सन् २०२१ मा नेपाली राष्ट्रिय क्रिकेट टिम आइसिसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि क्यानडा गएको थियो।
क्यानडाको राष्ट्रिय टिमसहित त्यहाँको स्थानीय क्लबसँग अभ्यास खेल खेलेको नेपाली टिम नेप्लिज क्यानेडियन क्रिकेट क्लबको पहलमा क्याडना पुगेको थियो।
नेपाली क्रिकेट टिमलाई क्यानडा पुर्याएर तयारी गराउनका लागि क्लबका तत्कालिन अध्यक्ष किरोज श्रेष्ठले पहलकदमी लिएका थिए। समाजसेवासँगै खेलकुदमा रूची भएका श्रेष्ठ नेतृत्वमा पुगेपछि नेपाली टिमलाई समेत सहयोग पुगेको थियो।
पेशाले इन्जिनियर श्रेष्ठ क्याडना पुगेको १९ वर्ष भयो। सुरूमा आफ्नै काममा व्यस्त बनेका श्रेष्ठ एक दशकदेखि क्यानडाको नेपाली समाजको सामाजिक काममा सक्रिय छन्। सुरूमा उनले आफ्नै पेशामा संघर्ष गर्न पर्यो।
उनी अवसरको खोजीमा २००५ मा पिआर प्राप्त गर्दै क्याडना पुगेका थिए।
क्यानडामा उनले एक वर्ष निकै संघर्ष गरे। सुरूमा उनले ग्यास स्टेसनमा काम गरे।
क्यानडाले दक्षता हासिल गरेकालाई विभिन्न कोर्ष गराउँछ। उनले पनि तीन महिनाको कोर्ष गरे। त्यसपछि उनले आफ्नो दक्षताअनुसारको जागिर पाए।
उनले २००९ मा क्यानडाको इन्जिनियरिङको लाइसेन्स प्राप्त सफल भए। सुरूमा उनी इलोक्ट्रिकल म्यानुफ्याक्चरिङ कम्पनीमा काम गर्थे। त्यसपछि उनले परामर्शदाता कम्पनीमा काम गरे।
अहिले उनी क्यानडाको सरकारी जागिरे छन्। अहिले टोरन्टो ट्रान्जिट कमिसनमा उनी डिजाइन इन्जिनियर छन्। कमिसनअन्तर्गत उनले बिजुलीबाट चल्ने त्यहाँको सार्वजनिक यातायातको काम गर्छन्।
सुरूमा उनले नेपालमा पनि इन्जिनियर भएर काम गरेका थिए। उनले नेपालमा र क्यानडामा इन्जिनियरले गर्ने काममा निकै फरक पाए। आफूले जुन विषयमा दक्षता हासिल गरेको हो, त्यसैमा क्यानडाले काम लगाउछ। तर, नेपालमा इन्जिनियरले सबै काम गर्नु पर्ने बाध्यता छ। क्याडनामा सुरक्षालाई निकै प्राथमिकतामा राखिन्छ। तर नेपालमा यस्तो छैन।
क्यानडाको सरकारी जागिर भएपछि उनी विस्तारै समाजसेवामा सक्रिय हुन थाले। विभिन्न स्थानीय संस्थामा आबद्ध भएपछि उनी नेप्लिज क्यानेडियन क्रिकेट क्लबको बोर्ड सदस्य भए।
उनी क्लबको संस्थापक सदस्य भने होइनन्। २०१७ मा स्थापनामा भएको क्लबमा उनी त्यसै वर्ष आबद्ध भएका थिए। उनी २०१७ देखि २०१९ सम्म बोर्ड सदस्य थिए। २०१९ देखि २०२३ सम्म उनी अध्यक्ष भएर काम गरे।
उनी आफ्नो व्यसायसँगै खेलकुद, समाजसेवा र व्यवस्थापनमा निकै रूची राख्छन्। त्यहिँ भएर उन क्लबको अध्यक्ष भएर काम गर्न सफल भए। कुनै संस्थाको अध्यक्ष भएपछि खेलकुद गतिविधिसँगै समाजसेवा र व्यवस्थापनामा पनि उतिकै ध्यान दिन जरूरी छ। यी दुवै कुरामा रूची राख्ने उनलाई क्लबको अध्यक्ष भएर काम सजिलो भयो।
केही नयाँ काम गर्ने सोच राख्ने उनले क्लबमा रहदा धेरै नयाँ काम गर्न सफल भए। उनी संस्थामा आबद्ध भएपछि सदस्यता वितरण गर्ने आवधारणा ल्याए। क्लबलाई सहयोग होस भनेर सदस्यताबाट सामाजिक काम गराउने र निश्चित शूल्क उठाएर क्लब चलाउन सजिलो भएको उनको अनुभव छ।
