नेपाल क्रिकेट संघ (क्यान) ले निक पोथासलाई नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ। क्यानले आइसिसी विश्वकप लिग-२ को स्कटल्यान्डमा हुने सिरिजका लागि निकलाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको हो।
५१ वर्षीय निक दक्षिण अफ्रिकाका पूर्व खेलाडी हुन्। विकेटकिपर ब्याटर उनले सन् २००० मा पाकिस्तानविरूद्ध खेलेर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा डेब्यू गरेका थिए। तर उनले दक्षिण अफ्रिकाका लागि तीन खेल मात्र खेले।
पछि उनले ग्रिसबाट समेत टी-२० खेल खेले। यस्तै इंग्ल्यान्डको काउन्टी क्रिकेट समेत खेलेका उनले सन् २०१२ देखि प्रशिक्षकको करिअर सुरुवात गरेका थिए।
जुलाई २०१६ मा उनी श्रीलंकाको फिल्डिङ प्रशिक्षक नियुक्त भए थिए। २७ जुन २०१७ मा, मुख्य प्रशिक्षक ग्राहम फोर्डको राजीनामा पछि श्रीलंका क्रिकेटले पोथासलाई जिम्बाब्वे र भारत भ्रमणका लागि अन्तरिम प्रशिक्षक नियुक्तग रेको थियो।
नोभेम्बर २०१८ मा स्टुअर्ट लको कार्यकाल समाप्त भएपछि बंगलादेश भ्रमणका लागि पोथासलाई वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोलीको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
अप्रिल २०२३ मा उनलाई बंगलादेश राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक नियुक्त गरिएको थियो।
अहिले स्टुअर्ट ल नेपालको मुख्य प्रशिक्षक रहेको बेला पोथास नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका हुन्।
नेपाल इंग्ल्यान्डमा दुई साताको अभ्यासपछि अहिले स्कटल्यान्ड पुगेको छ। स्कटल्यान्डमा नेपालले उसको ए टोलीसँग बिहीबार र सोमबार अभ्यास खेल खेल्दैछ।
त्यसपछि नेपालले घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग आइसिसी लिग-२ अन्तर्गतको सिरिज खेल्नेछ।
लिग-२ को अंक तालिकाको सातौं स्थानमा रहेको यो सिरिज मुख्य प्रशिक्षक लको पहिलो औपचारिक सिरिज हो। यो सिरिज महत्वपूर्ण ठानेका लले नेपालको प्रदर्शनमा निखार ल्याउन कन्सल्ट्यान्टको रुपमा पोथासलाई नियुक्त गरेका हुन्।
लिग-२ को सिरिजपछि नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग नै टी-२० सिरिज खेल्ने कार्यक्रम छ।