दिवाकर महर्जन अन्तर्राष्ट्रिय तेक्वान्दोको ‘सुपर क्लास’ (उच्च श्रेणी) को निर्णायक हुने पहिलो नेपाली हुन्। उनी गत वर्ष फर्स्ट क्लासबाट सुपर क्लासको निर्णयकमा बढुवा भएका थिए।
महर्जनले दुई दशकको निर्णायकको करिअरमा विभिन्न चरण पार गर्दै यो सफलता हात पारेका हुन्।
सन् १९९९ मा क्यानडाबाट अन्तर्राष्ट्रिय निर्णायक बनेका महर्जनलाई सुपर क्लासको निर्णायक बन्न २४ वर्ष लाग्यो। यो बीचमा उनी निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बने। संसारका विभिन्न देश पुगे।
विश्व तेक्वान्दोले मान्यता दिएका थुप्रै प्रतियोगितामा निर्णायक बनेका महर्जनलाई आफू कति प्रतियोगितामा निर्णायक बने ठ्याक्कै याद छैन।
विश्वको ठूलो मानिने युएस ओपन जस्ता प्रतियोगितामा उनी धेरै पटक निर्णायक बने। ओसियाना, अस्ट्रेलियासहित ब्राजिलका प्रतियोगितामा पनि उनले निर्णायकको भूमीकामा काम गरे।
विश्वमा सुपर क्लास रेफ्री कमै मात्र हुन्छन्। यस्तोमा श्रेणीमा पुग्न उनले निकै मिहिनेत गरेका छन्।
‘यसका लागि लगनसिलता र निरन्तरतासँगै समय पनि दिन जरुरी छ। आत्मविश्वाससँगै आर्थिक पाटो पनि जोगिएको हुन्छ,’ महर्जनले भने, ‘कतिपय देशमा आफ्नै खर्चमा समेत जानु पर्छ। सुपर क्लासको जज हुनका लागि निकै ठूलो मिहिनेत परेको छ।’
राष्ट्रिय रेफ्री भएपछि अन्तर्राष्ट्रिय रेफ्री बन्ने बाटो खुल्छ। विश्व तेक्वान्दोको परीक्षा पास गरेपछि तेस्रो श्रेणीदेखि तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री हुने प्रावधान छ।
विभिन्न स्थानमा निर्णायकको भूमीका निर्वाह गरेपछि अंक जोडिदै जान्छ। त्यसपछि दोस्रो, पहिलो हुँदै सुपर क्लासको निर्णायक हुन सकिन्छ।
२४ वर्षको अवधिमा उनले निर्णायक काममा निकै परिवर्तन देखेका छन्।
‘पहिला कागजमा लेखेर अंक दिनु पर्ने अवस्था थियो,’ उनले भने, ‘पहिला र अहिलेमा आकास-पातलको फरक छ। पहिले थर्को तानेर अंक दिएर चार जना जजसँग ट्याली गरेर अंक दिँदा निकै झन्झट हुन्थ्यो। अहिले प्रविधिको विकासको निकै सजिलो भएको छ। किक हान्ने बित्तिकै चिप्सको सहायताले आफै अंक जोडिन्छ।’
उनी तेक्वान्दोका आठौं डान समेत हुन्। तेक्वान्दोमा आठौं डान पाउने नेपाली मध्येमा औलामा गन्न सकिने व्यक्तिमा उनी पर्छन्।
नले १९८६ मा पहिलो डान लिएका थिए। ३७ वर्षपछि उनले गत वर्ष आठौं डान लिए।
तेक्वान्दोको स्तर मापन गर्ने डान पाउन सजिलो भने छैन। विभिन्न परीक्षा पास गरेपछि विश्व तेक्वान्दोले यो प्रमाणपत्र प्रदान गर्नेगर्छ।
आठौं डानको परीक्षा दक्षिण कोरियामा रहेको तेक्वान्दोको हेड क्वाटर कुकिवानमा दिनुपर्छ।
