आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ।
स्कटल्यान्डको डन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो।
नेदरल्यान्ड्सका लागि तल्लो क्रमका ब्याटर नाओ क्रोइस ४८ रन बनाए। भान डेर मर्वी २१ रनमा रनआउट भए।
त्यसअघि नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डले ७१ बलमा ४६ रन र लियन जाच लियोनले २७ रन बनाए। विक्रमजिस सिहंले ३८ रनको योगदान दिए।
ओपनरद्वय माइकल लेभिट १ रन र म्याक्स ओ’डाउड ४ रनमा आउट भएका थिए।
ओ’डाउडलाई करण केसीले बोल्ड गर्दा लेभिटलाई सोमपाल कामीले कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका थिए।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए। उनले ९.१ ओभरमा ४८ रन दिए।
करण, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट हात पारे।
खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। स्कटल्यान्डविरूद्ध टोलीमा रहेका तीव्र गतिका बलर रिजन ढकालको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो।
पहिलो खेलमा स्कटल्यान्डलाई हराएसँगै नेपाल ८ अंक जोडेर अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको थियो। पुछारको युएईको ६ अंक छ।
२० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्ष स्थानमा छ। २६ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छन्।
चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ। समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ। नामिबिया १४ अंकका साथ छैटौं स्थानमा छ।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।