सकिबुल गानीले भारतीय पुरुष लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने रेकर्ड बनाएका छन्।
२०२५-२६ विजय हजारे ट्रफीको (भारतको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता) पहिलो दिन गानीले ३२ बलमा शतक प्रहार गरेका हुन्।
बुधबार नै इशान किशनले ३३ बलमा कीर्तिमानी शतक प्रहार गरेका छन्।
त्यसअघि वैभव सूर्यवंशीले ८४ बलमा १९० रनको बनाएका थिए। उनले ३६ बलमा शतक प्रहार गरेका थिए।
१४ वर्षीय सूर्यवशींले सबैभन्दा कम उमेरमा लिस्टमा शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए। पहिलो दिनमा तीनै क्रिकेटरले रेकर्ड बनाए।
भारतीयहरूबाट लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो चार शतकमध्ये तीनवटा एकै दिन दुई फरक ठाउँहरू अहमदाबाद र राँचीमा बनेका थिए।
गानीको भन्दा छिटो शतक मात्र दुई खेलाडीले बनाएका छन्: जेक फ्रेजर-म्याकगर्क र एबी डे भिलियर्स।
विहारका सूर्यवंशी र गानीले अरुणाचल प्रदेशविरूद्ध शतक प्रहार गर्दा झारखण्डका इशान किशनले कर्नाटकविरूद्ध शतक प्रहार गरेका थिए।
एक हप्ता अघि झारखण्डसँग सैयद मुश्ताक अली ट्रफी (भारतको टी-२० राष्ट्रिय क्रिकेट) जित्ने क्रममा शतक बनाएका र सर्वाधिक रन प्रहार गर्ने ब्याटरको सूचीमा शीर्ष स्थानमा रहेका किशनले अहमदाबादमा कर्नाटकविरुद्ध विजय हजारे ट्रफीको पहिलो दिन यस्तो कीर्तिमान शतक बनाएका हुन्।
गानीले किशनले शतक बनाउनुभन्दा केही मिनेट अघि रेकर्ड नाम लेखाए। जब उनले राँचीमा अरुणाचल प्रदेशविरुद्ध बिहारले ५७४ रन बनाउने क्रममा मात्र ३२ बलमा शतक बनाए।
किशन न्यूजिल्यान्ड सिरिज र आउँदो महिनाको टी२० विश्वकपका लागि भारतीय टी२०आई टिममा फर्किएका थिए, उनले आफ्नो इनिङमा ७ चौका र १४ छक्का हाने, र ३९ बलमा १२५ रन बनाए।
झारखण्डले पहिले ब्याटिङ गर्दा लगाएपछि ४१२/८ को ठूलो स्कोर बनायो। उनी नम्बर ६ मा कुमार कुशाग्राको विकेट ३८ ओभरमा खसेपछि ब्याटिङ गर्न आए र २० बलमा अर्धशतक बनाए। त्यसपछि अर्को १३ बलमा दुई चौका र सात छक्का हानेर शतक पूरा गरे। कर्नाटकविरुद्ध झारखण्डले ४१२ रन जोडे पनि उसले हार ब्यहोरेको छ। कर्नाटकले देवदुत पाडिकलको १४७ रनको मद्दतमा १५ बल अघि नै लक्ष्य पूरा गरेका छन्।
‘जब म भारतीय टिममा छानिन सकिनँ, मलाई धेरै नराम्रो लाग्यो किनकि म राम्रो गर्दै थिएँ,’ किशनले गत हप्ता झारखण्डलाई सैयद मुश्ताक अली ट्रफी जिताएपछि भनेका थिए,’ ‘तर मैले आफैंलाई भने कि यदि यो प्रदर्शनले पनि छानिएन भने, मलाई अझ बढी गर्नुपर्छ। सायद मेरो टिमलाई जिताउनुपर्छ। सायद हामीले टिमको रूपमा राम्रो गर्नुपर्छ।’
किशनले सैयद मुश्ताक अली ट्रफी सिजनमा ५१७ रन बनाए र फाइनलमा शतक (४५ बलमा) बनाउने दोस्रो खेलाडी बने। उनले ३३ छक्का हाने, जुन ट्रफीमा सबैभन्दा बढी थियो।
प्रतियोगितामा आज मुम्बईका रोहित शर्मा र दिल्लीका विराट कोहलीले पनि शतक प्रहार गरेर आ-आफ्नो टोलीलाई जिताएका छन्।