लुम्बिनी प्रदेश क्रिकेट संघको विवादित विशेष साधारणसभाबाट अध्यक्ष सञ्जय गुरुङमाथिको अविश्वासको प्रस्ताव पारित भएको छ।
शनिबार भएको विशेष साधारण सभामा सबै उपस्थित भोट अविश्वासको प्रस्तावमा परेको हो। यससँगै उपाध्यक्ष विनयराज भण्डारी कार्यवहाक अध्यक्ष भएका छन्।
यद्यपी यो साधारणसभा विवादित बन्यो। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले हिजो शुक्रबार साधारणसभा गर्न पत्राचार गर्दा सचिव पारस खड्काले साधारणसभा स्थगित गर्न पत्रचार गरेका थिए।
जसका कारण यो विषयमा क्यानको महत्वपूर्ण पदाधिकारी अध्यक्ष र सचिव पक्षबिपक्षमा रहे। यसले नेपाली क्रिकेटको विवाद सतहमा ल्याएको छ।
राष्ट्रिय खेलकुद परिषदबाट विनियमावली विवाद समाधन नभएसम्म विशेष साधरण सभाको प्रक्रिया स्थगित गर्नका लागि पत्र प्राप्त भएको सचिव खड्काले जनाएका थिए।
साथै क्यानको केन्द्रीय कार्यसमितिमा छलफल तथा निर्णय नभएको हुँदा विनियमावली सम्बन्धी विवाद केन्द्रीय कार्यसमितिबाट निर्णय नभएसम्मलाई अविश्वासको प्रस्ताव सम्बन्धी विशेष साधारण सभाको प्रकृया स्थगित सचिवले पत्राचार गरेका थिए।
तर अध्यक्ष चन्दले भने उक्त विवादित विनियमावली अनुसार नै साधारण सभा गर्न भन्दे अर्को पत्र लखेका थिए।
यसअघि गत चैत २२ गते लुम्बिनी प्रदेशका उपाध्यक्ष विनयराज भण्डारीले अध्यक्ष सञ्जय गुरुङविरूद्ध अविश्वासको पत्र दर्ता गराएका थिए।
अविश्वासको प्रस्ताव दर्ता गर्दा भण्डारीले प्रदेशका बहुसंख्यक सदस्य गुरुङको विपक्षमा भएको हस्ताक्षर पनि क्यान अध्यक्ष चतुरबहादुर चन्दसमक्ष पेस गरेका थिए।
गुरुङले यो कदम अवैधानिक भएको भन्दै राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका थिए। सोही निवेदनपछि परिषदले साधारण सभा रोक्न क्यानलाई पत्राचार गरेको हो।
यसअघि क्यानले केन्द्रीय समितिको बैठकले विनियमावलीको निर्माणका लागि समिति बनाएको थियो। उक्त समितिले विनियावली तयार गरेपछि चन्दले क्यानको 'ह्वाट्सएप च्याट बक्स'मार्फत् सो विनियमवाली लागू भएको घोषणा गरेका थिए।
कतिपय केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यले विनियमवली जस्तो विषय गम्भीर भएको बताउँदै केन्द्रीय समितिमा छलफल गरेर पास गर्नु पर्ने तथा साधरणसभाबाट अनुमोदन गराएर लागू गर्नु पर्ने धारणा राख्दै अध्यक्ष चन्दको कदमको विरोध गरेका थिए।
प्रदेश अध्यक्ष गुरुङलाई प्रदेशका सदस्यहरुले क्यानबाट प्राप्त बजेटको दुरूपयोग गरेको र प्रदेशभर क्रिकेटका ठोस गतिविधि सञ्चालन नगरेको आरोप लगाउँदै अविश्वासको प्रस्ताव ल्याएका थिए।
जसमा क्यान अध्यक्ष चन्दले पनि गुरुङले रकम दुरूपयोग गरेको आरोप लगाउँदै अविश्वासको प्रस्ताव 'फेस' गर्न चुनौती दिएका थिए।
यसमा राष्ट्रिय खेलकुद परिषदले पत्राचार गरे लगत्तै सचिव खड्काले पत्राचार गरेर विशेष साधारण सभा रोक्न भनेपछि क्यानमा शक्ति संघर्ष चर्किने देखिएको छ।