नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आइसिसी महिला टी-२० ग्लोबल छनोटबाट सफलता पाउनसक्ने विश्वास व्यक्त गरेका छन्।
थाइल्याण्डमा सम्पन्न आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको शीर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले सोमबार विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको थियो। नेपाली महिला टोलीले विश्वकपको विश्व छनोटमा पहिलो पटक प्रवेश गरेर इतिहास रचेको थियोर
बुधबार राति स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका प्रशिक्षक कटुवालले ग्लोल छनोटमा शीर्ष टोली बन्दै विश्वकपमा यात्रा गर्न आफ्नो टोली सक्षम रहेको प्रतिक्रिया दिएका हुन्।

ग्लोबल छनोटमा टेस्ट राष्ट्र बंगलादेश र स्कटल्याण्डसहित एशिया, युरोप र अफ्रिकाबाट समान दुई-दुई टोली तथा इस्ट एशिया र अमेरिकाबाट समान एक गरी कुल १० राष्ट्रले प्रतिष्पर्धा गर्नेछन्। ग्लोबल छनोट यसै वर्ष हुनेछ। छनोटबाट १० मध्ये उत्कृष्ट चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
हालसम्म उक्त छनोटको मिति भने तोकिएको छैन।
नेपालका प्रशिक्षक कटुवालले उक्त छनोट प्रतियोगिताका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै राम्रो तयारी गर्दै खेल्ने हो भने आफ्नो टोलीमा क्षमता रहेको बताए।
बलिया राष्ट्रसँग नियमित सिरिज खेल्दै राम्रो योजना बनाएर तयारी गर्नसके विश्वकपको अन्तिम छनोट नेपालले पार गर्ने उनको विश्वास छ।
पछिल्ला समय लगातार अनुभवी टोलीसँग अभ्यास खेलिरहँदा तयारी पनि राम्रो भएकाले यो सफलता पाएको उनी बताउँछन्।
प्रशिक्षक कटुवालले नेपाली टोलीमा ससाना गरी धेरै परिवर्तन आएको र खेलाडी पनि पूर्णरूपमा व्यावसायिक खेलाडी बनिरहेकाले यो टोलीबाट धेरै आशा गर्नसक्ने उल्लेख गरे।
नेपालकी कप्तान इन्दू बर्माले पनि थाइल्याण्डको छनोटकै लागि भैरहवा र दिल्लीमा क्याम्पले धेरै मद्दत मिलेको बताइन्।
झन्डै दुई दशकदेखि नेपाली महिला क्रिकेट टोली ठूलो सफलताको खोजीमा रहेको उनले उल्लेख गर्दै यसपल्ट सफलता मिलेको बताइन्।
पूर्वकप्तान रुविना क्षेत्रीले लगातार क्रिकेट समर्थकको आलोचनाले पनि अझै राम्रो गर्नपर्छ भन्ने आफूहरूलाई थप प्रोत्साहन मिलेको धारणा राखिन्।