क्षेत्रीय र राष्ट्रिय स्तरका तीन दर्जनभन्दा बढी प्रतियोगिता खेलेका भलिबल खेलाडी रमेश बम अब राष्ट्रिय टिमबाट खेल्न चाहन्छन्।
यही सपनाका साथ निरन्तर प्रशिक्षणमा छन्। तर उनलाई राष्ट्रिय टिममा नपुग्दै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता छ। उनी सुदूरपश्चिमका उदीयमान खेलाडी हुन्। अनेक चुनौतीसँग जुध्दै खेलमा अघि बढ्दै छन्।
उनलाई आज पनि सम्झना छ — बाल्यकालमा उनीहरू स्कुलबाट फर्केपछि खेतमा डोरी बाँधेर मोजाको बलले भलिबल खेल्थे। खेतमा खेल्दा धेरैपटक मौरीले टोकेर हैरान पार्थ्यो।
व्यावसायिक रूपमा भने उनले भलिबल खेल्न थालेको पाँच वर्ष भयो। अनेक चुनौती भोग्दै आएका उनी राष्ट्रियस्तरमा आफूलाई प्रमाणित गर्ने क्रममा छन्। आफ्नो सफलताले कनिष्ठ पुस्तालाई प्रेरित गर्ने उनको सपना छ।
'आफूले कमाउन थालेपछि नयाँ खेलाडीलाई सहारा दिने र उनीहरूलाई प्रशिक्षित गर्ने मेरो सपना छ,' रमेशले भने, 'म खेलाडी हुँ। खेलाडीको संघर्ष र दुःख भोगेको छु।'
रमेश बम सुदूरपश्चिममा भलिबलमा सुपरिचित नाम हो। उनी 'मिडिल ब्लकर' र 'क्विक स्पाइकर' का रूपमा चिनिएका छन्। भलिबल खेलका लागि अनुकूल उचाइ छ। फूर्तिला र हँसिला छन्।
उनले देशको भलिबल खेलमा योगदान पुर्याउन सकून् भन्ने उनका दर्शकहरूको कामना छ।
रमेशका कतिपय साथी आर्थिक उपार्जनमा लागेका छन्। कोही विदेशमा छन् त कोही स्वदेशमै। उनी भने भलिबल खेल्न सुदूरपश्चिमका गाउँसहर धाउँछन्।
रमेशको आम्दानी नभएकाले आमाबुबा 'खेल्न छोड्' भनिरहन्छन्। उनका बुबा भारतमा काम गर्छन्। आमा घरको काम गर्छिन्, खेतीपाती सह्माल्छिन्। तीन सन्तानमध्ये रमेश जेठा हुन्।
डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिका–१, काटेठाटाका बासिन्दा रमेश गाउँपालिकाभरिमा राष्ट्रिय स्तरका प्रतियोगिता खेल्ने एक्ला हुन्।
'म सानो छँदा गाउँटोलमा भलिबल खेल हुन्थ्यो। जित्नेका लागि कुखुराको भाले पुरस्कार राखिन्थ्यो, अलिक ठूलो प्रतियोगिता भए खसी नै हुन्थ्यो,' रमेशले भने, 'म गाउँका दाइहरू खेलेको ठाउँमा जान्थेँ र कोर्टबाहिर पुगेको भलिबल समाउन दौडिन्थेँ।'
उनलाई पनि खेल्न मन लाग्यो। एक दिन पुरानो मोजा खोजेर त्यसमा झुम्रा खाँदे। त्यसलाई अर्को मोजामा खाँदेर बाँधे। सानो भलिबल तयार भयो। आफूसरहका साथीहरू जम्मा गरेर एउटा टिम बनाए। बिस्तारै खेलमा रस बस्यो। एक दिन साथीहरूले पैसा उठाएर दुई सय रूपैयाँमा प्लास्टिकको एउटा बल किने।