‘आठौं डान लिन धुँवा आउछ भन्ने गरिन्छ,’ महर्जनले भने, ‘विश्व तेक्वान्दोको ठूलो हलमा सबैको अगाडि एक एक गरेर लिएको परीक्षा दिएको हुँ। यसमा सफल हुँदा निकै गर्व लागेको छ।’
महर्जनले तेक्वान्दोका डानसँगै हप्किडोको पनि आठौं डानको परीक्षा दिएका थिए। त्यसमा पनि उनी सफल भए।
तेक्वान्दोको सुपर क्लास निर्णायक र आठौं डन लिएर उच्च श्रेणीको तेक्वान्दोकर्मी बनिसकेका महर्जनको बाल्यकाल ललितपुरको पाटनमा बितेको थियो।
उनलाई बाल्यकालमा तेक्वान्दो सिक्न सहज थिएन। मार्सल आर्ट्स खेललाई तत्कालिन सरकारले हेर्ने दृष्टिकोण राम्रो नभएकाले उनले लुकेर तेक्वान्दो सिकेका थिए।
जब नेपालमा औपचारिक रुपमा तेक्वान्दोको विकास हुन थाल्यो, तब उनले पनि खुलेर तेक्वान्दो सिक्न पाए।
दक्षिण कोरियाका चिफ ग्रान्ड मास्टर जेके सिन कोरियाबाट आएर तेक्वान्दो सिकाउन थालेपछि नेपालमा तेक्वान्दो विकास हुन थालेको हो। सन् १९८२ को डिसेम्बरमा पहिलो पटक नेपाल भ्रमण आएका सिनले त्यसपछि नेपालमा तेक्वान्दो भित्र्याएका थिए।
धेरै प्रतियोगितामा भाग लिन नपाएका महर्जनले युवा अवस्थामै तेक्वान्दो सिकाउन थालेका थिए। सन् १९८६ मा उनले दशरथ रंगशालामा सिकाएको क्षण अहिले पनि बिर्सिएका छैनन्। त्यसपछि उनले खेलकुद परिषदमा जागिर समेत पाए।
जागिर पाएपछि ‘पाटनमा जन्मेको मान्छेले थानकोट पनि काटेको छैन होला’ भनेर आफूलाई तत्कालिन महाकाली अञ्चल पठाइएको महर्जन बताउँछन्। हेपेर पठाइए पनि उनले त्यसलाई अवसरको रुपमा लिए। कञ्चनपुर, डडेलधुरा लगायतका जिल्ला गएर तेक्वान्दो सिकाए।
त्यसपछि उनले पाटनमा मैत्री तेक्वान्दो डोजाङ समेत स्थापना गरे। २०५० सालको दर्ता भए पनि उनले दर्ताअघि नै डोजाङ स्थापना गरेका हुन्। अहिलेसम्म पनि यो डोजाङले निरन्तर खेलाडी उत्पादन गरिरहेको छ।
हेपिएको अवस्था र तेक्वान्दो नेतृत्वको कारणले उनलाई नराम्रो महसुस भइरहेको थियो। साथै भविष्यको चिन्ताले झन् पिरोलिरहेको थियो। भाग्यवस त्यति नै बेला जेके सिनले अमेरिका आएर प्रशिक्षण गराउन चिठ्ठी पठाए।
सिनले महर्जनलाई पहिलेदेखि चिनेको थिए। अझ महर्जनको राम्रो स्वभावका करण सिनले उनलाई मन पराउँथे। मैत्री डोजाङ स्थापनापछि महर्जनप्रति सिनको हेर्न नजर राम्रो भएको थियो।
अमेरिका पुगेपछि महर्जनले सिनको डोजाङमा केही महिना तेक्वान्दो सिकाए। सबैले महर्जनको प्रशिक्षणलाई मन पराए।
त्यसपछि उनले त्यहाँका खेलाडीसँग मिलेर सन् १९९५ मा अमेरिकाको पोर्टल्यान्डमा युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडको स्थापना गरे। जुन तेक्वान्दो स्कुल अहिलेसम्म पनि निरन्तर चलिरहेको छ।
