दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि आठै टोलीले खेलाडी रिटेन सकेका छन्। पाँच टोलीले ६-६ खेलाडी रिटेन गर्दा तीन टोलीले ७-७ खेलाडी टोलीमा राखेका छन्। आठ टोलीमा कुल ५१ खेलाडी रिटेन भएका छन्।
अघिल्लो सिजन खेलेका कम्तिमा ४५ खेलाडी भने रिलिज भएका छन्। टोलीबाट बाहिरिएका यी खेलाडीका लागि मिनि अक्सनबाट दोस्रो सिजनको नेपाल प्रिमियर खेल्ने बाटो भने खुला नै छ।
नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो सिजनको लागि मिनि अक्सन अगस्टमा गर्ने जनाएको छ। यस्तै दोस्रो सिजनको लिग आगामी नोभेम्बरमा गर्ने क्यानको तयारी छ।
क्यानले दोस्रो सिजनको एनपिएलमा सहभागी हुन ईच्छुक नेपाली खेलाडीहरूको अक्सनको लागि खेलाडी दर्ता प्रकृया खुला गरेको छ।
हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडी तथा एनपिएल अक्सनमा सहभागी हुन चाहने सम्पूर्ण नेपाली खेलाडीहरुले एनपिएलको आधिकारिक वेभ पोर्टलमार्फत् आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
अक्सन प्रक्रियामा सहभागी हुने खेलाडीहरुलाई ए, बी र सी गरी ३ श्रेणीमा विभाजन गरिएको छ। खेलाडीले आफ्नो इच्छा अनुरुप कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
साथै खेलाडी दर्ता शुल्क प्रति खेलाडी एक हजार तोकिएको तथा दर्ता गर्ने अन्तिम समय साउन ६ गते तोकिएको छ।
क्यानले मिनि अक्सनको मिति चाडै घोषणा गर्न जनाएको छ। मिनिअक्सनबाट यो सिजन कम्तिमा पनि ४५ खेलाडी टोलीहरुले भित्र्याउनेछन्। पाँच टोलीले कम्तिमा ६-६ खेलाडी भित्र्याउनेछन् भने तीन टोलीले कम्तिमा ५-५ खेलाडीलाई अक्सनबाट टोलीमा राख्नेछन्।
अगस्टमा मिनि अक्सन गरेपछि यो सिजनका लागि टोलीले विदेशी खेलाडी कस्ता ल्याउने भन्ने बाटो खुला हुनेछ। टोलीहरुले कम्तिमा ४ र बढीमा ६ विदेशी खेलाडी टोलीमा राख्न पाउनेछन्। प्लेइङ-११ मा ४ विदेशी खेलाडी मात्र खेल्न पाउनेछन्।
एक टोलीमा कम्तिमा पनि १२ नेपाली खेलाडी हुनेछन्। जसमा रिनेट भएका बाहेक खेलाडी मिनिअक्सनबाट भित्र्याइनेछ।
दोस्रो सिजनका लागि विराटनगर किंग्ससहित काठमाडौं गोर्खाज, चितवन राइनोज, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले ६-६ खेलाडी रिटेन गरेका थिए। साविक विजेता जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले भने ७-७ खेलाडी रिनेट गरेका थिए।