केही दिनअघि म ठमेलको मन्डला स्ट्रिटको भिडमा उभिएकी थिएँ — त्यही बेला दुई जना विदेशीहरू मेरो छेउबाट हिँडे।
उनीहरू अचानक उत्साहित भए र चोर औंलाले एक पसलतिर देखाउँदै भने — पम्परनिकल बेकरी।
उनीहरूमध्ये एक जनाको मोबाइलमा म्यापले 'अराइभ्ड इन योर लोकेसन' भनिरहेको थियो।
बेकरी अगाडि पुगेपछि भने उनीहरू झसंग जस्तै भए। आपसमा खासखुस गरे।
छेउमै उभिएकी मसँग आँखा जुधेपछि उनीहरूले अंग्रेजीमा सोधे, 'यहाँ पहिले बगैंचा थियो होइन?'
मैले उनीहरूलाई केही वर्षअघि यहाँको संरचना फेरिएको जानकारी दिएँ।
उनीहरू स्पेनबाट आएका रहेछन्। आजभन्दा सात वर्षअघि नेपाल आउँदा यही पम्परनिकल बेकरीमा खाएको सम्झना मलाई सुनाए। अनि चम्किलो मुहार लिएर 'बाई' भन्दै बेकरीभित्र छिरे।
सात वर्षअघि आएको ठाउँ एक पर्यटकले सम्झिँदै फर्केको बेकरीको कथा के रहेछ त?
यही जिज्ञासा बोकेर म पनि पम्परनिकल बेकरी गएँ र कुराकानी गरेँ।
यो बेकरी ४० वर्षअघि नोर्बु श्रेष्ठले सुरू गरेका हुन्।
नोर्बु सानैदेखि रेस्टुरेन्टको काममा भिजेका थिए। उनका आमाबुबा बौद्धमा एउटा रेस्टुरेन्ट चलाउँथे। नोर्बुले पनि कक्षा दसको परीक्षा (टेस्ट) दिएपछि बिदामा त्यहाँ सक्रिय रूपमा काम गरे।


नोर्बुलाई खासगरी रोटी (भुंग्रोमा वा तावामा बनाइने बाक्लो) बनाउन मनपर्थ्यो। त्यसै समयमा एक दिन उनको भेट एक जना जर्मन पर्यटकसँग भयो।
ती पर्यटकले जर्मनीको प्रमुख खाना पाउरोटी (ब्रेड) भएको बताए। उनले विभिन्न प्रकारका पाउरोटीबारे जानकारी दिए। उनलाई खास किसिमको ब्राउन ब्रेड बनाउने तरिका पनि बताइदिए।
त्यसपछि नोर्बु हौसिए। ह्वाइट ब्रेड सामान्य भइसके पनि ब्राउन ब्रेड बजारमा धेरै थिएन। उनले आफ्नो घरपछाडि माटोको भट्टीजस्तो चुह्लो बनाए र ओभनका रूपमा प्रयोग गरे। ब्राउन ब्रेड बनाएर बुबाकै रेस्टुरेन्टबाट बेच्न थाले।
'त्यो बेला नेपालीहरूलाई यस्तो खालको पाउरोटीको स्वाद थाहा थिएन। त्यसैले मेरै परिवारका मान्छेले पनि त्यसको स्वाद लिन सकेनन्,' नोर्बुले भने।
रेस्टुरेन्टमा आउने विदेशीहरूले भने यसमा चासो दिए।
नोर्बुले ब्राउन ब्रेडका ग्राहक को रहेछन् भन्ने बुझे। अनि पर्यटकको धेरै चहलपहल हुने ठाउँ ठमेलमा बेकरी खोल्ने सोचे।
'मलाई ब्राउन ब्रेड नै बनाउन मन थियो। जर्मन भाषामा त्यस्तो ब्रेडलाई पम्परनिकल भनिने रहेछ। मलाई यसबारे जानकारी दिने ती जर्मन साथीले बेकरीको नाम पम्परनिकल राख्न सुझाव दिए,' नोर्बुले बेकरीको नाम पछाडिको कथा सुनाए।
यो बेकरीमा ती जर्मन साथीले पनि साझेदारी गरे।
दुई जना मिलेर पाँच हजार रूपैयाँ जम्मा गरे र सन् १९८६ मा ठमेलमा खोले — पम्परनिकल।
त्यो बेला यो पसल बेकरी बिक्री केन्द्र मात्र थियो। न बसेर खाने सुविधा थियो, न पकाउने चुह्लो। नोर्बु सबै परिकार बौद्धमै बनाउँथे र साइकलमा राखेर पसलसम्म ल्याउँथे।
'दिनमा पाँच–छ वटा ब्रेड बेचेर घर फर्किन्थेँ। त्यस बेला दसदेखि १२ रूपैयाँमा बेच्थेँ,' उनले भने।