यसरी नै दुई-तीन वर्ष बित्यो।
रमेशको उचाइ राम्रो भएकाले स्कुलका खेलाडीहरूले पनि उनलाई मौका दिन थाले। यत्तिकैमा उनी बुबाआमाका साथ डोटीबाट बसाइँ सरेर कैलालीको सुखडा पुगे। सुखडामा पनि भलिबलको राम्रो माहोल थियो। त्यहाँको स्कुल भर्ना भएको केही दिनमै उनी खेलाडीका रूपमा चिनिए।
विद्यालय शिक्षा परीक्षा (एसईई) पूरा गरेपछि रमेश सुखडाबाट धनगढी आए। भलिबल प्रशिक्षण लिन कभर्डहल जान थाले। प्रशिक्षक थिए नाम चलेका खेलाडी महेश खत्री। महेशसँग उनले दुई महिना प्रशिक्षण लिए। रमेशको यो पहिलो प्रशिक्षण थियो।
२०७५ सालमा डोटीको बोगटान युवा सञ्जालले वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्यो। रमेश ११ कक्षाका विद्यार्थी थिए। उनलाई उक्त प्रतियोगिता खेल्न खबर आयो। उनी गाउँ पुगे। टिमको कप्तानी उनैले पाए।
रमेशको नेतृत्वमा वडा नम्बर-१ को टिम च्याम्पियन भयो, स्वर्ण पदक प्राप्त भयो।
उनले भने, 'धनगढीमा भलिबल सिकेपछि राम्रो खेल्छ भन्ने तारिफ पाउन थालेको थिएँ। वडाको टिममा कप्तानी गर्ने मौका पनि त्यही कारणले पाएँ होला।'
उनले खेलमा निरन्तरता दिन हौसला पाए। उनको आत्मविश्वास बढ्यो। उनी १० कक्षाको विद्यार्थी हुँदा पनि वडास्तरीय प्रतियोगितामा सहभागी भएका थिए। उनको टिम तेस्रो भएको थियो।
उनले पढाइका साथ खेल अघि बढाए। दिउँसो पढ्न जाने र बेलुका कभर्डहलमा भलिवबल सिक्न जाने दिनचर्या भयो। कभर्डहलमा सिनियर खेलाडीहरूसँग खेल्न पाउँथे।
देशमा कोरोना भाइरस संक्रमणको कहर फैलियो। लकडाउनमा खेलकुद गतिविधि बन्द भयो।
कोरोना करहर मत्थर भएपछि २०७८ सालमा धनगढीमा क्षेत्रीयस्तरको भलिबल प्रतियोगिता भयो। उनी डोटीको टिममा परे। प्रदेशस्तरमा यो उनको पहिलो प्रतियोगिता थियो। उनले अन्तिम खेलमा अवसर पाएनन् तर उनको टिम च्याम्पियन बन्यो।
त्यसपछि उनी नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनौट प्रतियोगितामा वैकिल्पक खेलाडीका रूपमा डोटीको टिममा परे। छनौट प्रतियोगितामा पनि उनकै टिम च्याम्पियन भयो।
रमेशले सुदूरपश्चिमको टिमबाट राष्ट्रियस्तरको प्रतियोगिता खेल्ने अवसर पाए। कोशी प्रदेशले आयोजना गरेको पहिलो 'मुख्यमन्त्री कप' खेल्न 'सुदूरपश्चिम प्रदेश' टिममा परे।
राष्ट्रियस्तरको प्रतियोगितामा खेल्न पाउँदा हर्षित भए तर उनको टिम पदकविहीन रह्यो। जित नभए पनि केही खेलाडीले आफ्नो क्षमता देखाउने अवसर पाए।
