जापानको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) नेता सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।
अक्टोबर ४ मा संसदको सबभन्दा ठूलो दल सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेता चुनिएकी टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्।
उनले प्रतिनिधिसभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। बहुमतका लागि २३३ मत आवश्यक रहेकोमा त्यो सीमा पार गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो।
सन् २०२१ र गत वर्ष गरी दुई पटकको दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची तेस्रो प्रयासमा एलडिपीको नेता चुनिएकी थिइन्।
उनले पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिनजिरो कोइजुमीलाई अप्रत्यासित रूपमा हराएर सत्तारूढ एलडिपीको नेता बनेकी थिइन्।
चरम लैंगिक असमानता र परम्परावादी सोच भएको जापानको उनी पहिलो महिला प्रधानमन्त्री त बनिन्, तर उनी आफै परम्परावादी विचारधारा नै राख्छिन्।
विवाहित जोडीले बेग्लाबेग्लै थर राख्न पाउनुपर्ने र राजाकी छोरीले पनि राजगद्दीमा बस्न पाउनुपर्ने महिला अधिकारका दुई प्रमुख जापानी मागको उनी विरोध गर्छिन्।
विवाह दर्ता गर्न र राज्यबाट पाउने सेवाका लागि जापानमा जोडीको एकै थर हुनुपर्छ। महिला वा पुरूष जसको थर प्रयोग गरे पनि दर्ताका लागि दुवैको एकै थर हुनुपर्छ।
भन्नका लागि महिलाको थर राख्न पाइने भए पनि लैंगिक असमानता भएको समाजमा प्रायः महिलाले श्रीमानको थर प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ। पछिल्लो समय श्रीमान र श्रीमती दुवैलाई आ–आफ्नो थर प्रयोग गर्न दिनुपर्ने माग उठिरहेको छ।
टाकाइची भने त्यसको विपक्षमा छिन्।
राजनीतिक यात्रा र विचारधारा उनकी आमा प्रहरी अधिकृत थिइन् भने बुबाले एक कार कम्पनीमा काम गर्थे।
युवा अवस्थामा उनले हेवी मेटल ब्यान्डमा ड्रम बजाउने काम गरिन्। केही समय टेलिभिजनमा समाचार वाचकको पनि काम गरेकी टाकाइची सन् १९९३ मा पहिलो पटक सांसद निर्वाचित भएकी थिइन्।
एक्काइसौं शताब्दीमा लामो समयसम्म जापानका प्रधानमन्त्री रहेका सिन्जो आबेको छत्रछायामा उनी राजनीतिमा अघि बढिन्। सन् २०२० मा प्रधानमन्त्रीबाट राजीनामा दिएपछि आबेले टाकाइचीलाई नै पार्टी नेतृत्वमा देख्न चाहेको मानिन्छ।
तर सन् २०२२ मा हत्या गरिएका आबेले उनी प्रधानमन्त्री भएको देख्न पाएनन्। नाममा लिबरल भए पनि एलडिपी उदारवादी नभएर दक्षिणपन्थी दल हो। सो दलमा पनि टाकाइचीलाई कट्टर दक्षिणपन्थी विचारधारा राख्ने मानिन्छ।
सन् १९७९ देखि १९९० सम्म बेलायतकी प्रधानमन्त्री रहेकी मार्गरेट थ्याचरलाई उनी आफ्नो आदर्श मान्छिन्। दक्षिणपन्थी कन्जरभेटिभ पार्टीबाट चुनाव जितेकी थ्याचर जस्तै उनको पनि कन्जरभेटिभ (रूढिवादी) विचारधारा छ।
मार्गरेट थ्याचरलाई 'आइरन लेडी' भनेर पनि चिनिन्छ।
टाकाइचीले पनि केही समयअघि स्कुले विद्यार्थीमाझ भएको कार्यक्रममा भनेकी थिइन्, 'मेरो लक्ष्य भनेको आइरन लेडी बन्नु हो।'
आ–आफ्नो देशको परिवेश अनुसार केही फरक भए पनि संसारभरिका कन्जरभेटिभ विचारधारा भएका दलहरू दक्षिणपन्थी हुन्छन्। उनीहरू सामाजिक विषयमा परम्परावादी (सोसल कन्जरभेटिभ) हुन्छन्।
धर्मको मामिलामा कट्टर अनि महिला र अल्पसंख्यकको अधिकारका लागि समान अधिकारको वकालत गर्नेको विरोध गर्छन्। उनीहरूको आर्थिक नीतिलाई फिस्कल कन्जरभेटिजम भनिन्छ।
यस्तो नीति भएका दलले कम भूमिका भएको सानो सरकारको वकालत गर्छन्। सरकारले धेरै खर्च गर्नु हुँदैन भन्दै बजेट घाटाको सख्त विरोध गर्छन्।
उनीहरूले व्यापारी र उद्यमीलाई व्यवसाय गर्न पूर्ण स्वतन्त्रताको वकालत गर्छन्। धेरै नियमन भए व्यवसाय गर्न अवरोध भएर आर्थिक वृद्धिमा असर गर्छ भनेर तर्क गर्छन्। साथै मजदुर संगठनको (ट्रेड युनियन) विरोध गर्छन् र उद्योगी व्यवसायीले बिना कुनै रोकटोक कामदारलाई निकाल्न पाउनुपर्छ भन्छन्।
