नेपाल प्रहरी र नेपाली सेना राखेप च्याम्पिएनसिप २८औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता २०७४ को उपाधिका लागि भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा सञ्चालित प्रतियोगिता अन्तर्गत विहीबार तुलसीपुरको अरनिको मैदानमा भएको सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै नेपाल प्रहरी फाइनल प्रवेश गरेको हो।
त्यस्तै घोराहीको भरतपुर खेल मैदानमा बिहीबार भएको सेमिफाईनल खेलमा सुदूरपश्चिमलाई १ का विरुद्ध २ गोल अन्तरले पछि पार्दै नेपाली सेनाले फाइनलमा प्रहरीसँगको भेट पक्का गरेको हो।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेलमैदान तुलसीपुरमा भएको निक्कै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफका लागि खेलको पहिलो हाफ्को १६औं मिनेटमा जर्सी नं २१ का दीपक खड्काले गोलको खाता खोलेका थिए। तर त्यसपछि भने एपिएफले गोल थप्न सकेन। पहिलो हाफमा सशक्त प्रर्दशन गरेको एपिएफले दोस्रो हाफ्को सुरुवात बाटै प्रहरीको दवावमा परेको थियो।
राष्ट्रिय खेलाडी जुमानु राईको खेल मैदान प्रवेशसँगै नेपाल प्रहरीका तर्फबाट जर्सी नं.२ का सन्तोष हेमरोणले खेलको ५३औं मिनेटमा पुसिलको लागि पहिलो गोल गर्दै टिमलाई बराबरीमा पुर्याएका थिए । नेपाल प्रहरीको लागि जर्सी नं ९ का सुमन लामाले खेलको ८८ औं मिनेटमा थप एक गोल गर्दै आफ्नो टिमलाई जित दिलाउन सफल भएका हुन्।
त्यसैगरी घोराही भरतपुर खेलमैदानमा बिहीबार भएको सेमिफाइनल खेलको १९औं मिनेटमा सुदूरपश्चिमका लागि जर्सी नं १७ का मणि चौधरीले पहिलो गोल गरेका थिए। तर, त्यसपछि सुदूरपश्चिमले दोस्रो गोल गर्न सकेन। नेपाली सेना भने एक गोल खाएसँगै आक्रमक रुपमा प्रस्तुत भएको थियो। नेपाली सेनाको लागि खेलको ६९औं मिनेटमा जर्सी नं. ८ एरिक विष्टले जवाफी गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । निकै कडा प्रतिस्पर्धाका बीच भएको खेलको ७१औं मिनेटमा नेपाली सेनाका जर्सी नं. ९ का खेलाडी राजिव गुरुङले थप एक गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका हुन्।
फाइनल खेल भने घोराहीस्थित भरतपुर खेलमैदानमा भोलि दिउँसो १ बजे हुने भएको छ।
यसैबीच तृतिय स्थानका सुदूरपश्चिम र सशस्त्र प्रहरीबलको एपिएफका बीच भोलि नै बिहान ९ बजे नै खेल हुने दाङ जिल्ला फुटबल संघका सदस्य लक्ष्मण बस्नेतले जानकारी दिए ।
दाङमा माघ २ गतेदेखि सुरु भएको राष्ट्रिय फुटबल प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागिय टिम गरी जम्मा ८ टिमको सहभागिता थियो। दाङमा भएको यो नै पहिलो राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो।
आजभन्दा ३३ वर्षअघि २०४४ सालमा तुलसीपुरको अरनिको मैदानमा राष्ट्रिय महिला फूटबल प्रतियोगिता भए पनि त्यसयता राष्ट्रिय फूटबल दाङमा हुन सकेको थिएन।
तस्विर – राजेश खत्री ।