वेस्ट इन्डिजका पूर्वकप्तान निकोलस पूरनले २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले आफ्नो करियरमा ६१ एकदिवसीय खेलमा १९८३ रन र १०६ टी-२० अन्तर्राष्ट्रिय खेलमा २२७५ रन बनाएका थिए।
पूरन हालै इङ्गल्याण्डविरुद्धको टी-२० शृङ्खलाका लागि उपलब्ध थिएनन्। २०२३ को एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिज बाहिरिएपछि उनले कुनै एकदिवसीय खेल खेलेका थिएनन्।
उनको सन्यासको खबर अप्रत्याशित छ। गत वर्ष नोभेम्बरमा आफ्नो १०० औं टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा उनले थप १०० टी-२० खेल्न सक्ने बताएका थिए।
सोमबार आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पूरनले लेखेका छन्: ‘धेरैसोच विचार र चिन्तनपछि, मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्ने निर्णय गरेको छु। हामीले माया गर्ने यो खेलले धेरै कुरा दिएको छ र दिइरहनेछ - खुशी, उद्देश्य, अविस्मरणीय यादहरू, र वेस्ट इन्डिजका जनताको प्रतिनिधित्व गर्ने मौका। त्यो मरुन जर्सी लगाउनु, राष्ट्रिय गानका लागि उभिनु, र हरेक पटक मैदानमा उत्रँदा आफ्नो सर्वस्व दिनु... यसले मेरो लागि के अर्थ राख्छ, शब्दमा बयान गर्न गाह्रो छ। कप्तानको रूपमा टोलीको नेतृत्व गर्न पाउनु एउटा यस्तो सम्मान हो जसलाई म सधैं आफ्नो हृदयको नजिक राख्नेछु।’
पूरनले २०१६ मा संयुक्त अरब इमिरेट्स (युएई) मा पाकिस्तानविरुद्ध वेस्ट इन्डिजका लागि डेब्यू गरेका थिए र तीन वर्षपछि इङ्गल्याण्डविरुद्ध पहिलो एकदिवसीय क्याप पाएका थिए। सन् २०२२ मा उनी वेस्ट इन्डिजको सीमित ओभरका कप्तान नियुक्त भए, तर सोही वर्ष अस्ट्रेलियामा भएको टी-२० विश्वकपमा निराशाजनक प्रदर्शनपछि पदबाट राजीनामा दिए।
उनले वेस्ट इन्डिजका लागि अन्तिम पटक डिसेम्बर २०२३ मा किङ्स्टनमा बंगलादेशविरुद्धको घरेलु टी-२० शृङ्खला खेलेका थिए।
२०२४ उनको करियरको उत्कृष्ट वर्ष रह्यो, जहाँ उनले एकै क्यालेन्डर वर्षमा सबैभन्दा बढी (१७०) छक्का प्रहार गरे र आईपीएल २०२४ लाई ५२४ रनका साथ समाप्त गरे।