त्यस्तै उनीहरूले न्यून करको वकालत गर्छन्। उच्च कर लगाए व्यापार–व्यवसाय फस्टाउँदैन भन्छन्। बरू थोरै कर लगाए व्यवसाय बढ्ने हुनाले कम दरमै पनि धेरै कर उठ्ने र आर्थिक विकास पनि हुने तर्क गर्छन्।
थ्याचरको सामाजिक–आर्थिक सबै नीति कन्जरभेटिभ थियो। टाकाइचीले थ्याचरलाई आदर्श माने पनि उनको आर्थिक नीतिमा भने आबेलाई पछ्याउँछिन्।
सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा आबेले दुई दशकदेखि आर्थिक समस्यामा फसेको जापानलाई उकास्न नयाँ आर्थिक नीति लिएका थिए। आबेनोमिक्स भनिने सो नीतिमा उनले तीन वटा प्रमुख तीर प्रयोग गरेका थिए — निडर मौद्रिक नीति, लचक वित्तीय नीति अनि आर्थिक वृद्धिका लागि संरचनागत सुधार। यसमध्ये 'लचक वित्तीय नीति' फिस्कल कन्जरभेटिजम भने अनुकूल थिएन।
आबे अर्थतन्त्रमा माग बढाउन सरकारले उच्च खर्च गर्नुपर्छ भन्थे। सार्वजनिक लगानीका लागि धेरै बजेट विनियोजन गर्थे।
आबेकै विस्तारकारी आर्थिक नीति अँगालेका कारण टाकाइचीको आर्थिक नीति थ्याचरको भन्दा अलग हुनेछ।
सामाजिक र राजनीतिक मामिलामा भने उनी कट्टरपन्थी छिन्। उनले महिला अधिकारवादीले भनेझैं विवाहित जोडीले बेग्लाबेग्लै थर राख्न पाउने र राजगद्दीको महिला पनि उत्तराधिकारी हुन पाउनुपर्ने मागको मात्रै विरोध गर्दिनन्, समलिंगी र विदेशी आप्रवासीको पनि विरोध गर्छिन्।
त्यस्तै, शान्तिवादी देश जापानले पनि बलियो सेना राख्नुपर्छ भन्ने आबेकै नीतिको अनुशरण गर्छिन्। जापानले दोस्रो विश्व युद्धमा गरेको अत्याचारलाई पनि धेरै बढाइँचढाइ गरिएको भन्छिन्। युद्धमा ज्यान गुमाएका सेनाहरूको स्मृतिमा बनाइएको स्मारिकामा सरिक हुन्छिन्।
ऐतिहासिक दृष्टिकोण र सैन्य नीति साम्राज्यवादी जापान दोस्रो विश्व युद्धमा हिटलरको जर्मनी र मुसोलिनीको इटाली लगायतको खेमाबाट लडेको थियो। अमेरिका, तत्कालीन सोभियत संघ, बेलायत लगायत देश अर्को खेमामा थिए।
फ्रान्स लगायत कतिपय युरोपेली देशलाई नाजी जर्मनीले कब्जा गरिसकेको थियो। त्यति बेला जापानले चीन मात्रै होइन, त्यति बेलाको एकीकृत कोरिया पनि कब्जा गरेको थियो।
अमेरिकाले सन् १९४५ अगस्टमा आणविक बम हानेर हिरोसिमा र नागासाकी ध्वस्त पारेपछि मात्रै जापानले आत्मसमर्पण गरेको थियो।
जापानले बिना सर्त आत्मसमर्पण गरेपछि जापानी सेना चीन र कोरिया छाडेर स्वदेश फर्किएका थिए। त्यसपछिका वर्षमा चीन र कोरियामाथि आक्रमण गरेको र त्यहाँका जनतामाथि अत्याचार गरेकामा जापानका प्रधानमन्त्रीले पछुतो मान्दै पटक पटक माफी मागिसकेका छन्।
विशेष गरी त्यति बेला जापानी सैनिकको यौन–सुविधाका लागि कोरियाली र चिनियाँ महिलालाई राखेकामा जापानले धेरै पटक माफी मागिसकेको छ। यसरी धेरै माफी मागी रहनुनपर्ने टाकाइची जिकिर गर्छिन्।
त्यस्तै, जापानले दोस्रो विश्व युद्धमा आत्मसमर्पण गरेपछि अमेरिकाको चाहना अनुसार शान्तिको संविधान अँगालेको छ। सो संविधानले युद्धको विरोध गर्छ र युद्धका लागि जापानले सेना नराख्ने भन्छ।
जापानको सुरक्षाको प्रत्याभूतिका लागि अमेरिकाले जापानमा सेना राखेको छ। आफ्नो शत्रु चीन धेरै शक्तिशाली भएको र उत्तर कोरियाले आणविक हतियार बनाएको भन्दै पछिल्ला वर्षमा जापानले आत्मरक्षाका लागि राखेको सानो सुरक्षाबललाई (सेल्फ डिफेन्स फोर्स) शक्तिशाली सेनाका रूपमा विकास गर्नुपर्ने माग उठिरहेको छ।
त्यसका लागि शान्तिको संविधान नै संशोधन गर्नुपर्ने हुन्छ। टाकाइची पनि शक्तिशाली हतियारले सुसज्जित बलियो सेनाको वकालत गर्छिन्।
दोस्रो विश्व युद्ध र सेनाबारे यस्तो धारणा राख्ने भएकाले उनको सरकारको चीन र उत्तर कोरिया मात्रै नभएर जापान जस्तै अमेरिकाकै खेमामा रहेको दक्षिण कोरियासँगको सम्बन्धमा पनि तनाव आउन सक्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)