नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले सुरूआती दुई खेलमा पराजय भोग्यो।
चितवन राइनोजविरूद्धको पहिलो खेलमा ८७ रनले पराजित भएको पोखरा बिहीबार जनकपुरसँग ७ विकेटले हार्यो।
प्रतियोगितामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको पोखराले जनकपुरविरूद्धको खेलमा सोचेअनुसारको ब्याटिङ गर्न नसकेको कप्तान कुशल भुर्तेलको भनाइ छ।
‘त्रिवि मैदानमा पहिलेदेखि खेलिरहेको भएर पहिलो इनिङ्ग्सको आधा घन्टा बाउन्सलाई सहयोग गर्छ भन्ने थाहा छ,’ भुर्तेलले भने, ‘टस हार-जित एक ठाउँमा छ। हाम्रो लगि आज २०-२५ रन कम भयो।’
जनकपुरविरूद्ध टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन मात्र बनाउन सक्यो।
खेलको सुरूमा टिक्ने र पछि रन लिने योजनामा पोखरा सफल नभएको भुर्तेलले सुनाए।
‘हाम्रो योजना नै पछि रन हान्ने थियो। तर अन्त्यमा राम्रो ब्याटिङ हुन सकेन। अन्तिम ओभरमा १५ रन आएको भए राम्रो हुन्थ्यो,’ उनले भने।
पोखराले अन्तिम ओभरमा १ विकेट गुमाउँदा ३ रन मात्र जोड्न सकेको थियो।
६ जना विदेशी खेलाडी रहेको पोखरामा डच अलराउन्डर बास डि लिडे घाइते भएका कारण आजको खेलमा नखेलाएको उनले बताए।
उनले टोलीमा युवा खेलाडी भएको र उनीहरूले अनुभवी खेलाडीबाट सिक्ने मौका पाएको बताए।
अघिल्लो खेलमा ओपनिङमा आएका भुर्तेल बिहीबार भने तेस्रो नम्बरमा ब्याटिङमा आएका थिए। उनले ओपनिङमा नआउनुको कारणबारे भने, ‘त्रिविको विकेटमा लामो खेल्न सक्छु भनेर तेस्रो नम्बरमा खेलेको हुँ। तेस्रो नम्बरमा ब्याटिङ गर्नु पनि राम्रै हो नि।’
अब बाँकी रहेका पाँच खेलमा राम्रो गर्ने बताउँदै कम्तीमा चार खेल जिते प्लेअफ पुग्न सकिने विश्वास व्यक्त गरे।
राम्रो खेल्न नसकेका भुर्तेलले टोलीले जितेमा प्रदर्शनमा ध्यान नहुने तर हारेमा प्रश्न उठ्नु स्वाभाविक भएको बताए।
उनले चितवनविरूद्धको पहिलो खेल बिर्सन चाहेको पनि बताए। सो खेलमा पोखरा कुनै बेला ६ विकेट गुमाउँदा ७ रन मात्र जोडेको स्थितिमा थियो।
‘पहिलो खेल बिर्सन चाहन्छु। दुई ओभरमा हामी सबै आउट भइहाल्यौं। त्यस्तो खेल मैले जीवनमा कहिल्यै देखेको थिइनँ,’ उनले भने।
उनले आफ्नो प्रदर्शन राम्रो गर्न नसकेको बताउँदै लामो समय ब्याटिङका लागि प्रयास गर्ने बताए। साथै त्रिवि मैदानमा खेल जित्न कम्तीमा पनि १६० रन बनाउनु पर्ने उनको भनाइ छ।
एनपिएलको माहोलको प्रशंसा गर्दै देशका विभिन्न स्थानबाट फ्यान आएको देख्दा खुसी लागेको पनि बताए। साथै अर्को सिजनदेखि विभिन्न टोलीको घरेलु मैदानमा खेल हुने उनले विश्वास व्यक्त गरे।
जनकपुरका स्पिनर ललित राजवंशीले गरेको प्रदर्शनमा पनि उनले खुसी व्यक्त गरे।
उनले भने, ‘ललितले राम्रो खेलेको देख्दा राम्रो लाग्छ। उसले जनकपुरमा प्रभाव पारेको छ। उसले राष्ट्रिय टोली र पुलिसबाट पनि राम्रो गरिरहेको हुन्छ।’