केही समय उनी यसरी नै ब्रेड बोकेर बौद्ध–ठमेल गरिरहे। पछि उनले ठमेलमै माटोको चुह्लो बनाए र त्यहीँ पकाउन थाले। काम सहज हुँदै गयो। ग्राहक बढ्दै गए। उनले बस्ने ठाउँ पनि बनाए।
उनका साझेदार जर्मन साथी 'ट्राभलर' थिए। केही समयपछि उनी यात्रामा फर्किए। नेपाल आएका बेला नोर्बुलाई भेट्न आइरहन्छन्।
उनी फर्किएपछि नोर्बु झनै सक्रिय भएर लागे। आफूले नदेखे पनि, नखाए पनि उनको कल्पनामा सधैं विभिन्न स्वाद र रङका बेकरी परिकार आइरहन्थे। ती सबैलाई उनी रोटीकै परिकारका रूपमा बुझ्थे।
त्यही समयमा एक पटक नेपाल खाद्य संस्थानले जापानबाट केही प्रशिक्षक ल्याएर बेकिङ तालिम दियो। नोर्बु पनि सहभागी भए। त्यहाँ उनले बेकिङबारे धेरै कुरा सिके।
'फरक फरक तापक्रमको पानीले पिठो मुछ्दा फरक स्वाद र परिणाम आउँछ भनेर मैले त्यही बेला थाहा पाएँ,' नोर्बुले भने।
पम्परनिकल बेकरीमा आउने विदेशी ग्राहकहरूले पनि उनलाई धेरै कुरा सिकाइदिए। आ–आफ्ना देशमा पाइने बेकरी परिकारहरू सक्दो जानकारी दिन्थे। नोर्बु पनि उत्साहित भएर सुन्थे। र, सबै कुरा सुनी, बुझी आफूले जाने अनुसार विभिन्न परिकार तयार पार्थे। ग्राहकको सुझाव अनुसार सुधार्दै लैजान्थे।
बेकिङकै धूनमा उनी अमेरिका पनि पुगे।
'त्यहाँ त मैले कल्पनामा देखेजस्तै, त्योभन्दा धेरै थरीका बेकरी परिकार देखेँ। त्यसले मलाई लोभ्यायो। केही समय विभिन्न बेकरीमा काम पनि गरेँ,' उनले भने।
अमेरिकामा बेकरी परिकार नेपालमा जस्तो खाजा मात्र थिएन। अमेरिकनले दिनको सुरूआत टन्न ब्रेकफास्टले गरेको उनले देखे। त्यसमा ठूला ठूला पाउरोटी र विभिन्न बेकरी परिकार हुन्थे। उनका लागि यो सबै नयाँ अनुभव थियो। नेपालमा पनि कुनै दिन यस्तो चलन आउला भन्ने सोचे।


