छ। तथस्ट र भेदभावरहितको शीर्षकमा यो व्यवस्था छ। जहाँ कुनै व्यक्ति, देश वा समूह वा जात, रंगभेद, जाती, राष्ट्रियता वा सामाजिक उत्पत्ती, लिङग, अशक्तता, भाषा लगायतको विषयमा कार्य गरे निलम्बन, निष्कासन र अनुशानात्मक कारबाही गरिने व्यवस्था छ।
कसैलाई विभेद गरेको छैन : शेर्पा
अध्यक्ष शेर्पाले भने आफूले राष्ट्रियताको सवालमा कसैलाई भेदभाव नगरेको बताएका छन्।
'मैले १ घन्टा लामो अन्तर्वार्ता दिएको थिएँ। त्यसमा ग्रासरुटको विषयमा बोलेको हुँ। सबै अन्तर्वार्ता हेर्न अनुरोध गरेको छु, त्यसपछि सबै कुरा खुलस्त हुन्छ' शेर्पाले भने, 'म आफै जनजाती हुँ। राष्ट्रियताको सवालमा कसैलाई विभेद गर्ने कुरा सोच्न पनि सक्दिन।'