इंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई चोटले सताएको छ। अलराउन्डर नीतीश कुमार रेड्डी र तीव्र गतिका बलर अर्शदीप सिंह घाइते भएपछि टोलीलाई असर गरेको हो।
२२ वर्षीय अलराउन्डर नीतीश कुमार रेड्डी घुँडामा चोट लागेपछि शृंखलाको चौथो र पाँचौं टेस्टबाट बाहिरिएका छन्।
लर्ड्समा भएको तेस्रो टेस्टमा रेड्डीले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले पहिलो इनिङ्समा इंग्ल्यान्डका ओपनर बेन डकेट र ज्याक क्राउलीलाई एउटै ओभरमा आउट गर्दै भारतलाई खेलमा फर्काएका थिए भने ब्याटिङमा पनि क्रमशः ३० र १३ रनको योगदान दिएका थिए।
यस्तै बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंह पनि चौथो टेस्टबाट बाहिरिएका छन्। अभ्यासका क्रममा नेटमा बलिङ गर्दा उनको बायाँ हातको औंलामा चोट लागेको हो। बिसिसिआईको मेडिकल टोलीले उनको अवस्थाको निगरानी गरिरहेको छ।
उनको ठाउँमा भारत 'ए' टिमको इंग्ल्यान्ड भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर अंशुल कम्बोजलाई टोलीमा समावेश गरिएको छ।
कम्बोजले हालैको घरेलु सिजनमा रणजी ट्रफीको एउटै इनिङ्समा सबै १० विकेट लिने तेस्रो बलर बनेर इतिहास रचेका थिए। भारत 'ए' टिमबाट खेल्दा पनि उनले ५ विकेट लिनुका साथै एक अर्धशतक बनाएका थिए।
यी दुई खेलाडी घाइते हुनुअघि नै भारत चोटको समस्यासँग जुधिरहेको थियो। टोलीका उपकप्तान ऋषभ पन्तले पनि तेस्रो टेस्टमा औंलामा चोट बोकेका थिए।
पाँच खेलको टेस्ट शृंखलामा भारत हाल १-२ ले पछाडि छ। भारतले हेडिङ्ग्लेमा भएको पहिलो र लर्ड्समा भएको तेस्रो टेस्ट हारेको थियो भने एजब्यास्टनमा भएको दोस्रो टेस्ट ३३६ रनको फराकिलो अन्तरले जितेको थियो।
अब भारत र इंग्ल्यान्डबीचको चौथो तथा महत्त्वपूर्ण टेस्ट जुलाई २३ बाट म्यानचेस्टरमा सुरु हुनेछ।
चौथो टेस्टका लागि भारतको टोली:
शुभमन गिल (कप्तान), ऋषभ पन्त (उपकप्तान र विकेटकिपर), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, रवीन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आकाश दीप, कुलदीप यादव, अंशुल कम्बोज।