स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) का अध्यक्ष हुन्, गणेश कार्की। जलविद्युत लगानीकर्ताको संस्थाको नेतृत्व गरिरहेका कार्की नेपालका सफल उद्यमीमा गनिन्छन्।
व्यापार-व्यवसाय क्षेत्रमा सफलता हासिल गरिरहेका कार्कीको पृष्ठभूमी भने खेलकुद हो। हाल राष्ट्रिय गोजुरियो कराते संघको अध्यक्ष रहेका कार्कीलाई नेपाल कराते महासंघले हालै सल्लाहकारको जिम्मेवारी दिएको छ।
व्यापार व्यवसायमा उचाइ लिइरहदा पनि कार्कीले खेल क्षेत्रलाई छाड्न सकेका छैनन्। छाडुन पनि किन, उनी व्यापारमा आउनुको मुख्य देन खेलकुद क्षेत्रलाई नै ठान्छन्।
जन्मथलो झापामा उनी स्कुल पढ्दा विभिन्न खेल खेल्थे। जब एसएलसी दिएर २०४२ साल तिर काठमाडौं आए, उनी करातेसँग जोडिए। स्कुलमा आधारभूत ज्ञान नभइ पनि कराते खेलेका उनी काठमाडौं आएपछि पशुपति कलेज पढ्दै बौद्ध डोजोमा कराते सिक्न थाले।
‘कलेज पढ्दा बौद्धमा बसिन्थ्यो। भाग्यवस हामीसँगै करातेका सिनियर गुरु राम लामा क्लास मेट हुनुहुन्थ्यो। पशुपति कलेजमा आइए सँगै पढ्थ्यौं। उहाँ पनि सिकाउन हुन्छ भन्ने थाहा पाएपछि २०४२ सालदेखि कराते खेल्न थाले,’ कार्कीले कलेज जीवन सम्झिए, ‘राम लामासँगै दावा गुरुङ, मजिन्द्र सिंह, चन्द्रमान लामा, देव लामा जस्ता सिनियरले त्यहिँ अभ्यास गराउनु हुन्थ्यो। किनभने बौद्ध त्यतिबेला नाम चलेको थियो।’
त्यतिबेला धेरै प्रतियोगिता हुँदैनथियो। त्यसैले कार्कीले धेरै प्रतियोगितामा भाग लिन पाएनन्।
‘२०४५ सालमा ओपन किङ बक्सिङको राष्ट्रिय खेलमा कास्य जिते। त्यसपछि चितवनमा भएको राष्ट्रिय प्रतियोगितामा पनि कास्य जिते,’ बौद्धबाटै ब्लाकबेल्ट लिएका कार्कीले भने।
खेलाडी जीवनपछि उनी रेफ्री बने। राष्ट्रिय रेफ्रीको कोर्ष गरेपछि देशका प्रतियोगितामा राष्ट्रिय रेफ्री भएर काम गरे। रेफ्री भएपछि उनी गोजुरियो कराते र कराते महासंघको केन्द्रीय सदस्य भए।
अहिले उनी राष्ट्रिय गोजुरियो कराते संघको अध्यक्ष भएको दुई कार्यकाल भइसकेको छ। आठ वर्षअघि अध्यक्ष भएका उनी चार वर्षअघि दक्षिण एसियाली गोजुरियो करातेमा पनि उपाध्यक्ष भएका थिए।
करातेमा रहेर नेपाली खेलकुदमा योगदान दिइरहेका कार्कीले व्यवसायमा लागेको खेलाडी जीवमै हो।
‘म ब्यापारमा लाग्नुमा कराते जोडिएको छ। हामी बौद्धमै कराते खेल्थ्यौ। खेल्दाखेल्दा त्यहाँ व्यापारी साथी पनि थिए। कराते खेल्दा जागिर खादै खेल्ने भन्ने थियो। साथीले जागिर किन खाने व्यापार गर्ने भन्थे,’ आफू व्यापारमा लागेको सुरूवाती दिनबारे कार्कीले भने, ‘त्यतिबेला गलैचाको धागोको काम सुरु गरियो। हामीसँगै कराते खेल्ने दिनेश श्रेष्ठले धागोको व्यापार गर्नु हुँदो रहेछ। उहाँले तिमीहरूले पनि गलैचाको धागो बनाए नाफा हुन्छ भन्नुभयो। आफ्नो समयमा काम गर्दा करातेको अभ्यास गर्न पनि पाइन्छ भन्ने भयो। त्यसपछि काम गरेका थियौ। अरु साथी पनि थिए। उहाँले कसरी र कहाँ गर्ने व्यापार गर्ने पनि सिकाइदिनु भयो।’
सुरुमा धागोको व्यापार सुरु गरे। करातेसँग सम्बन्धित मान्छेहरुको गलैचाको फ्याक्ट्री भएकाल धागो बेच्न पनि सजिलो भयो। उनलाई कराते खेलेर फाइदै भयो।
त्यसपछि गलैचाको फ्याक्ट्री नै राखे।
२१-२२ वर्ष उमेरको भए पनि करातेले आत्मविश्वास दिएकाले व्यवसाय सुरु गरेको उनी बताउँछन्।
‘म पनि गर्न सक्छु भन्ने लागेरै व्यापारमा हात हाल्न आँट आयो,’ कार्कीले भने।
अहिले पनि उनको काममा काहिँ न काहिँ कराते जोडिएकै हुन्छ।
