सन् २००६ मा श्रीलंकामा भएको दशौं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली तेक्वान्दो खेलाडीको अन्तिम छनोट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा चलिरहेको थियो। श्रीलंकामा आफ्नो देशको झण्डाबाट खेल्नका लागि खेलाडीहरू अन्तिम प्रतिस्पर्धामा थिए।
पुरुष ५४ केजीमुनि तौल समूहको भिडन्तमा मुलपानी डोजाङका अशोक खड्कासहित कुमार मानन्धर र सुरेन्द्र शाहीबीच अन्तिम प्रतिस्पर्धा भइरहेको थियो।
अशोकले सुरेन्द्रसँग खेलेका अघिल्ला तीन भिडन्तमा जित हासिल गरेका थिए। यसपटक पनि अशोक आत्मविश्वासका प्रतिस्पर्धामा होमिएका थिए।
तर दुर्भाग्य सुरेन्द्रबिरुद्धको प्रतिस्पर्धाको अन्तिम क्षणमा दु:खद् घटना घट्यो। अशोकको नली खुट्टामा सुरेन्द्रको किक लाग्यो। किक लागेपछि जुरूक्क उठेका अशोक छाँगाबाट खसे झैं भए। उनको देब्रे खुट्टा बेस्सरी दुखेको थियो । खेल अघि बढाउने अवस्थामा थिएनन्। वाक ओभर दिन बाध्य भए।
पछि सुरेन्द्रलाई हराएर कुमार सागमा छनोट भए, तर अशोकको सपना भने चकनाचुर भयो। त्यो क्षण सम्झिदा अशोक अहिले पनि भक्कानिन्छन्।
०००
२०५० सालमा मुलपानीमा तेक्वान्दो सिक्न थालेपछि उनले जुन लक्ष्य राखेर मिहिनेत गरेका थिए, तर क्षणभरमै उनको लक्ष्य समाप्त भएको थियो।
२०५० सालमा मुलपानीको घोडा-तबेला (हाल माथिल्लो क्रिकेट मैदान) मा राजकुमार ढुंगानाले तेक्वान्दो सिकाउथे।
आमासँगै हिड्दै गरेका बालक अशोक तेक्वान्दो खेलाडी देखेपछि निकै आकर्षित भए। उनलाई पनि तेक्वान्दो खेलाडी बन्न मन लाग्यो।
तेक्वान्दो खेलाडी बन्ने इच्छा बुबालाई सुनाए। तर बुबाले आर्थिक अवस्थाका कारण खेल्न पठाउन सकेनन्।
डोजाङमा भर्ना हुन सय रुपैयाँ लाग्थ्यो। अशोकले जुक्ति निकाले, नजिकै रहेको डिपोमा गएर गिट्टी कुट्ने अनि पैसा जम्मा गर्ने। त्यतिबेला एक ड्वाङ्गको पाँच रुपैयाँ आउथ्यो। उनले एक साता गिट्टी कुटेपछि सय रुपैयाँ जम्मा गरे। अनि डोजाङमा भर्ना भए।
एउटा दृढ इच्छाले तेक्वान्दो खेल्न थालेका अशोक केही समयमै तेक्वान्दोका कलामा निपूण भइसकेका थिए। तौल र उचाइ सानो भए पनि उनी सिनियर खेलाडीलाई टक्कर दिन सक्ने भइसकेका थिए।
कम तौल भएकाले उनले केही वर्ष उमेर समूहका प्रतियोगिता खेल्न बाध्य भए। एसएलसी दिएपछि भने उनले राष्ट्रिय प्रतियोगिता खेल्न थाले। नेपाल तेक्वान्दो संघको सातौं राष्ट्रिय प्रतियोगिता उनले खेलेको पहिलो सिनियरस्तरको प्रतियोगिता हो।
विभागीय टिमका खेलाडीलाई पछि पार्दै उनी पहिलो प्रतियोगितामै फाइनल पुगे। फाइनलमा पराजित हुँदा उनले पहिलो प्रतियोगितामा रजतमा चित्त बुझाए।
त्यसपछि उनले २००२ मा कोरियन एम्बासडर प्रतियोगितामा स्वर्ण जिते। त्यसपछि उनी प्रतियोगिता खेल्न भारतको दार्जलिङ लगायतका स्थानमा समेत पुगे।

