आइसिसी विश्वकप लिग-२ मा अमेरिका शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका, ओमान र क्यानडाबीचको त्रिकोणात्मक सिरिजको अन्तिम खेल जितेसँगै अमेरिका शीर्ष स्थानमा उक्लिएको हो।
अमेरिकामा भएको सिरिजको अन्तिम खेलअन्तर्गत फ्लोरिडामा अमेरिकाले ओमानलाई ९ रनले हरायो। यो सिरिजमा अमेरिकाले तीन खेल जित्दा एक खेल बराबरीमा सकियो।
लिग-२ मा अमेरिकाले अहिलेसम्म २० खेल खेल्दा २८ अंक बटुलेको छ। दोस्रो स्थानको नेदरल्यान्ड्सको समान खेलबाट २६ अंक छ। ओमान समान खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा छ।
स्कटल्यान्ड १६ खेलबाट २० अंक जोडेर चौथो र क्यानडा २० खेलबाट २० अंक नै जोडेर पाँचौ स्थानमा छन्।
नामिबिया २० खेलबाट १४ अंक जोडेर छैटौं स्थानमा छ। नेपाल १२ खेलबाट ६ अंक जोड्दै सातौं स्थानमा छ। नेपालसँग रनरेटमा पछि रहेको युएई १६ खेलबाट ६ अंकसहित आठौ स्थानमा छ।
नेपालले यसै महिना स्कटल्यान्डमा घरेलु टोलीसहित नेदरल्यान्ड्ससँग यो वर्षको पहिलो सिरिज खेल्दैछ।