यसपछि सुर्खेतमा 'चौंतीसौं पुरूष राष्ट्रिय भलिबल' प्रतियोगिता भयो। रमेशले सुदूरपश्चिमको टिमबाट खेले। लगत्तै सुदूरपश्चिम खेलकुद परिषदले 'तेस्रो मुख्यमन्त्री कप' खेलायो जसमा उनी सुदूरपश्चिम प्रदेश टिममा परे।
उनले सुदूरपश्चिम प्रदेश टिमबाट 'एनभिए लिग' पनि खेले। लगत्तै काठमाडौंमा भएको 'नेकोस भलिबल च्याम्पिनसिप' खेले। त्यसमा सुदूरपश्चिम टिम दोस्रो भयो।
प्रदेशको टिमबाट खेल्न पाउँदा सिकाइ धेरै हुने रमेशको अनुभव छ। उनी धेरैजसो सुदूरपश्चिममा 'खुला पुरूष भलिबल प्रतियोगिता' मा सहभागी हुने गरेका छन्।
हालसम्ममा कम्तीमा तीन दर्जन घरेलु प्रतियोगिता खेलेको उनले बताए। उनी अब विदेशी टिमसँग खेल्न चाहन्छन्।
रमेश हाल धनगढी कभर्डहलमा प्रशिक्षक लालबहादुर बटालासँग भलिबल सिक्छन्। डोटीमा भलिबल खेल निकै प्रख्यात छ तर प्रशिक्षक छैनन्।
उनी भन्छन्, 'गाउँमा भलिबल खेलमा क्रेज (लगाब) छ तर खेल्न खेल्ने टेक्निक (तरिका) छैन। प्रशिक्षक छैनन्। म गाउँमा गएका बेला कलिला खेलाडीहरूलाई सिकाउँछु।'
रमेश निरन्तर खेल्न चाहन्छन्, भलिबल खेलमै आफ्नो भविष्य उज्यालो बनाउन चाहन्छ तर उनको मनका थोरै चिन्ता छ।
यस्तो चिन्ता अकारण भएको होइन। चिन्ताको खास विषय हो सिनियर खेलाडीहरूको पलायन।
'सिनियर दाइहरू खेल छाडेर विदेश पलायन भएको देख्दा मेरो पनि त्यस्तै हालत हुने हो कि भन्ने चिन्ता लाग्छ,' उनले भने।
अहिलेसम्म उनको खेल आमाबुबाको सहयोगले चलेको छ। कहिलेकाहीं चोटपटक लाग्छ, उपचार खर्च आमाबुबाले नै दिनुपर्छ। यसरी सधैं आमाबुबालाई आर्थिक भार पार्नु हुँदैन भन्ने उनलाई लाग्छ तर तत्काल अर्को विकल्प छैन।
उनले खेलसँगै पढाइमा मिहिनेत गर्नु भविष्यका लागि उत्तम हुने ठानेका छन्। हाल उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहको अन्तिम वर्षमा पढ्दै छन्।
देशको जर्सी लगाएर देशकै लागि खेल्ने खेलाडीलाई सरकारले आर्थिक भरथेग नगर्नुले उनको मनमा निराशा उत्पन्न हुन्छ।
'प्रदेशको टिम र राष्ट्रिय टिमबाट खेल्नेलाई प्रशिक्षण दिने; सके तलब दिने, नसके भत्ता दिने भए खेलमा लाग्न उत्साह हुन्थ्यो,' उनी भन्छन्, 'आर्थिक कारणले खेल छोड्नु नपरोस् भन्ने मेरो चाहना छ। के थाहा! राष्ट्रिय टिमबाट खेल्ने सपना पूरा नहुँदै पलायन हुनुपर्ने हो कि! यस्तो चिन्ता हरेक खेलाडीमा छ।'
ठूलो कमाइ नभए पनि खेलमा लाग्ने खर्च आफैले आर्जन गर्न सके हुन्थ्यो भन्ने उनलाई लाग्छ। यसमा तीन वटै तहका सरकारले ध्यान दिनुपर्ने उनको धारणा छ।