राष्ट्रियस्तरका प्रतियोगिता राम्रो प्रदर्शन गरेपछि अशोकको इच्छा देशको प्रतिनिधित्व गर्दै दक्षिण एसियली खेलकुद (साग) खेल्न थियो। त्यसका लागि उनले कडा मिहिनेत गरेका थिए।
तर कभर्ड हलमा भएको अन्तिम छनोटमा भएको दुर्घटनाका कारण उनले देशका लागि खेल्ने अवसर भने २००६ मा पाउन सकेनन्। फाइनलमा सुरेन्द्र शाहीविरुद्ध खेल्दा भएको दुर्घटनापछि उनको खुट्टा प्लास्टर गरिएको थियो। केही दिन आफ्ना साथीसँगै होटलमा बसेपछि उनी घर फर्किएका थिए।
उनी घर फर्किएपछि साथीहरू सागमा भाग लिन श्रीलंका गए। तर उनी मन अमिलो पार्दै टेलिभिजन हेरेर बस्न बाध्य भए। ‘सागमा नेपालका लागि पदक जित्ने लक्ष्यसहित कडा मिहिनेत गरेका थिएँ। तर दुर्भाग्यबस अन्तिम छनोटमा खुट्टा भाँचिदा मेरो सपना पूरा हुन सकेन, निकै नरमाइलो लागेको थियो’ त्यो सम्झदा निकै भावुक बनेका अशोकले भने।
खुट्टा बाँचिएको केही महिनापछि उनी ठिक भए। फेरि मैदान फर्किए। अनि तेक्वान्दोमा पदक जित्न सम्पूर्ण शक्ति खर्चन थाले।

२००७ मा उनी प्रतियोगिता खेल्न भारतको लखनउ पुगे। क्वार्टरफाइनलमा पुगिसकेका थिए उनी। दुर्भाग्य फेरि अर्को दुर्घटना भयो।
अघिल्लो वर्ष साग छनोटमा झैँ उनको देब्रे खुट्टा फेरि बिपक्षीको खुट्टामा बजारियो। त्यतिबेला उनले ८-० ले अग्रता लिइरहेका थिए। अन्तिम २० सेकेन्डको समय बाँकी थियो। त्यो खेल जितेको अवस्थमा उनले सेमिफाइनलमा पुग्दै कम्तिमा कास्य पदक पाउथे। त्यसैले खुट्टा लतार्दै उनी म्याटमा डटिरहे। त्यतिबेला उनलाई विपक्षीले लगातार हानिरहेको थियो। उनी सहेरै बसे।
त्यसपछि उनले खेल्न सकेनन्। कास्यमा चित्त बुझाए। भाँचिएको देब्रे खुट्टाको प्लास्टर मात्र गरियो। निकै दुखेपछि उनी रातारात नेपाल फर्किए।
जोरपाटीको नेपाल अर्थोपेडिक अस्पताल पुग्दा थाहा पाए, भारतमा उनको उपचारमा गम्भीर लापरबाही भएको रहेछ। अप्रेसन गर्नु पर्ने खुट्टामा प्लास्टर मात्र गरिएको रहेछ।
प्लास्टर खोलेर हेर्दा उनको नली खुट्टाको हड्डी पाकेको थियो। जसका कारण उनी लामो समय अस्पताल बस्न पर्ने भयो। उपचारमा लाखौं खर्च लाग्यो।
१३ महिनाको बीचमा १४ अप्रेसन गरियो। १३ महिनापछि घर फर्किएका अशोकले त्यतिबेला पनि तेक्वान्दो छाड्ने बारे भने सोचेका थिएनन्। उनले अस्पतालकै शय्याबाट फेरि पनि खेलमा फर्कने समेत घोषणा गरेका थिए।
फेरि खेलमा फर्कने बाचा अनुसार उनी बिस्तारै अभ्यास गर्न थाले। त्यतिबेला उनले आफू बैशाखी टेकेर पनि अरुलाई तेक्वान्दो सिकाउने गर्थे।
२०६८ सालामा सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुदमार्फत् उनी फेरि खेलमा फर्किए। त्यतिबेला उनी गेरोगी (फाइट) बाट पुम्से (कला प्रदर्शनी) मा स्थानन्तरण भएका थिए।