अमेरिकामा सुरुमा उनले निकै समस्या झेले। भाषादेखि त्यहाँको प्रणाली बुझ्न उनलाई निकै कठिन भयो। निरन्तरको प्रयासले उनी सफल भए। उनको स्कुलमा सिकेका खेलाडीले विभिन्न प्रतियोगितामा जित्न थाले। त्यसैले स्कुल विस्तारै चर्चित हुन थाल्यो। जहाँबाट उनले नाम र दाम दुवै कम सफल भए। अहिले एकल स्वामित्वमा रहेको स्कुलको आफ्नै भवन छ।
बेइजिङ ओलम्पिक २००८ को अमेरिकाको तेक्वान्दो प्रशिक्षणको क्याम्पमा उनलाई पनि सहभागी गराइएको थियो। उनी अहिले पनि अमेरिकाका अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षकलाई पनि अनुभव साट्ने गर्छन्।
गत महिना तेक्वान्दो स्कुलको २९औं वार्षिकोत्वस मनाएपछि उनी नेपाल आइपुगेका छन्। नेपाल आउनुको करण पनि तेक्वान्दोसँगै जोडिएको छ।
उनले २४ वर्षदेखि विभिन्न देशमा सञ्चालन गरिरहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औं संस्करण आगामी अगस्टमा दक्षिण कोरियामा आयोजना हुँदैछ।
आइओएफटिसीको १४औं संस्करणको नेपाल छनोटका लागि उनी नेपाल आएका हुन्।
आइओएफटिसी सन् २००० देखि सुरू भएको थियो। पहिलो संस्करण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हाल संसद भवन) मा आयोजना भएको थियो। दुई दुई वर्षको अन्तरमा हुने आइओएफटिसी एक संस्करण अमेरिका र अर्को संस्करण दोस्रो देशमा हुँदै आएको छ।
सबैसँग मैत्रीभावस साट्नका लागि प्रतियोगिता सञ्चालन गर्दै आएको निर्देशकको भूमीकामा रहेका महर्जन बताउँछन्।
‘मार्ट्सल आर्ट्समा फाइट खेल्ने खालको मात्र मेन्टालिटी छ। त्यसैले सबैलाई मैत्रीपूर्ण भाव जगाउनका लागि यो प्रतियोगिता आयोजना गर्न थालेका हौं,’ महर्जनले प्रतियोगिताबारे भने, ‘पहिलादेखि नै नेपालमा खुला तेक्वान्दो हुने प्रचलन थिएन। जब म सन् १९९४ मा अमेरिका गएँ। त्यहिँ बेलादेखि नै मेरो मनमा यस्तो कार्यक्रम गर्छु भन्ने सोच थियो। यस्ता कार्यक्रम चलाउदा नेपालको पनि नाम रहन्छ भनेर सुरुवात गरेका हौं।’
अमेरिकामा आधिकारिक रुपमा दर्ता भएको आइओएफटिसीमा महर्जनबाहेक अरु बोर्ड सदस्य अमेरिकाकै छन्। उनले यो प्रतियोगितालाई गैरनाफामुखी बनाएका छन्। सकेसम्म सबै खेलाडीलाई एक्सपोजर दिने उद्देश्यका साथ अघि बढाएका छन्।
तेक्वान्दोको सुपर क्लास रेफ्रीसँगै आठौं डान पाइसकेका महर्जन आइओएफटिसीको निरन्तर सफलताले आफ्नो जीवन पूर्ण भएको बताउँछन्।
भन्छन्, ‘तेक्वान्दोबाट सब सबथोक पाइसके। अनुशासन र मिहिनेतले तेक्वान्दोबाट यो सफलता प्राप्त भएको हो। त्यसलै मेरो जीवन नै तेक्वान्दो हो।’