एरिका गुरूङले कराते खेल्न थालेको १० वर्ष भयो। दुई वर्षअघि भने उनलाई आफ्नो भविष्यको चिन्ताले सतायो। उज्जवल भविष्यका लागि विदेशिने कि खेलाडी बन्ने विषयमा उनी दोधारमा परिन्।
लामो समयदेखि सौखका कारण कराते खेलेकी एरिकाले दुई वर्षअघि करातेमै भविष्य बनाउँछु भन्ने दृढ आत्मविश्वास लिइन्। जुन उनी स्वयंका लागि सहज थिएन।
‘१२ सकिएपछि विदेश जाने कि नेपालमै बसेर करातेमै केही गर्ने भनी दोधारमा पुगेेँ,’ उनले ती पल सुनाउँदै भनिन्,‘त्यो क्षण एकदमै कठिन थियो। किनकि त्यतिका वर्षसम्म मैले मेरो सौखका लागि खेलेकी थिएँ। तर कहिलेसम्म खेल्ने भन्ने सोच आउँथ्यो। अन्तिममा करातेमै भविष्य बनाउँछु भनेर खेल क्षेत्रमा लागेँ।’
उनले निर्णय घरपरिवारलाई सुनाइन्। परिवारका सदस्यले पनि खेलमा गर्न सकिन्छ र! भन्दै शंका गर्दै प्रश्न गर्थे। तर उनी विश्वास गरे सकिन्छ भनेर बुझाउँथिन्।
मध्यम परिवारमा जन्मेकी एरिकाको पुर्खौली घर धादिङ निलकण्ठको लाउरे गाउँ भएता पनि उनको जन्म काठमाडौंमै भयो। १९ वर्षीया एरिका गुरूङको बाल्यकाल मनमैजुमा बित्यो। अहिले पनि उनी त्यहीँ बस्छिन्।
करातेमा सानैदेखि रूचि भएर उनी आएकी भने होइनन्। पहिले आमाले गर्दा गएकी थिइन् तर पछि सिक्दै जाने क्रममा बिस्तारै रूचि लाग्दै गएको बताउँछिन् उनी।
‘मेरो घर अगाडि शुभकामना स्कुलमा बिहान कराते सिकाइन्थ्यो,’ उनले भनिन्,‘मेरो साथीहरू पनि त्यहाँ जाने हुँदा एकदिन ममीले ‘तँ पनि खेल्छेस्’ भनेर सोध्नुभयो। मैले पनि हुन्छ भनेँ।’
त्यसभन्दा अघि उनलाई करातेबारे केही ज्ञान थिएन। घरबाट स्कुल ग्राउण्डमा हेर्दा उनले हानेको मात्र देखेकी थिइन्। कसरी, किन हानिन्छ भन्ने लगायत विषयमा उनी बेखबर थिइन्। कराते सिक्ने प्रशिक्षण केन्द्र (डोजो) मा भर्ना भएपछि मात्रै टेक्निक लगाएर हान्नेलगायत कुरा सिकेको उनी बताउँछिन्।
एरिकाका अनुसार त्यहाँ गुरू निरज महर्जनले बिहान कराते सिकाउँथे। बेलुका भने मनमैजु डोजोमै क्लास लिन्थिन्। आफूलाई समयअनुकूल हुने हुँदा उनी बेलुका कराते सिक्न गुरूको डोजोमै जान्थिन्।
डोजोको वातावरणमा बिस्तारै घुलमिल भएसँगै उनमा करातेको रस पनि पस्दै थियो। सिक्दै जाने क्रममा अन्तर डोजो प्रतियोगितामा सहभागिता जनाइन्। सोही बेला करातेको लत कतिबेला पस्यो उनले पत्तै पाइनन्।
‘पहिले त करातेबारे केही पनि थाहा थिएन,’ उनले भनिन् ,‘जब बिस्तारै खेलबारे बुझ्दै गएँ। तब कतिबेला लत बस्यो थाहा नै पाइनँ। सायद करातेले सिकाएको अनुशासनले गर्दा पनि यसप्रति झन् मोह बस्दै गएको होला।’
खेल क्षेत्रमा लाग्न एरिकालाई परिवारले पहिलेदेखि नै साथ सहयोग गर्थे। चाहे त्यो एक खेलाडीका लागि आवश्यक पर्ने सरसामान किन्न नै किन नहोस्। खेलाडीका लागि चाहिने आवश्यक खानपिनको लागि समेत उनले कहिल्यै कठिनाइ भोग्नु परेन। सबै कुराको व्यवस्थापन हुन्थ्यो।