धनगढीमा उनले पुम्सेमा स्वर्ण जित्दै आफ्नो पुनरागमनलाई यादगार बनाए। त्यसपछि उनले दक्षिण कोरिया लगायतका देशमा भाग लिदै स्वर्ण पदक समेत जित्न सफल भए।
खेलाडी जीवनमा संघर्ष नै संघर्ष गरेका अशोक बिस्तारै प्रशिक्षणतर्फ लागे। आफू घाइते भएको बेला बैशाखी टेकेर तेक्वान्दो सिकाएका अशोकले मुलपानीमा आर्मीलाई तेक्वान्दो सिकाए।
मुलपानी तेक्वान्दो डोजाङमा मुख्य प्रशिक्षण गराएका अशोकले अहिलेसम्म ४५० भन्दा बढी ब्ल्याकबेल्ट खेलाडी उत्पादन गरिसकेका छन् भने ५ हजार बढीलाई तेक्वान्दो सिकाइसकेका छन्।
सामाजिक काममा समेत उति नै सक्रिया अशोकले यौनजन्य हिंसामा परेका महिलाहरूलाई पनि निशुल्क तेक्वान्दो सिकाए। रक्षा नेपालसँगको सहकार्यमा महिलाहरूलाई तेक्वान्दो सिकाउन पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छन्।
यौनहिंसामा परेकी पूजा बोहरालाई पनि उनले नै तेक्वान्दो सिकाएका थिए। पूजाले कोरियामा भएको एक प्रतियोगिता स्वर्ण पदक जितेपछि भनेको कुरा उनले अहिलेसम्म पनि बिर्सेका छैनन्। ‘गुरु मैले पहिले नै तेक्वान्दो सिकेको भए ममाथि त्यस्तो घटना हुँदैन थियो होला हैं,’ पूजाले यति भन्दा अशोक स्तब्ध बनेका थिए।
चेपाङ बालबालिका, जेल परेका अभिभावका छोराछोरी, विभिन्न समस्या परेका बालकालिका उनले तेक्वान्दो सिकाए।
२०१८ मा उनको करिअरले अर्को मोड लियो। उनले अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा भाग लिने मौका पाए। पुम्से र गेरोगी दुवै विधामा भाग लिएका उनी ‘वेस्ट फर्फमर’ समेत भएका थिए। यो कोर्षलाई विश्व तेक्वान्दो महासंघले मान्यता दिएकाले उनी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि निर्णायक बन्न योग्य बने।
त्यसपछि उनले विश्वका ३५ बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेका छन्। कतिपय प्रतियोगितामा उत्कृष्ट रेफ्रीको अवार्ड समेत जितेका छन्।
२०१९ मा उनले पारा रेफ्री कोर्ष समेत गरे। उत्कृष्ट अंक ल्याएपछि उनी टोकियो प्यारालिम्पिकको रेफ्री छनोटका लागि सहभागी भएका थिए। तर लकडाउका कारण अन्तिम छनोटमा भने उनले भाग लिन सकेनन्।
हालै अशोकले बुल्गेरियाको सोफियामा भएको तेक्वान्दोको विश्व च्याम्पियनसिपमा निर्णायकको भूमीका निर्वाह गरेका थिए। उनी प्रतियोगिताको उत्कृष्ट रेफ्री मध्येका एक थिए।

सामाजिक काममा समेत उतिकै सक्रिय रहने अशोकले २०७२ को भूकम्पको बेला विभिन्न स्थानमा १४ वटा टहरा निर्माण गरेका थिए। काठमाडौंको कागेश्वरी मनोहरा, शंकरापुर, भक्तपुरको सूर्यबिनायक र काभ्रेको पाँचखाल नगरपालिकामा उनले पिडितका लागि टहरा बनाएका थिए।
कोरोना भाइरसको पहिलो र दोस्रो लहरका दौरान उनले ४ हजार बढीलाई राहत उपलब्ध गराएका थिए। उनले बेलाबेलामा मृर्गौला पिडित, अनाथ, अपाङ्गका लागि सहयोग गर्ने गरेका छन्।
