नेकपा एमालेको शुक्रबारबाट सुरू ५८औं सचिवालय बैठकमा सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
मध्याह्नबाट सुरू सचिवालय बैठक शुक्रबार झन्डै ६ घन्टा चलेको थियो।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा 'बादल', गुरू बराल, महासचिव शंकर पोखरेल, उममहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए। त्यसमध्ये उपाध्यक्ष शाक्यले मुखै फोरेर अध्यक्षको राजीनामा माग गरेको एक सचिवालय सदस्यले जानकारी दिए।
'युवाहरूको आन्दोलन, विद्रोहको भावनालाई आत्मसात् गर्दै पार्टी पुनर्गठनको दिशामा जानुपर्छ। पार्टी पुनर्गठनसँगै नेतृत्व पुनर्गठन पनि हुनुपर्छ,' उपाध्यक्ष शाक्यको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'पार्टी अध्यक्षले राजीनामा दिनुपर्छ।'
उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि 'राजीनामा' भन्ने शब्द नै प्रयोग नगरे पनि ओलीको नेतृत्वमा पार्टी आन्दोलन अघि बढ्न सक्दैन र उनले मार्गप्रशस्त गर्नुपर्छ भनेको अर्का सचिवालय सदस्यले बताए।
ओलीनिकट एक पदाधिकारीले भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबाहेक अरूले राजीनामा माग नगरेको दाबी गरे।
'आज बोल्ने केही सचिवालय सदस्यहरूले पार्टी पुनर्गठनको कुरा गर्नुभएको थियो,' ती पदाधिकारीले भने, 'उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने राजीनामा नै दिनुपर्ने बताउनुभयो।'
संस्थापन इतर समूहले भने गुरू बरालले बाहेक सबै उपाध्यक्षको मत पार्टी पुनर्गठनकै पक्षमा रहेको बताएका छन्।
शुक्रबारको बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी पुनर्गठन आजको अहम् प्रश्न भएको बताएका थिए।
त्यस्तै, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा 'बादल' को धारणा पनि पार्टी आन्दोलनको पुनर्गठन अपरिहार्य रहेको र त्यसका लागि नेतृत्व पुनर्गठनको खाँचो औंल्याएको ती नेताको दाबी छ।
उपाध्यक्ष गुरू बरालले भने पार्टी, आन्दोलन र त्यसको नेतृत्वमाथि षड्यन्त्र र आक्रमण भइरहेका बेला कमजोर बनाउने गरी पुनर्गठनको कुरा उठाउन नहुने धारणा राखेका थिए।
'नेतृत्व संकटमा परेका बेला, नेतृत्वविरूद्ध षड्यन्त्र भइरहेका बेला झन् अप्ठ्यारोमा पार्ने कुरा गर्नु हुँदैन,' उनले बैठकमा भनेका थिए।
महासचिव शंकर पोखरेलले पनि पार्टी र पार्टी आन्दोलन संकटापन्न अवस्थामा पुगेका बेला नेतृत्व भाग्न नमिल्ने धारणा राखेका थिए।
'पार्टीमा अवश्य चुनौतीहरू आउँछन्। त्यस्तो परिस्थितिमा नेतृत्व भाग्न मिल्दैन। नेतृत्वले सामना गर्ने हो,' उनको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने।
केही सचिवालय सदस्यले अहिले नै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्ष तोकेर महाधिवेशनमा जानुपर्ने विकल्पबारे पनि धारणा राखेका थिए। त्यसो नगर्ने हो भने छिटो महाधिवेशनमा गएर पार्टी र नेतृत्व पुनर्गठनको प्रश्न निरूपण गरिनुपर्ने पनि उनीहरूले बताएका थिए।
संसद पुनःस्थापनाबारे सचिवालय विभाजित
शुक्रबारको सचिवालय बैठक सुरू गर्दै अध्यक्ष ओलीले एमाले संसद पुनःस्थापनाको मुद्दामा अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन्।
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक बाटोबाट बनेकाले मुलुकलाई विधिमा फर्काउन, लोकतान्त्रिक प्रणालीमा हिँडाउन संसद पुनःस्थापना विकल्पहीन बाटो भएको उनले बताएका थिए।
संसद पुनःस्थापनाको पक्षमा अहिलेसम्म बलियोसँग दुई जनाले मात्र धारणा राखेको ओलीनिकट एक सचिवालय सदस्यले जानकारी दिए।
ती पदाधिकारीका अनुसार उपाध्यक्ष रामबहादुर थापा 'बादल' र महासचिव शंकर पोखरेलले संसद पुनःस्थापनाको पक्षमा धारणा राखेका छन्।
कार्की नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने र मुलुकलाई प्रणालीमा हिँडाउन नसक्ने भन्दै संसद पुनःस्थापनातर्फ जानुपर्ने उनीहरूको समान धारणा थियो।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले भने संसद पुनःस्थापनाको बाटो समात्दा पार्टी आन्दोलन झनै रक्षात्मक हुने, मुद्दा स्थापित गर्न पनि गाह्रो हुने बताएका थिए।
विष्णु पौडेल लगायत केही सचिवालय सदस्यले चुनावको सर्त र संसद पुनःस्थापनाको विषय सँगै लगेर निर्वाचन नहुने परिस्थितिमा त्यता लाग्दा माहौल पार्टीको पक्षमा हुनसक्ने धारणा राखेका थिए।
'तर अध्यक्षको मनोदशा बुझ्दा नेपाली कांग्रेसको निर्णय पर्खिएजस्तो लाग्छ, कांग्रेसले छलफल कसरी संगठित गर्छ एमालेले त्यही आधारमा निर्णय गर्ने देखिन्छ,' ती नेताले सेतोपाटीसँग भने।
'विद्या भण्डारीको सदस्यता रोक्न हुँदैन'
शुक्रबारको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे पनि कुरा उठेको छ। आज बोल्नेमध्ये गुरू बराल र अष्टलक्ष्मी शाक्यबाहेक सबैले विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने धारणा राखेको ती नेताले बताए।
'विद्या भण्डारीको सदस्यता रोक्दा पार्टी पंक्तिमा निराशा छाएको छ। पार्टीको लोकतान्त्रिक चरित्रमा प्रश्न उठेको छ। संविधान, पार्टी विधानले नरोकेको कुरा पार्टी निर्णयबाट रोक्न मिल्दैन, उहाँलाई सदस्यता दिइनुपर्छ,' आज बोल्ने अधिकांश सदस्यको धारणा एकत्रित गर्दै एक नेताले सेतोपाटीसँग भने।
गत साउन ५ र ६ गते बसेको केन्द्रीय समिति बैठकले विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै पार्टीमा फर्कन रोक लगाएको थियो।
गत भदौ १९ गते बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, रामबहादुर थापा 'बादल', सचिव योगेश भट्टराई र गोकर्ण विष्टले भण्डारीको सदस्यता रोक्दा राम्रो सन्देश नगएको भन्दै पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए।
एमाले सचिवालय बैठक शनिबार पनि बस्नेछ।