अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले अमेरिकी क्रिकेट (युएसएस क्रिकेट) को नेतृत्व र प्रशासनिक संरचनालाई पूर्ण रूपमा बदल्न कदम चाल्ने भएको छ।
यो कदम अमेरिकी ओलम्पिक तथा पाराओलम्पिक समितिको आग्रहमा चालिएको बताइएको छ।
सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेट समावेश छ। आयोजक राष्ट्र भएकाले अमेरिकाले पुरुष र महिला दुवै टोलीलाई प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अपेक्षा छ। तर, ओलम्पिकमा भाग लिनका लागि युएसए क्रिकटले ओलम्पिक कमिटीबाट राष्ट्रिय खेल संघको मान्यता पाउनु अनिवार्य छ। तर अमेरिकी ओलम्पिक कमिटीबाट युएसए क्रिकेटले अहिलेसम्म मान्यता पाएको छैन।
आइसिसीले यसअघि नै यो विषयमा युएसए क्रिकेटलाई चेतावती थियो। त्यसैले उसले अमेरिकी क्रिकेटलाई कार्ययोजना समेत पठाएको छ। कार्ययोजना युएसए क्रिकेटको प्रशासन सुधार गर्नु र ओलम्पिकका लागि योग्य बनाउनु छ।
यो रोडम्यापमा ६ वटा चरण छन्, जसलाई आइसिसीको 'नर्मलाइजेसन कमिटी' (अवस्था सामान्य बनाउने समिति) ले अमेरिकी ओलम्पिक कमिटीसँग मिलेर बनाएको हो। यो समितिको अध्यक्षता आइसिसीका अध्यक्ष जय शाहले गर्छन्।
नयाँ स्वतन्त्र निर्देशकहरूको नियुक्ति, हालको बोर्डले राजीनामा दिने, 'कुलिङ-अफ' अवधि, ओलम्पिक मान्यताका लागि आवेदन, विधानको समीक्षा र सुधार, ओलम्पिकको पर्यवेक्षक गरि ६ चरणको कार्ययोजना रहेका छन्।
तर युएसए क्रिकेट बोर्डको बहुमत सदस्य राजीनामा दिन तयार छैनन्। युएसए क्रिकेटको बैठकमा बोर्डको 'बहुमतको राय' उनीहरूले राजीनामा नदिने भन्ने थियो।
ओलम्पिकमा खेल्ने सुनौलो अवसरमा प्रशासनिक लडाइँले गर्दा अमेरिकाले अवसर गुमाउने खतरा छ।