‘स्कुलमा हुँदा सेफ्टीका लागि सामान किनिदिन आग्रह गर्दा सहजै किनिदिनुहुन्थ्यो,’ उनी भन्छिन्,‘तर पछि प्रोफेसनल्ली खेल्ने सामग्री किन्न भने हिच्किचाउनु हुन्थ्यो। किनकि त्यस्ता सामग्री एकदमै महँगो पर्थ्यो। तर पनि अन्तिममा सेफ्टीका लागि किनिदिनुहुन्थ्यो।’
तर उनलाई जहिले पनि एउटै कुरा खड्किन्थ्यो। उमेर बढेसँगै घरमा केही पनि दिन नसक्ने तर उल्टो घरको सहायताले नै खेल्नुपर्दा भने मन खल्लो हुने गरेको उनी सुनाउँछिन्।
‘कहिलेकाहीँ त कहिलेसम्म घरमा आर्थिक भार दिने भन्ने भान हुन्छ,’ उनले भनिन्, ‘आफूले परिवारमा सहयोग गर्नुपर्ने समयमा उल्टो परिवारले कराते खेल्न ढाडस दिनुहुन्छ। किनकि खेलेरै मात्र आर्थिक हिसाबले जीविकोपार्जन गर्न सक्ने स्थिति छैन।’
खेलमै करियर बनाउँछु भनेर लाग्नेका लागि कठिन हुने उनको अनुभव छ। किनकि जीवनको कुनै बिन्दुमा कहिलेसम्म सौखका लागि मात्र खेल्ने भन्ने हुन्छ। आर्थिक रूपमा खेलाडीका लागि सहज छैन। जसले गर्दा धेरै खेलाडीहरू विदेशिएको समेत उनी बताउँछिन्। त्यसैले उनी पकेट खर्चको लागि स्कुलमा कराते प्रशिक्षकको रूपमा समेत काम गर्ने गरेकी छन्।
पछिल्लो १९ औं एसियाली खेलकुदमा एरिकाले रजत पदक समेत हासिल गरिन्। २५ वर्षपछि करातेमा पहिलोपटक नेपालले व्यक्तिगत स्पर्धामा नेपालले रजत जित्दा उनले इतिहासमा नाम लेखाउन सफल भइन्।
चीनको हाङझाउनमा भएको खेलकुदमा उनी ६८ तौल समूहमा भिडेकी थिइन्।
‘हाम्रो लक्ष्य भनेको पहिलेदेखि नै एसियन गेम्सको सेलेक्सनमा भाग लिने थियो,’ उनले भनिन्, ‘राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो भयो भने सेलेक्सनमा खेल्न पाइन्छ भनेर सुरूमै हामीले एसियन गेम्समा भिड्न सोही अनुसार तयारी गरेका थियौं।’
उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा भने उनले स्वर्ण पदक जितिन्। त्यसपछि सेलेक्सनमा भिड्न पाउने पक्का भयो। क्लोज क्याम्पमा अथाह मेहनत गरिन्, अन्तिममा उनी नै एसियाली खेलकुदका लागि छनोट भइन् र पदक पनि जितिन्।
एसियाली खेलकुदमा फाइनल पुग्दै रजत पक्का गरेपछि राम्रो प्रदर्शन नगरेको हो कि भन्ने भान भएको छ एरिकालाई।
‘दोस्रो स्थान पक्का भएको हुँदा अलि नराम्रो खेलेँ कि जस्तो लाग्छ,’ उनले भनिन् ,‘यदि अझ मेहनत गरेको भए स्वर्ण पदक जित्न सक्थेँ कि जस्तो लाग्छ। खेल हो हारजित हुन्छ। तर हार भयो भन्दैमा निराश हुन पनि हुँदैन। अब आउने खेलका लागि झन् राम्ररी तयारी गर्नेछु।’
एसियाली खेलकुदअघि इन्डोनेसियामा भएको विश्व सितोरियो कराते च्यम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक समेत जितेकी थिइन्।
उनी अहिले नेपालमा हुने साउथ एसियन कराते च्याम्पियनसिपको तयारीमा लागेकी छन्।
हेर्नुहोस् भिडिओ :-