संस्था चल्नलाई पूरा समाजको सहयोग चाहिन्छ। उनले क्लबलाई समुदायसँग पनि जोड्ने काम गरे। क्लबलाई पारदर्शी बनाउना आफ्ना सबै गतिविधि सामाजिक सञ्जालमार्फत् सार्वजनिक समेत गरियो। समुदायका व्यक्तिहरूलाई बोलाएर आफ्ना कामबारे समेत जानकारी गराए। जसका कारण समुदायसँग क्लब जोडिदै गयो।
महिलालाई पनि क्लबलाई जोड्ने प्रयास गरे। अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको दिन विभिन्न कार्यक्रम आयोजना गरियो। यस्तै ‘जेन्डर बायसनेस इन स्पोर्ट्स’ भनेर कार्यक्रम समेत आयोजना भएको उनी बताउँछन्। संस्थामा पनि महिलालाई स्थान दिन थालियो।
क्लबको अध्यक्ष रहदा नेपालको राष्ट्रिय क्रिकेट टिमलाई क्याडनामा बोलाउने कामले उनलाई चर्चामा ल्यायो। त्यहाँको टिमसँग खेल्न तथा अन्तर्राष्ट्रिय प्रतियोगिताअघि नेपाली खेलाडीलाई एक्पोजर होस भनेर नेपाली टिमलाई बोलाइएको उनी बताउँछन्।
सुरूमा उनले नेपाली टिमलाई बोलाउन नेपाल क्रिकेट संघ र क्रिकेट क्यानडासँग कुरा गरे। दुवै संघ सहमत भएपछि कुरा अघि बढेको थियो।
नेपाली टिम क्यानडामा खेल्दा जादा तीन पक्ष रहेको उनी बताउँछन्। जसमा नेप्लिज क्यानेडियन क्रिकेट क्लबले अग्रसता लिएको थियो। नेपालबाट क्यानडासम्म नेपाली टिमको टिकट खर्च क्यानले बेहोरेको थियो। नेपाली टिम १० दिन क्यानडा बस्दाको खर्च क्लबको जिम्मेवारी थियो।
क्यानडा क्रिकेटले यातायात, क्यानडा टिम, मैदान व्यवस्थापन र टिभी खर्च बेहोरेको थियो।
त्यतिबेला नेप्लिज क्यानेडियन क्रिकेट क्लबको ६० हजार डलर खर्च भएको उनी बताउँछन्। यो सबै रकम प्रायोजनबाट उठाइएको थियो। एनआरएरनसहित विभिन्न २० वटा संस्थाले सहयोग गरेका थिए।
क्लबमा अहिले नेपालबाट क्यानडा गएका धेरै विद्यार्थीले क्रिकेट खेल्छन्। पिआरमा गएका नेपाली पनि क्लबमा आबद्ध छन्।
क्यानडाको स्थानीय, प्रदेश र केन्द्रीय सरकारले खेलकुदका लागि प्रदान गर्ने रकमबाट पनि क्लबले सहयोग लिने गरेको छ। क्लबले एनसिसी कप पनि आयोजना गर्ने गरेको छ।
अहिले गैरआवासीय नेपाली संघ क्यानडाको उपाध्यक्ष रहेका श्रेष्ठको बाल्यकाल चितवनमा बित्यो।
चितवनको माडीमा जन्मिएका उनी सानै छदा परिवार नारायणगढमा सर्यो। चितवनबाट आइएससी सकेपछि उनी इन्जिनियरिङ पढ्न भारत गए। भारतमा पढाइ सकेपछि उनी नेपालमा आएर जागिर खान थाले।
टियूबाट मार्स्टस गरेर ६-७ वर्ष काम गरेपछि उनी क्याडना पुगे।
बाल्यकालदेखि नै खेलकुदमा रूची राख्ने भए पनि उनले कहिल्यै खेल्ने वातावरण पाएनन्। भारतमा पुगेपछि उनले क्रिकेट सिक्ने अवसर पाए। भारतमा उनी कलेजको फुटबल टिमको कप्तान थिए। जसका कारण उनमा नेतृत्व विकास भयो।
त्यहिँ नेतृत्व विकासको जगमा एनआरएनए क्याडनाको उपाध्यक्ष पदसम्म पुग्न सहयोग गरेको श्रेष्ठ बताउँछन्।