गलैजको धागो पछि पस्मिनाको व्यापार हुँदै उनी अहिले जलविद्युतमा लगानी गरेका छन्। उनी सिंगटी हाइड्रोपावरका कार्यकारी निर्देशक, पिपल्स हाइड्रोपावरका निर्देशक, बेनी हाइड्रोपावरका प्रवन्ध निर्देशक र युनियन हाइड्रोपावरका निर्देशक छन्।
यस्तै उनी नेपालका लागि मरिससका अवैतानिक महावाणिज्यदूत समेत हुन्।
जलविद्युत लगानी गर्दै इपानको अध्यक्ष हुँदै गर्दा पनि करातेलाई पनि निरन्तरता दिन पाएकोमा उनी खुसी छन्।
‘व्यापार गरेर पैसा कमाउनु र खेलकुद फरक हो। खेलकुदमा छुट्टै खलाको प्यासन र माया हुँदो रहेछ। खेलकुदका साथीभाइ र वातावरण जुन छ त्यसले फरक पार्छ। अरु थुप्रै सामाजिक संस्थामा मानिस आउँछन् जान्छन्। तर खेलकुदमा भने आफूले खेलेको करातेको सेतो पहिरन देख्दा भेट्दा अर्कै खालको आनन्द आउँछ र गर्वको महसुस हुँदो रहेछ,’ उनले खेलकुदप्रतिको माया दर्शाए।
उनी खेलकुदबाट हासिल गरेको ज्ञानले आफू व्यवसायमा सफल भएको पनि ठान्छन्।
‘खेलकुदमा हासिल गरेको ज्ञानले, हार-जितलाई आत्मसाथ गर्ने बाँनी, यस्तै खेलकुदमा विपक्षीको कमजोर र बलियो पक्ष केलाइन्छ। खेलपछि विपक्षीसँग अगालो मारेर सम्मान गरिन्छ। खेलकुदको यो संस्कारले व्यपारमा पनि धेरै फाइदा पुग्छ। खेलकुदले जित्न र हार्न पनि सकियो। हार्दा पु:न मिहिनेत गर्ने भन्ने पनि सिकियो। खेलकुदमा लागेपछि धेरै ठूलो सफलता पार्दा हुने घमन्ड पनि चुर हुदोरहेछ। व्यापार पनि त्यहिँ सन्देशले फाइदा गरेको छ,’ उनले भने।
खेलकुदमा लागेको मानिस सालिन हुने पनि उनले अनुभव गरेका छन्। सबैलाई सम्मान गर्ने बानी पनि खेलकुदले सिकाउन सफल हुने उनले बताए।
‘यहाँ त अलिअलि पैसा कमाए पछि कसैलाई नचिन्ने, मान्छे नै नगन्ने खालको वातावरण समेत हुन्छ,’ उनले अनुभव साटे, ‘खेलकुदबाट आएको मान्छेमा यस्ता खालका घमन्ड कम हुँदा रहेछ। व्यपारमा घाटा हुँदा पनि आफूलाई संयम बनाएर लैजान सक्ने ज्ञान मैले खेलकुदबाटै पाएको हुँ।’
यस्तै खेलकुदको प्रतिस्पर्धाले व्यापारमा प्रतिस्पर्धीसँग गर्ने व्यवहार आफूले सिकेको उनले बताए।
उने भने,‘खेलकुदमा अघि बढ्नका लागि स्वस्थ प्रतिस्पर्धा हुन्छ, फेयरप्ले हुन्छ। जितिसकेपछि पनि हार्नेसँग मित्रता हुन्छ। व्यापारमा पनि थ्रुपै खालका प्रतिस्पर्धा हुन्छ। आफू उच्च स्थानमा पुगेपछि अरुलाई पनि त्यो स्थानमा कसरी लैजाने भन्ने भावना खेल क्षेत्रमा लागेपछि आउँदो रहेछ।’
उनले आफूले बौद्धमा कराते नसिकेको भए व्यापारमा लाग्न गाह्रो हुन सक्ने बताए।
‘मेरो खेलकुद पृष्ठभूमी थिएन भने म अर्कै क्षेत्रमा जान्थे होला। किनभने कराते खेल्दा जुनखालका साथीसर्कल भयो, त्यसले मलाई फाइदा भयो। अरुलाई ती मानिससँग भेट्न धेरै मिहिनेत गर्न पर्थ्यो। मलाई अलिकति सजिलो भयो। जहाँ गए पनि खेलकुदका मान्छे भेटिन्छन्,’ कार्कीले भने, ‘अहिले पनि जहाँ जादा पनि कारतेका साथीभाइ भेटिन्छ। अरु क्षेत्रमा लागेको भए मलाई व्यापारमा माथि आउनलाई धेरै परिश्रम गर्नु पर्थ्यो होला सायद। तर मैले खेलकुद मिसयुज भने कहिल्यै गरिन। मैले यसका राम्रा कुरा लिएर अघि बढ्न कोशिस गरे।’
धेरै कम्पनीमा आबद्धता तथा इपानको नेतृत्वमा भएका कारणले अहिले उनले चाहेर पनि कारतेका लागि धेरै समय दिन पाएका छैनन्।
काम गर्ने इच्छा हुँदा हुँदै पनि समयका कारणले करातेका लागि योगदान दिन नपाएको महसुस गरेका छन्। तर पनि उनी अझै करातेलाई सहयोग गरेर अर्को स्तरमा पुर्याउन चाहान्छन्।