अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत वर्षदेखि वैशाख २२ लाई एन्फा दिवसको रुपमा मनाउने निर्णय गर्यो। नेतृत्वमा कर्माछिरिङ शेर्पा समूह निर्वाचित भएको दिनलाई एन्फाले गत वर्ष दिवसको रूपमा परिणत गर्यो।
तारे होटलमा कार्यक्रम गर्दै खेलाडी तथा प्रशिक्षक लगायतका फुटबलकर्मीलाई नगदसहि सम्मान गरियो। अध्यक्ष शेर्पाका आलोचकहरूले कार्यक्रमलाई सम्मानित गर्ने कार्यक्रमको भन्दा मोजमस्ती गर्ने कार्यक्रमको रुपमा चित्रित गर्दै आएका छन्।
यसपटक एन्फालाई दिवस मनाउने अवसर जुटेन। कोरोनाभाइरसका कारण 'भव्यरुपमा मनाउने' भनिएको एन्फा दिवसका कार्यक्रम रद्द भयो।
कार्यक्रम नभएपछि सामजिक सञ्जालमार्फत एन्फा पदाधिकारीहरूले शुभकामना आदानप्रदान गरे। यहि क्रममा एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले ए, बी र सी डिभिजन क्लबहरुको भाइबर ग्रुपमा एन्फा दिवसको शुभकामना दिए।
उनले विहान ११:४४ मा 'आज वैशाख २२ एन्फा दिवस सम्पूर्ण फुटबल परिवारमा हार्दिक शुभकामना। सचेत रहौं, सुरक्षित बसौं। जय नेपाली फुटबल' भन्दै शुभकामना दिए। एक घन्टापछि ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले दिएको जवाफ अपेक्षाकृत थिएन।
उनले नेम्बाङको शुभकामनाप्रति असन्तुष्टि जनाउँदै 'आज एन्फा दिवस होइन। चोरहरूको श्री गणेश डे हो।' भन्दै आक्रोशित जवाफ फर्काएका थिए।
यो घटना 'भाइबर ग्रुप' मा मात्र सीमित रहेन। एन्फाले थापामाथि स्पष्टिकरण सोध्दै पत्र काट्यो। थापा शेर्पा नेतृत्वप्रति असन्तुष्टि जनाउने जिल्ला अध्यक्षमा पर्छन्।
शेर्पा नेतृत्वमा आएदेखि नै थापासहितका चार जिल्ला अध्यक्षले एन्फामा अनियमितता भएको आरोप लगाउँदै आएको छन्।
झम्सिखेल क्लबमा समेत आबद्ध थापालाई गत माघ २६ गते बसेको एन्फा कार्यसमितिको बैठकले कारबाही अघि बढाउनका लागि एन्फा अनुशासन समिति पठाउने निर्णय गरेको थियो।
थापासँगै काठमाडौं जिल्लाका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुजाखु, धादिङका अध्यक्ष दिपक खतिवाड र मानार्थ अध्यक्ष टासी घलेलाई पनि कारबाहीका लागि अनुशासन समितिमा पठाइएको थियो। सबै एन्फामा अनियमितताको आरोप लगाएका व्यक्ति हुन्।
एन्फा दिवसमा आफ्नो असन्तुष्टि पोखेका ललितपुरका अध्यक्ष थापालाई एन्फाले वैशाख २४ गते लिखित स्पष्टिकरण पेश गर्न भन्दै पत्र काटेको थियो। थापाले भाइबरमा गरेको टिप्पणी सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ। एन्फाले थापालाई कानुनविपरितको कार्य गरेको भन्दै ४८ घन्टाभित्र स्पष्टिकरण पेश गर्न भनेको थियो।
थापाले दुई दिनपछि स्पष्टिकरण पेश गरेका थिए। उनले एन्फा दिवसलाई आफूले भावानात्मक रुपमा आफ्नो मान्न नसकिएकोले 'चोरहरुको दिवस' भन्दै बाध्य भएको ब्यहोरा लेखेर स्पष्टिकरण पेश गरेका थिए।
उनले आफूले कसैलाई इङ्गित नगरेको भन्दै माफी समेत मागेका छन्। उनले पत्रमा फिफासँग आबद्ध भएको दिनलाई एन्फा दिवसको रुपमा मनाउन समेत सुझाव दिएका छन्।