क्रिकेट क्लबमा ६ वर्ष काम गर्दा नेपाली समुदायले मन पाएको कारण आफू एनआरएनएको कार्यसमितिमा आबद्ध भएको उनी बताउँछन्। क्लबमा काम गरेका कारण धेरैले एनआरएरएनमा जान सुझाव दिँदा उनको हौसला बढेको थियो। आफ्नो समाजसेवा र व्यवस्थापनको रूची एनआरएनएमा रहदा अझ फराकिलो हुने सोचेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनी बताउँछन्।
एनआरएनएले विभिन्न कामसँगै खेलकुदलाई पनि प्राथमकितामा राखेको श्रेष्ठ बताउँछन्। खेलकुद समितिबाट विभिन्न काम अघि बढिरहेको उनको भनाइ छ। क्यानडाको स्थानीय फुटबल टिमले त्यहाँको स्थानीय लिग खेल्दा सहयोग गरेको उनी बताउँछन्।
अहिले एनआरएनएमार्फत् विभिन्न काम गरेका श्रेष्ठ कसैलाई समस्या परे सबैभन्दा पहिले एनआरएनए क्याडनालाई सम्झिने गरेको बताउँछन्। कतिपय अवस्थामा समस्या पर्दा चाहिने खर्च नेपाली दुतावासले दिन नसक्ने भएपछि मानिसहरू एनआरएनए खोज्दै आइपुग्ने गरेको उनको अनुभव छ। जसमा एनआरएनले सहयोग जुटाउँदै सहयोग गर्छ। सहयोग गर्न पाउँदा श्रेष्ठलाई निकै खुसी लाग्छ।
कतिपय अवस्थामा बिमा समेत दाबी गर्ने प्रक्रिया बुझाउन संस्थाले सहयोग गर्छ। एनआरएनएको नेटवर्क ठूलो भएकाले विभिन्न व्यक्तिको सहयोग लिएर नेपालीलाई सहयोग गर्न सजिलो हुने गरेको छ।
क्यानडामा विभिन्न संस्था भए पनि समस्या पर्दा एनआरएनलाई सम्झदा हौसला अझ बढ्ने उनले बताए।
समस्यामा परेका नेपाललाई चाहिने सहयोग उठाउन पनि एनआरएनए क्यानडा विश्वासिलो संस्था भएको पनि उनले बताए। नेपालमा आइपर्ने विभिन्न प्राकृतिक प्रकोपको बेलामा पनि एनआरएनरले सहयोग गर्ने गरेको छ।
उनी एनआरएनएको मुख्य समस्या अनावश्यक राजनीति हो भन्छन्। नेपालका राजनीतिक पार्टीको आधारमा हुने गुटबन्दी गैरकानुनी भएको उनको दाबी छ। नेपालका राजनीतिक पार्टीको असरले गर्दा काम गर्ने मानिसलाई समेत गाह्रो पर्ने गरेको उनको अनुभव छ। त्यसैले राम्रो काम गर्न चाहने मानिसहरू संस्थामा आउने वातावरण नभएको उनले तर्क गरे।
उनी अहिलेसम्म नेपालका कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैनन्। उनले निर्वाचनको बेला साझा उम्मेदवारको रूपमा प्रस्तुत गरेका थिए। जसका कारण उनी निर्विरोध भए। उनी अहिले पनि एनआरएनएमा कुनै पनि पार्टीको असर हुन नहुने मान्यता राख्छन्।
स्थानीय संस्थाहरूले गर्न नसकेको काम एनआरएनले गर्नु पर्ने उनी बताउँछन्। साथै ठूला सहरमा मात्र नेपाली संस्था हुने भएकाले अब स-सना सहरमा एनआरएनएले कार्यक्रम लागू पर्ने उनको मान्यता छ।
श्रेष्ठले अबको एनआरएनएको गन्तव्य बारे कुनै योजना बनाएका छैनन्। चरम राजनीति भएका कारण काम गर्ने मान्छेलाई एनआरएनएको अन्तर्राष्ट्रिय समितिमा छिर्न सजिलो नभएको उनलाई थाहा छ। कुनै पनि गुटमा नलागेर अघि बढ्न निकै अप्ठेरो रहेको पनि उनले बुझेका छन्। ‘तर पनि भोलि कसैले पनि देखेको छैन। जे पनि हुन्छ,’ उनले भने, ‘म काम गर्दा रमाउने मान्छे हो। कुनै पनि गुटमा नभएकाले अघि बढ्न अप्ठेरो भने छ।’