अमेरिकाबाट फर्किएको केही समयपछि उनी स्विट्जरल्यान्ड र नेदरल्यान्ड्स गए। त्यहाँ पनि बेकिङबारे बुझे।
'त्यता त पिठो मुछ्नेदेखि पकाउनेसम्म काम मेसिनले हुने रहेछ। म त हातैले पिठो मुछ्दै आएको थिएँ,' उनले भने।
त्यहाँबाट फर्केको तीन–चार वर्षमै उनी भारतको दिल्ली गए। त्यहाँबाट पच्चीस हजार रूपैयाँमा ओभन र पिठो मुछ्ने मिक्सर किनेर ल्याए।
अनि बल्ल उनले देखे, सोचे जस्तै थरीथरी ब्रेड र बेकरी परिकार बनाउन थाले; जस्तै सिनामन रोल, पेस्ट्री, क्रोस्वाँ। यहाँ बनाइने बेकरीका लागि चाहिने प्रायः सबै सामान उनीहरू नेपालमै किन्छन्।
पछि नोर्बुकी श्रीमती काल्देन श्रेष्ठ पनि पम्परनिकलमै व्यस्त भइन्।
'म यो व्यवसायमा जोडिएको ३१ वर्ष भयो। सुरूमा त यी परिकार बेग्लै र अनौठो लाग्थ्यो,' काल्देनले भनिन्।
यसरी ठमेलको सानो कोठामा सुरू भएको पम्परनिकल अहिले चार तलामा फैलिएको छ। यहाँको बगैंचा यही विस्तारका क्रममा मासिएको हो। तर उनीहरूले कमाएका ग्राहक छँदैछन्।
नोर्बुको ग्राहकसँग राम्रो व्यवहारका कारण कति विदेशी कैयौं वर्षपछि पनि फर्किएर आउँछन्। कतिले त आफ्ना सन्तानलाई समेत ल्याएर आफू पहिले आउँदाका कुरा सुनाउँछन्।
पर्यटकीय सिजनमा विदेशी ग्राहक धेरै हुन्छन्। अरू बेला स्वदेशीले नै भरिभराउ हुन्छ।


यहाँ अनलाइन अर्डरको सुविधा पनि छ। उनी वरिपरिका अन्य रेस्टुरेन्टमा पनि केही बेकरी परिकार पठाउँछन्।
यहाँ सबभन्दा धेरै बिक्ने भनेको विभिन्न थरी ब्रेड नै हो। अनलाइनबाट भने केकको माग धेरै हुन्छ। सामाजिक सञ्जालमा प्रचार गर्न थालेपछि नयाँ पुस्ताका ग्राहक बढ्न थालेको उनले बताए।
अहिले नोर्बु र काल्देनका छोरा सोनाम पनि पम्परनिकलमै सक्रिय छन्।
नोर्बुले बेकरी सुरू गर्दा उनी जन्मेका पनि थिएनन्। उनको बाल्यकाल यही बेकरीमा खेल्दै बित्यो। प्लस-टू सकेपछि अमेरिका पढ्न गए। स्नातक पढिसकेर दुई वर्षअघि नेपाल फर्केका हुन्।
'बुबाआमाले सुरू गरेको बेकरीकै हिस्सा बन्न पाएको छु,' सोनामले भने, 'उहाँहरूको काम अगाडि बढाउने प्रयासमा छु।'
यो बेकरी बिहान साढे ६ बजेदेखि राति साढे ९ बजेसम्म खुल्छ। नोर्बुका परिवारका सदस्यबाहेक चार जना कुक छन्।
अहिले पनि नोर्बु हरेक बिहान केही न केही परिकार बनाइरहेका हुन्छन्। बेकिङ आफ्ना लागि ध्यान–साधना भएको उनले बताए।
'बिहान उठेर कोही हिँड्न जान्छन् र कोही मन्दिर जान्छन्। म भने हरेक दिन बिहान केही बेक गर्छु। यो मेरो काम मात्र होइन, ध्यान र साधना पनि हो,' ६७ वर्षीय नोर्बुले भने।










सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी